१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विद्युत आपूर्ति नियमित नहुँदा समस्या

रोल्पा - विद्युत आपूर्ति नियमित नहुँदा जिल्ला अस्पताल रोल्पालाई स्वास्थ्य सेवा दिन समस्या भएको छ। विशेष गरी एक्सरे र प्रयोगशालाका सेवाहरु बढि प्रभावित भएको अस्पतालले जनाएको छ। दैनिक दर्जनौको संख्यामा अस्पताल आउने बिरामीहरु मर्कामा परेको चिकित्सकको भनाई छ। विद्युत अनियमित भएपछि बिरामीहरुलाई दिनभर कुराउनु पर्छ। टाढाबाट आएहरु बढि समस्या पर्छन् अस्पतालका डा. अनिल केसीले भने‘।

अस्पतालमा मात्रै होइन अन्य कार्यालय, स्थानीय उद्योगहरुस्थानीय समेत मर्कामा परेका छन्। विद्युत आपूर्ति नियमित नभएपछि स्थानीयहरु भने यसलाई अघोषित लोडसेडिङ बताउने गरेका छन्। रोल्पामा अघोषित लोडसेडिङ भइरहेको छ। रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले भने ‘प्राधिकरणले यो विषयमा ध्यान दिनुपर्छ।’

बुटवल पावर कम्पनीद्वारा सञ्चालित प्युठानमा रहेको झिमरुक जलविद्युत केन्द्रबाट रोल्पा आएको विद्युत अनियमित हुदा आपूर्तिमा समस्या आएको हो। नेपाल विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइनमार्फत पर्याप्त विद्युत उपलब्ध नगराउँदा समस्या परेको बिद्युत प्राधिकरणको रोल्पा शाखाले जनाएको छ।

प्राधिकरणले दाङको लमहीस्थित केन्द्रीय प्रसारण लाइनबाट झिमरुकलाई विद्युत उपलब्ध गराउँदै आएको छ। प्राधिकरणले लमहीस्थित केन्द्रीय प्रसारण लाइनबाट १ लाख ३२ हजार भोल्टेज क्षमताको पावर लाइन प्युठानमा पठाए मात्रै मेसिन चलाउन सकिन्छ। तर हाल करिब १ लाख १० हजार भोल्टेज क्षमताको पावर मात्रै सप्लाई भएकोले बत्ति अनियमित भएको रोल्पा स्थीत बिद्युत प्राधिकरण कार्यालयका प्रमुख श्यामकुमार शर्माले बताए।

झिमरुकमा नियमित विद्युत उत्पादन नहुँदा प्युठान, रोल्पा र अर्घाखाँचीमा समेत विद्युत प्रसारण प्रभावित भएको छ। रोल्पा, प्युठान र अर्घाखाँचीमा दिउँसोमा करीब ५ र रातिमा ९ मेघावाट विद्युत खपत हुँदै आएको छ। झिमरुकस्थित जलविद्युत उत्पादन केन्द्रले हिउँद बाहेक अन्य समयमा आफैले विद्युत उत्पादन गर्छ। करीब ३० वर्षअघि निर्माण भएको सो केन्द्रबाट वर्षाको समयमा १२ मेघावाट विद्युत उत्पादन गर्ने क्षमता छ।

प्रकाशित: १८ असार २०७६ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App