१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रेडियोले जुराएको ‘मितेरी’

नेपाली समाजमा एउटा उखान छ– गोत्र हार्नु, मित्र नहार्नु। एक चोटी मितेरी लगाएपछि सात पुस्तासम्म साइनो कायम रहने विश्वास गरिन्छ। पुरुष–पुरुष र महिला–महिलाबीच मितेरी लगाउने प्रचलन नेपाली समाजका लागि असामान्य होइन। तर, महिला र पुरुषबीच ‘मितेरी’ लगाउने सायदै भेटिन्छन्। यिनैमध्येमा पर्छन्, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ सूर्जी गाउँका ४९ वर्षका श्याम गिरी र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाकी ३० वर्षीया श्यामकुमारी चौधरी। उनीहरूले अघिल्लो साता पण्डित बोलाएर विधिपूर्वक मितेरी लगाएका हुन्।  त्यसपछि उनीहरूको मितेरी सम्बन्धले धेरै चर्चा पायो। श्याम र श्यामकुमारीलाई मितेरी लगाउन लिंग, उमेर र जातले छेकेन। स्थानीय एफएममा रेडियोबाट बज्ने सांगीतिक कार्यक्रममार्फत् चिनजान भएपछि उनीहरू लामो समयदेखि  ‘मित–मितिनी’को नाता लगाउँदै पारिवारीक रूपमा जोडिने प्रयास गरेका थिए।

उनीहरू दुवै रेडियो कार्यक्रमको नियमित स्रोता थिए।  थर र लिंग नमिले पनि नाम एउटै भएका कारण समाजसामु उदाहरण प्रस्तुत गर्न ‘मितेरी’ साइनो जोडेको दुवैको प्रतिक्रिया छ। पुरुष–पुरुष र महिला–महिलाबीच मात्रै ‘मितेरी’ साइनो जोड्नुपर्छ भन्ने सोचको अन्त्य गर्न र सामाजिक विभेद अन्त्य गर्न मितेरी लगाएको श्याम बताउँछन्। ‘महिला र पुरुषलाई हेर्ने सोचमा परिवर्तन ल्याउन हामी पारिवारीक रूपमै जोडिएर मितेरी साइनो गाँसेका हौं,’ श्यामले भने, ‘दस वर्षसम्म मित–मितिनीको नातामा सीमित थियौं, अब धार्मिक विधि अनुसार पारिवारिक रूपमा जोडिएका छौं।’

पुरुष–पुरुष र महिला–महिलाबीच मितेरी लगाउने प्रचलन नेपाली समाजका लागि असामान्य होइन। तर, महिला र पुरुषबीच ‘मितेरी’ लगाउने सायदै भेटिन्छन्। यिनैमध्येमा पर्छन्, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ सूर्जी गाउँका ४९ वर्षका श्याम गिरी र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाकी ३० वर्षीया श्यामकुमारी चौधरी। उनीहरूले अघिल्लो साता पण्डित बोलाएर विधिपूर्वक मितेरी लगाएका हुन्।

मित–मितिनीको साइनो गाँसेपछि एउटै परिवार बनेको श्यामकुमारी बताउँछिन्। ‘हाम्रो चिनजान १० वर्षदेखिकै हो, धार्मिक रूपमा मितेरी लगाएपछि अहिले त झन् पक्का भयो,’ उनले भनिन्, ‘सबैले समान लिंगबीच मितेरी लगाउँछन्, तर, हामीले विपरीत लिंगबीच मितेरी लगायौं, यो महिला र पुरुषबीचको विभेद हटाउन उदाहरण बनेको छ।’

श्याम र श्यामकुमारीको मितेरी सम्बन्धलाई औपचारिक गराइदिए पण्डित इन्द्रप्रसाद उपाध्यायले। अघिल्लो शनिबार नेपालगन्ज–१९ सूर्जी गाउँस्थित श्यामको घरमा दुवै परिवारका सदस्य, आफन्त, शुभचिन्तकको ठूलै जमघट भयो।   उपाध्यायले धार्मिक विधि पूरा गरेपछि एक– अर्कालाई ‘टीका’ लगाएर कोसेली साटासाट गरे र ढोकभेट गरे। महिला र पुरुषबीचको मितेरी साइनो एकदमै अनौठो र नौला रहेको पण्डित उपाध्यायले बताए। ‘अहिलेसम्म मैले पुरुष–पुरुष र महिला–महिला बीचमा मात्रै मितेरी लगाइदिने गरेको थिए, उहाँहरूले मितेरी साइनो लगाउँदा मलाई अनौठो र नौलो लागिरहेको छ,’ उनले भने, ‘यस्तो शुभकार्य गराउन पाउने म भाग्यमानी रहेछु।’ श्याम र श्यामकुमारीबीचको मितेरी सम्बन्ध सबैका लागि प्रेरणादायी बनेको पण्डित उपाध्यायले बताए।

श्याम विवाहित हुन् भने श्यामकुमारी अविवाहित।
नेपाल आयल निगमको नेपालगन्ज डिपोमा हल्का सवारी चालकको रूपमा २० वर्षदेखि कार्यरत श्यामको श्रीमती, एक छोरा र छोरी छन्। एफएम रेडियोमा बज्ने जुनसुकै कार्यक्रमको नियमित स्रोता थिए, श्याम। उनी रेडियो कार्यक्रममा आम स्रोताका माझ श्याम गिरी ‘रेडियो प्रेमी वान’ नामबाट निकै परिचित छन्। श्यामकुमारी पनि रेडियो कार्यक्रममा बजिरहने नाम हो। २०६६ सालमा रेडियो कार्यक्रममार्फत् चिनजान भएपछि दुवैले ‘मित’ र ‘मितिनी’ भनेर सम्बोधन गर्न थाले। दुवै जना एक–अर्काका परिवार, आफन्तसँग जोडिन थाले।

‘हामीले एक अर्कालाई मित र मितिनी भनेर सम्बोधन मात्र गरेनौं, चाडपर्व र विवाह उत्सवमा पनि सहभागी हुन थाल्यौं,’ श्याम स्मरण गर्दै भन्छन् ‘मितिनी सम्बन्ध जोडेदेखि म उहाँको घरमा प्रायः चाडपर्व र विवाह गरेर ४÷५ पटक सहभागी भइसकेको छु।’ श्यामकुमारी र उनकी आमा, बहिनी र दिदी पनि श्यामको घरमा पुगिसकेका छन्। मितेरी लगाइसकेपछि त झन् पारिवारिक सम्बन्ध अझ नजिक भएको उनको बुझाइ छ।

श्यामकुमारी थप्छिन्, ‘दस वर्षदेखि हामी मित–मितिनी थियौं, विभिन्न कारणले औपचारिकता दिन नसके पनि अन्ततः अहिले परिवार, आफन्त र शुभचिन्तकसामु मितेरी लगाएका छौं, हाम्रो सम्बन्ध अझ प्रगाढ बनाएको छ, एउटै परिवार भएका छौं।’

रेडियो कार्यक्रमबाट चिनजान भएकै कारण श्यामकुमारीलाई ‘मितिनी’ भनेर सम्बोधन गर्दा र घरमा आउ–जाउ गर्दा सुरुका दिनमा परिवार तथा आफन्तलाई बुझाउन श्यामलाई कम्ति गाह्रो भएन। घरपरिवार र आफन्तले गरेको उनले शंकालाई क्रमशः मेटाउँदै गए। ‘मैले घरमा बुझाउन कोसिस गर्दापनि सुरुमा धेरै गाह्रो भयो, केहीले अनेक शंका पनि नगरेका होइनन्। तर, अहिले सबै शंका हटिसकेको छ, मितेरी सम्बन्धलाई हामी दुवैको परिवारले मान्यता दिइसकेको छ,’ उनले भने।

श्यामलाई जस्तो श्यामकुमारीलाई परिवार र आफन्तबाट समस्या भएन। श्यामकुमारी गाउँकी शिक्षित थारू महिलाको रूपमा परिचित छिन्। स्नातक तहको पढाइ पूरा गरेकी उनी विभिन्न सामाजिक काममा क्रियाशील छिन्। विभिन्न सामाजिक संस्थाको माध्यमबाट महिलाको अधिकारका पक्षमा वकालत गर्छिन्, उनी। श्यामकुमारी भन्छिन्, ‘समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण अझै पनि गलत छ, त्यही गलत सोच र दृष्टिकोणलाई चिर्न हामी सफल भएका छौं, त्यसकारण सामाजिक विभेदको अन्त्य आफैबाट सुरु गर्नुपर्छ।’

प्रकाशित: ४ जेष्ठ २०७६ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App