१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्याद गुज्रेका औषधि जफत

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकामा सञ्चालित औषधि पशलबाट म्याद गुज्रेका औषधि जफत गरिएको छ। घरेलु तथा साना उद्योग बिकास समितिको अगुवाईमा बिहिबार गरिएको संयुक्त बजार अनुगमनकाक्रममा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा सञ्चालित एक औषधि पशलबाट ५ हजार १ सय बराबरको म्याद गुज्रेका औषधि जफत गरिएको हो। अनुगमनकाक्रममा जफत गरिएको म्याद गुज्रेका औषधि जलाएर नष्ट गरिएको घरेलु तथा साना उद्योग बिकास समिति खोटाङका प्रमुख रामशरण महतोले बताए।

तीन वटा औषधि पशलमध्ये एउटै पशलमा मात्र म्याद गुज्रेका औषधि फेला परेको हो। म्याद गुज्रेका औषधि बिक्री गर्ने पशलको नाम र औषधिको प्रकार खुलाइएको छैन। औषधि नै म्याद नाघेको फेला परेपछि जनस्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको खुलेको अनुगमन टोलीले जनाएको छ। घरेलु तथा साना उद्योग बिकास समितिले औषधिजन्य, कस्मेटिक, चिसो पेयपदार्थ र खाद्यान्न समुहको अवस्थाका विषयमा बजार अनुगमन गरेको थियो।

अनुगमनकाक्रममा कस्मेटिकका ३५० रुपैयाँ, चिसो पेयपदार्थ अन्तरगत २ हजार २ सय रुपैयाँ र खाद्यान्नतर्फ ३ हजार ९४० रुपैयाँ बराबरको म्याद नाघेका सामान जफत गरेर नष्ट गरिएको छ। जफत सामग्री गाउँपालिका प्रमुख शंकर राई, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई, ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी नायव निरिक्षक निरबहादुर कट्वाल, उद्योग बाणिज्य संघका दिलबहादुर तामाङ लगायतको रोहवरमा जलाइएको छ। अनुगमन टोलीले चिसापानीका ३० वटा पशलमा अनुगमन गरेको जनाएको छ।

‘अुगमन सुरु भएपछि म्याद नाघेका सामान लुकाइए’
घरेलु तथा साना उद्योग बिकास समिति नेतृत्वको अनुगमन टोली बजार छिरेर अनुगमन सुरु गरेपछि चिसापानीका कतिपय व्यवसायीले हत्तपत्त कमसल उपभोग्य सामग्री छलेको अनुगमन टोलीले जनाएको छ। एकातर्फबाट पशलबाट अनुगमन सुरु गरेको हल्ला फैलिएपछि कतिपय व्यवसायीले म्याद नाघेका उपभोग्यवस्तु लुकाएको घरेलु तथा साना उद्योग बिकास समिति खोटाङका प्रमुख महतोले बताए।

अकस्मात बजार अनुगमन सुरु भएको हल्ला फैलिएपछि व्यवसायी अत्तालिएका थिए। ‘हामीले अकस्मात बजार अनुगमन सुरु ग-यौँ,’ महतोले भने, ‘बजार अनुगमन सुरु भएको हल्ला फैलिएपछि कतिपय व्यवसायीले म्याद नाघेका सामान लुकाएको जानकारी पाएका छौँ।’

गत चैत २१ गते खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा गरिएको बजार अनुगमनकाक्रममा पनि एउटै औषधि पशलबाट म्याद नाघेका १ हजार ४७६ रुपैयाँ बराबरको औषधि फेला परेको थियो।

प्रकाशित: ६ वैशाख २०७६ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App