१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अनुसन्धान केन्द्रमा तालाबन्दी

काठमाडौं - राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्रमा एक सातादेखि लागेको ताला बिहीबार पनि खुल्न सकेन। केन्द्रका कर्मचारीले चार महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन्। लामो समयदेखि करारमा सेवा दिइरहेका कर्मचारीको समस्या सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको अस्पतालका कर्मचारीहरूले बताएका छन्।

चार महिनादेखि तलब नपाएको, दसैं पेस्की तथा पोसाक भत्ता नदिएको, केन्द्र स्थापनादेखि कार्यरत कर्मचारीको वृत्ति विकासका लागि नीतिगत पहल नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको केन्द्रका आयुर्वेद चिकित्सक डा. जितेन्द्र श्रेष्ठले बताए। समस्याबारे चार महिनादेखि अस्पताल प्रशासनदेखि सामान्य, अर्थ, स्वास्थ्य मन्त्रालयमा समेत कुनै सुनुवाइ नभएको उनको भनाइ छ। केन्द्रमा अधिकांश कर्मचारी करारकै रहे पनि उनीहरूलाई स्थायी प्रक्रियामा लैजाने कुनै प्रक्रिया अघि नबढाएको भन्दै उनले गुनासो गरे। ‘सेवा दिएको आठ वर्ष भइसक्यो, न आन्तरिक प्रतिस्पर्धा खुलेको छ न त लोकसेवाको प्रक्रिया नै,’ उनले भने।

केन्द्रकै चिकित्सक विनोद घिमिरेका अनुसार तलब र भत्ता अन्य प्रयोजनमा खर्च भएका कारण करारका कर्मचारीले समयमै पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन्। कर्मचारीले नियमित तीन महिनादेखि हाजिर गरे पनि सम्झौतापत्र नदिएको उनको भनाइ छ। निर्देशक सिद्धार्थ ठाकुरले कर्मचारीको कुनै पनि समस्या नसुन्ने र दोहोरो संवाद नगर्ने प्रवृत्तिसमेत कायम रहेकाले कर्मचारी मर्कामा परेको उनले सुनाए। केन्द्रका लागि आवश्यक दरबन्दी संख्यामा भएको त्रुटिका कारण पनि कर्मचारीले भनेकै समयमा तलब नपाउने समस्या थियो। पहिला भएको कर्मचारी दरबन्दी सर्वेक्षणले ३१ जना तोकेको भए पनि पछिल्लो सर्वेले २६ जना तोकेको कारण तलब भत्तामा केही अन्योल भने थियो। ‘अस्पतालका निर्देशक सिद्धार्थ ठाकुरले सरकारले बजेट कम दिएकाले तलबभत्ता दिन नसकिएको हो,’ चिकित्सक श्रेष्ठले भने, ‘हाम्रो समस्याबारे उहाँ गम्भीर हुनुहुन्न।’

आठ वर्षदेखि सञ्चालनमा रहेको केन्द्रले आयुर्वेदसम्बन्धी अनुसन्धान कार्य, उपचार तथा तालिमका दिनेलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ। विरोध कार्यक्रमका कारण केन्द्रका सबै कार्यक्रम ठप्प भएका छन्। केन्द्र आठ वर्षअघि चीन सरकारले २४ करोड लगानीमा निर्माण गरेको थियो। चीन सरकारले केन्द्रमा आवश्यक करिब चार करोडबराबरको उपकरण चालू आर्थिक वर्षमा अनु्दान दिएको छ। केन्द्रमा हाल ६३ कर्मचारी छन्। केन्द्रका निर्देशक सिद्धार्थ ठाकुरसित कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन।

प्रकाशित: ६ वैशाख २०७६ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App