२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तरुण दलका नगर सदस्य पुरीको हत्यामा संलग्न पाँच जना पक्राउ

बुटवल - रुपन्देहीको देवदहमा आइतबार साँझ हत्या गरिएका तरुण दलका नगर सदस्य अनिष पुरीको हत्यामा संलग्न पांचजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा देवदह ९ का २१ वर्षीय अर्जुन मगर,२० वर्षीय सुवास अर्याल,२८ वर्षीय रमेश शाही,२१ वर्षीय आकाश थापा र २१ वर्षकै शिशिर राना रहेका छन्। घटनाका मुख्य योजनाकार देवदहकै माला भन्ने सागर राना र तारा बराल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराम भण्डारीले बताए।

गएराति  मोटरसाइकलमा सवार देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २३  वर्षीय पुरीलाई देवदह भलुहीमा उक्त समूहले ढुंगा र लाठीले प्रहार गरेका थिए। टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि  देवदह मेडिकल कलेजमा पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।

देवदहमा सञ्चालित ब्यापार मेलामा पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो। विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा सांझ ८ बजेतिर बोलाएर लाठी र ढुंगाले प्रहार गरेका प्रहरीले जनाएको छ।

मृतक पुरी नेपाल तरुण दलको सक्रिय कार्यकर्ता रहेको कांग्रेस क्षेत्रिय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए। एक मात्र छोरा अनिषको हत्यापछि उनका बुबा र आमा बेहोस भइ बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ। मृतक पुरीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।

तरुण दल रुपन्देहीले घटनाको बिरोधमा सोमबार दिउँसो दुइ बजे खैरेनीमा दुइ घण्टा चक्का जाम गर्ने जनाएको छ। तरुण दलका जिल्ला सचिव रमेश शाहीद्धारा जारी विज्ञप्तिमा घटनाको तत्काल सत्य तत्थ बाहिर ल्याउन र दोषीलाइ कारबाही गर्न माग गरीएको छ   

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०८:१२ सोमबार

तरुण_दल हत्या पक्राउ