१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अन्नपूर्ण केबलकार निर्माण अन्तिम चरणमा

अन्नपूर्ण केबलकारको सेदीस्थित तल्लो स्टेसनको काम गर्दै जापानी प्राविधिक।  तल गण्डोलाहरू(डिब्बा)।

पोखरा - यो वर्षको बडादसैंमा केबलकार चढेर सराङकोट पुग्ने सपना साकार हुने भएको छ।  आउँदो वैशाखभित्र तारको लठ्ठा हालिसकिने र त्यसपछि डिब्बा (गण्डोला) जडान गरेर प्राविधिक÷इन्जिनियरिङ परीक्षण गरिन्छ।  तीन–चार महिना परीक्षणपछि दसैंमा सर्वसाधारणले केबलकार चढेर सराङकोटमा पुग्न सकिने केबलकार निर्माता कम्पनी अन्नपूर्ण केबलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले बताए।  ‘वैशाखभित्रमा तारको लठ्ठा तानेर चलाउन सुरु गर्नेछौं,’ उनले भने, ‘दसैंमा सर्वसाधारणले चढ्न पाउँछन्। ’ 

प्रालिले गत माघदेखि केबलकार निर्माण सुरु गरेको थियो।  अहिले काम टुंग्याउने चरणमा छ।  भवन निर्माण अन्तिम चरणमा छ।  मुख्य स्टेसनको काम भइरहेको छ।  टावर पनि १५ वटा जडान गरिसकिएको छ।  अबको दुई महिनाभित्रमा बाँकी तीनवटा टावर जडान गरिसक्ने लक्ष्य प्रालिले लिएको छ।  ‘तीनवटा टावर जडान गर्न बाँकी छ, टावर जडान गर्न जापानी प्राविधिक नै खटिएका छन्,’ प्रोजेक्ट इन्जिनियर शैलेन्द्रकुमार सिकेले भने, ‘वैशाखभित्रमा टावर उठाइसक्छौं।  तार (लठ्ठा) तानेर प्राविधिक परीक्षणका लागि सञ्चालन गरिनेछ। ’ उनका अनुसार अहिले मुख्य जक्सन (टावर)को डिब्बा घुम्नका लागि आवश्यक सामान फिट गरिँदै छ।  

अन्नपूर्ण केबलकार पोखरा महानगरपालिकाको सेदी–सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दूरीको छ। 

लठ्ठा भारतको कोलकाताबाट नेपाल भित्रिसकेको छ।  टावरको अन्य सामग्री जापानबाट ल्याइएको हो।  जापानस्थित निपोन कम्पनीका सामान हुन्।  सोही कम्पनीबाट तीनजना प्राविधिकले जडान कार्य गरिरहेका छन्।  ‘एक महिनाका लागि जापानी प्राविधिक आएका हुन्।  उनीहरू जडान सकेर फर्किनेछन्,’ प्रालिका निर्देशक त्रिपाठीले भने।  अन्नपूर्ण केबलकार पोखरा महानगरपालिकाको सेदी–सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दूरीको छ।  केबलकार निर्माणको सिभिलको काम भने चितवन कोई प्रालिले लिएको छ।  चितवन कोईले इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा निर्माण गरिरहेको छ।  ७५ प्रतिशतभन्दा बढी काम भइसकेको कम्पनीले जनाएको छ।  

सराङकोटको टावर एक हजार पाँच सय ९५ मिटरको उचाइमा छ।  केबलकार भने एक हजार पाँच सय १५ मिटरको उचाइमा रोकिनेछ।  तल्लो स्टेसन समुद्री सतहदेखि आठ सय ७० मिटरको उचाइमा छ।  त्यो दूरी केवल आठ मिनेटको यात्रामा पूरा हुनेछ।  केबलकारमा १८ वटा गण्डोला (डिब्बा) राखिने जनाइएको छ।  १७ वटा डिब्बाले यात्रु बोक्नेछ भने एउटा डिब्बासामान ओसार्न प्रयोग गरिनेछ।  प्रत्येक डिब्बामा आठजना बस्न मिल्ने क्षमताको हुने बताइएको छ।  टावर पाँच मिटरदेखि १ सय ५० मिटर दूरीको फरकमा राखिएको प्राविधिक प्रोजेक्ट इन्जिनियर सिकेले बताए।  

केबलकार निर्माण भएपछि प्रतिघण्टा पाँच सय यात्रु सराङकोट उक्लिन पाउनेछन्।  यात्रुको चापसँगै क्षमता विस्तार गर्न सकिने कम्पनीले जनाएको छ।  भविष्यमा ३५ वटा डिब्बा सञ्चालन गरी प्रतिघण्टा एक हजार पाँच सय यात्रु ओसार्ने सञ्चालकको योजना छ।  पोखरा उपमहानगरपालिका–२६ सराङकोटको सेदीबगरदेखि सराङकोट हाइटभन्दा केही तल केबलकारको जक्सन बनाइएको छ।  केबलकार निर्माणका लागि ८० करोड लागत अनुमान गरिए पनि तर अहिले १ अर्ब ३१ करोड रुपैयाँ पुग्ने प्रालिका निर्देशक त्रिपाठीले जानकारी गराए।  केबलकार निर्माणका लागि ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी लगानी छ।  

त्रिपाठीसहित केबलकारमा रियल स्टेट व्यवसायी कालु गुरुङ, सराङकोटस्थित होटल अन्नपूर्णका सञ्चालक ताकासी मियाहारा र विदेशीले लगानी गरेका छन्।  केबलकार सञ्चालनका लागि सनराइज बैंक तथा नेपाल राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन्।  सनराइज लिड बैंक रहेकाले केबलकारमा वाणिज्य बैंकको भन्दा बढी ऋण लगानी गरेको छ।केबलकार निर्माणले पोखराको पर्यटनमा नयाँ आयाम थपिने पर्यटन व्यवसायी बताउँछन्।  आन्तरिक तथा बाह्य पर्यटकलाई केबलकारबाटै मनोरम दृश्यावलोकन गर्न सहज हुनेछ।  केबलकार निर्माणले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास गरिएको छ।  

प्रकाशित: १४ फाल्गुन २०७५ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App