१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यार्थीसँग प्रहरी

‘प्रहरीसँग एक दिन’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयमा स्वागत गर्दैै प्रहरी उपरीक्षक वशन्त रजौरे । नगेन्द्र /नागरिक

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतको मुल गेटबाट प्रवेश गर्दै गरेका विद्यार्थीहरुको स्वागतका लागि प्रहरी प्रमुखसहितको टोली हातहातमा पुष्प गुच्छा लिएर उभिएको थियो। मूल गेटबाट लाइन लागेर आएका विद्यार्थीहरुलाई पुष्प गुच्छा दिँदै प्रहरी उपरीक्षक वशन्त रजौरेले स्वागत गरे। पहिलो पटक प्रहरी कार्यालयमा पाइला टेकेका विद्यार्थीहरु प्रहरीको स्वागत र न्यानो मायाले हर्षित देखिन्थे। एसपी रजौरे आफैले प्रहरी कन्ट्रोलदेखि हिरासत कक्ष हुँदै सञ्चारसम्मका शाखाहरु विद्यार्थीलाई अवलोकन गराए। उनीहरुले राखेका जिज्ञासाहरुको उत्तर दिएर समाधान गरिदिए। विभिन्न शाखाहरुको अवलोकनपछि सभाहलमा मल्टिमिडिया प्रोजेक्टरमार्फत प्रहरीका गतिविधी, विद्यार्थीहरुले अपनाउनुपर्ने सुरक्षा, सावधानी र ट्राफिक प्रहरीका बारेमा दुई घण्टाको कक्षा लिए। 

नेपाल प्रहरीले सुरु गरेको ‘प्रहरीसँग एकदिन’ कार्यक्रम अन्र्तगत वीरेन्द्रनगरको प्रतिक्षा मोन्टेश्वरीका कक्षा तीनसम्मका नानीबाबुहरुलाई प्रहरीले शुक्रबार आफ्नो कार्यालयमा निम्त्याएको थियो। ‘प्रहरी भन्ने वित्तिकै डर लाग्थ्यो, उहाँ (प्रहरी)हरु पनि दयालु र मायालु हुनुहुँदो रहेछ’ कक्षा दुईका विद्यार्थी नोवेलराज आचार्यले भने, ‘प्रहरी पनि हाम्रा आमा–बुवाजस्तै अभिभावक हुनुहुँदो रहेछ भन्ने कुरा यहाँ आएर थाहा पाएँ।’ नेपाल प्रहरीले सामुदायिक–साझेदारी कार्यक्रम अन्र्तगत उमेर समूह अनुसारको पाठ्यक्रम तयार पारेको छ। सोही पाठ्यक्रमका आधारमा एसपी रजौरे आफैले कक्षा सञ्जालन गरे। मल्टिमिडियामार्फत विभिन्न चित्रको सहायतामा तयार पारिएको पाठ्यक्रमलाई विद्यार्थीहरुले साखपूर्वक सुने र हेरे।

‘धारिलो हतियार नछुने, आगो र पानीसँग नखेल्ने, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने, अभिभावकको स्वीकृतिविना बाहिर नजाने, सडकमा हिँड्दा ट्राफिक नियमको पालना गर्नेलगायतका धेरै कुराहरु हामीले यहाँ सिक्न पायौं’ विद्यार्थी विभू उपाध्यायले भनिन्, ‘प्रहरीले भनेका र सिकाएका कुराहरुलाई व्यवहारमा लागू गछौं।’ विद्यार्थीहरुले सिसी टिभीमार्फत प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरको सुरक्षा अवस्थाको अवलोकन गरे। सिसी टिभीमार्फत प्रहरीले वीरेन्द्रनगर बजारका गतिविधिहरु नियाल्ने गरेको छ।

‘बजार क्षेत्रमा जोडिएका क्यामरामार्फत एउटा कोठामा बसेर २४सैं घण्टा अनुगमन हुन्छ’ प्रहरी निरीक्षक विवेककुमार शाहले विद्यार्थीहरुलाई भने, ‘गलत दिशाबाट बाटो काटेमा, चोरी गरेमा, सवारी दुर्घटना गराएमा र केही अभद्र कामहरु गरेको देखिएमा तत्काल प्रहरी पठाउने गरेका छौं।’ विद्यार्थीहरुले १०० मा आउने फोन र त्यसको कारवाहीको प्रक्रियाका बारेमा पनि चासो राखेका थिए।

प्रकाशित: १० फाल्गुन २०७५ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App