४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

लिफ्टिङ खानेपानी आयोजनाको काम गुणस्तरहीन

पम्पिङ खानेपानी आयोजनाको च्यास्मीटारमा निर्माण सुरु गरिएको ट्यांकीको सोलिङ नाप्दै मेयर इवन राई। तस्बिर : दमन/नागरिक

खोटाङ - खोटाङमा दूधकोसीको पानी गाउँमा वितरण गर्ने प्रयासस्वरुप सुरु गरिएको बृहत पम्पिङ खानेपानी आयोजनाको काम गुणस्तरहीन पाइएको छ। सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाका ७ वडाको खानेपानी समस्या समाधान गर्न सुरु गरिएको करोडौंको आयोजनाको वितरण लाइनतर्फको काम गुणस्तरहीन भएको पाइएको हो। नगरप्रमुख इवन राई नेतृत्वको टोलीले माघ २४ गते गरेको अनुगमनका क्रममा वितरण लाइनअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा निर्माणाधीन ७० हजार लिटर क्षमताको आरभिटी ट्यांकीको जग निर्माणलगायतका काममा त्रुटि भेटेको छ।

वितरण लाइनको काम गुणस्तरहीन पाइएपछि प्रमुख राईले गुणस्तर कायम गर्न ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनलाई निर्देशन दिएका छन्। च्यास्मीटारमा निर्माणाधीन ट्यांकीको जगमा हालिएको सोलिङ पातलो भएको, ढुंगा नमिलाई सोलिङमा राखिएको, गिटीमा माटो मिसिएको पाइएको राईले बताए। ‘१५ सेन्टिमिटर बाक्लो सोलिङ गर्नुपर्ने मापदण्ड पूरा नगरेको पाइयो, सोलिङ गरेको ढुंगा पनि थुपारेको जस्तो देखियो,’ मेयर राईले भने, ‘त्यो सोलिङ निकालेर पुनः सच्याएर अर्को सोलिङ गर्न भनेको छु।’ राईले ट्यांकीको जगको सोलिङ र पुरेको पाइप खोतलेर मिटर टेपले नापेका थिए। दूधकोसीको पानी डिकुवाको भुम्जुडाँडामा निकालेर वितरणका लागि च्यास्मीटारमा निर्माण सुरु गरिएको ट्यांकीको मंसिर २५ गते राईले नै शिलान्यास गरेका थिए।

नगरपालिकाले नदीको पानी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्का लिएको मुख्य ठेकेदार कम्पनी दिवा महादेव–खिम्ती जेभी, वितरण लाइनतर्फको काम गरिरहेको लामा कन्स्ट्रक्सन र रमन–सगरमाथा जेभीलाई भौतिक र आर्थिक प्रगति विवरणका साथमा कार्यतालिका बुझाउन निर्देशन दिएको छ। दूधकोसीको पानी भुम्जुडाँडा र काभ्रेडाँडामा निकालेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७ सय ५६ घरधुरीलाई वितरण गर्ने लक्ष्य छ। करिब ९२ करोड लागतमा सुरु गरिएको आयोजनाबट दैनिक ६ लाख लिटर पानी लिफ्ट गर्ने तयारी छ। २ वर्षभित्र नदीको पानी भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्नेगरी २०७४ साल असार मसान्तमा खोटाङ बृहत् पम्पिङ खानेपानी आयोजनाको सम्झौता भएको थियो।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट १ हजार ३ सय ४ मिटर उचाइमा रहेको भुम्जुडाँडामा निकालिने पानी बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेका उपभोक्ताको घरघरमा पुर्‍याउने वितरण लाइनको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ। यस्तै हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको महादेवबेसीबाट १ हजार ३ सय ३५ मिटर उचाइमा रहेको काभ्रेडाँडामा निकालिने पानी हलेसी, दुर्छिम र मंगलटारमा वितरणको ठेक्का रमन–सगरमाथा जेभीले लिएको छ। रमन–सगरमाथा जेभीको काम सुस्त देखिएको स्थानीयले बताएका छन्। काभ्रेडाँडा र भुम्जुमा चारचार लाख लिटर क्षमताको ट्यांकीमा पानी संकलन गरेर गाउँमा वितरण गरिने उपभोक्ता समितिले जनाएको छ। हाल काभ्रेडाँडा र महादेवबेसीलाई जोड्ने सडक निर्माण, विद्युत्का लागि पोल गाड्ने र वायरिङ गर्ने काम पूरा भइसकेको छ। यस्तै भुम्जुडाँडा र लुलिमाबीचमा पनि पोल गाड्ने काम भइरहेको नगरप्रमुख राईले बताए। हलेसी क्षेत्रलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

प्रकाशित: २८ माघ २०७५ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App