२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

निकुञ्जको सुरक्षामा कुकुर

चितवन - चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग गर्न थालिएको तीन वर्ष भयो। निकुञ्जको सुरक्षार्थ चारवटा कुकुर राखिएका छन्। बेल्जियम सेर्फर्ड प्रजातिका मर्रे, सेयर्स र फिन्सी, ल्याब्रोडोर प्रजातिको फिन्सी र फेलो नाम गरेका कुकुरले निकुञ्जको सुरक्षामा सघाउँदै आएका छन्। बेल्जियम सेर्फर्ड ‘ट्र्याकिङ’का लागि प्रयोग गरिन्छ। ल्याब्रोडोर ‘स्निफिङ’का लागि प्रयोग गर्ने गरिएको छ।

कुकुर राखिएपछि शंकास्पद स्थानमा कुकुरबाट सुरक्षा जाँच गराउने गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरे बताउँछन्। निकुञ्जको प्रवेशद्वारमा खानतलासी गर्नुपर्दा कुकुरको प्रयोग गर्ने गरिएकोे छ। कुकुरको हेरचाह, खानपान र पालन खर्च निकुञ्जले बेहोर्दै आएको छ। कुकुरको हेरचाह र तालिमको जिम्मेवारी नेपाली सेनाले लिएको छ।

कुकुरको प्रयोगबाट ठूलो गिरोह नसमातिए पनि निकुञ्जको संरक्षणमा भने त्यसको भूमिका प्रभावकारी भएको घिमिरेको भनाइ छ। अपराधीलाई नै समातेर कारबाही गर्नेभन्दा पनि कुकुर राखिएपछि निकुञ्जमा हुने अपराधमा भने कमी आएको उनी बताउँछन्। पछिल्लो वर्षमा वन्यजन्तुको चोरीसिकारका घटना निकुञ्जमा भएका छैनन््। निकुञ्ज प्रवेश गर्ने प्रवेशद्वार भएर जाने सवारीसाधनको चेकजाँच पनि कुकुरबाट गराउने गरिएको छ। ‘शंकास्पद ठाउँमा कुकुर लिएर चेकजाँच गर्दा अपराधीहरू हतोत्साहित हुन्छन् नै,’ उनी भन्छन्, ‘कुकुरले पछ्याए पक्राउ पर्ने डर अपराधीलाई हुन्छ।’ बेल्जियम सेर्फर्ड भारतमै तालिम गराएर निकुञ्जमा ल्याइएको कुकुर हो। ल्याब्रोडोर प्रजातिको कुकुर नेपाली सेनाले तालिम दिएर निकुञ्जलाई प्रदान गरेको निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणका गणपति प्रमुख सेनानी समुन्द्र थापा बताउँछन्। विशेष तालिम दिएर अनुसन्धानको काममा कुकुरको प्रयोग हुँदै आएको उनको भनाइ छ।

दुर्लभ वन्यजन्तुको अखेटोपहार लुकाएको ठाउँ, वन्यजन्तुको चोरीसिकारमा सहभागी व्यक्तिको पहिचानमा कुकुरको प्रयोग हुने गरेको उनले जनाए। ‘कुकुरको नियमित प्रयोग भइराखेको छ,’ उनले भने, ‘निकुञ्ज प्रवेश केन्द्रमा चेकजाँचसँगै पेट्रोलिङ (गस्ती) मा पनि लैजाने गरिएको छ।’ कुकुरको हेरचाह गर्न तालिम लिएका सेनाबाट हेरचाह र नियमित स्वास्थ्य जाँच गर्ने गरिएको छ। ल्याब्रोडोर कुकुरले सुँघेर अखेटोपहार पत्ता लगाउने, भेट्टाएपछि आवाजमार्फत संकेत गर्ने गर्दछ। ट्र्याकिङका लागि प्रयोग गरिने बेल्जियम सेर्फर्डले अपराधमा संलग्न व्यक्तिलाई खोज्ने थापाको भनाइ छ। निकुञ्जको सुरक्षामा प्रयोग कुकुरलाई समय–समयमा ‘रिफ्रेसर’ तालिम दिने गरिएको छ। ‘हरेक महिनाजसो तालिम गराइरहेका हुन्छौं,’ उनले भने, ‘विशेषगरी गैंडा, बाघ पत्ता लगाउन अखेटोपहार सुँघेर पत्ता लगाउने तालिम दिइरहेका छौं।’ वास्तविक घटना बनाएर समेत गरिने अभ्यासमा प्रभावकारी कार्य कुकुरले गर्ने गरेको उनी बताउँछन्। चोरीसिकार हुँदा सुँघेर पत्ता लगाउने तालिम दिने गरिएको छ।

पछिल्लो समय आपराधिक घटना नहुनुलाई कुकुर राख्दा संरक्षणमा मिलेको सफलताका रूपमा लिने गरिएको छ। निकुञ्जमा कुकुर राखिँदा संरक्षणका लागि खटिएका नेपाली सेनाका पहुँच तथा क्षमतामा समेत वृद्धि भएको छ। नेपालमा नै पहिलोपटक चितवन निकुञ्जमा सुरक्षाका लागि कुकुर प्रयोग गरिएको थापाको भनाइ छ। संरक्षणमा प्रभावकारी भएको पाइएकाले नै देशका अरू निकुञ्जमा पनि प्रयोग गर्ने तयारी भइरहेको उनी बताउँछन्।

प्रकाशित: १३ माघ २०७५ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App