९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कोरियामा जमेका नेपाली व्यावसायी

नेपालमा साहसिक पर्यटन व्यवसायमा जमेका आनन्द सिलवालले दक्षिण कोरिया पुगेर व्यवसाय गर्छु भन्ने सायदै सोचेका थिए होलान्। ललितपुरमा जन्मिएका उनलाई नपुग्दो केही थिएन। काठमाडौंमै पनि उनले व्यवसायबाट राम्रै आम्दानी गरिरहेका थिए। यातायात र होटल व्यवसायमा काम गरेका सिलवाललाई पर्यटन व्यवसायले दक्षिण कोरियासम्म डोर्‍यायो। आयात–निर्यात हुँदै अहिले रेस्टुरेन्ट व्यवसायमा प्रवेश गरेका सिलवाल नेपालीमाझ एक सफल व्यवसायीकारूपमा परिचित छन्।  

‘म जे काम गर्छु पूरै मनैदेखि गर्छु,’ सिलवालले भने, ‘अहिलेसम्म गरेका कुनै काममा पनि असफल हुनु परेको छैन।’
हुन पनि उनले अहिलेसम्म जे गरे सबैमा सफलता पाएका छन्। चाहे त्यो, पर्यटन, यातायात, आयात–निर्यात अथवा होटल व्यवसाय नै किन नहोस्।

सिलवालले २०४७ सालदेखि नै आफ्ना लागि आफै खर्च जुटाउन थाले। अहिले जस्तो दुई–तीन महिनामै एसएलसीको रिजल्ट आउँदैनथ्यो। छ–सात महिना रिजल्टका लागि कुर्नुपथ्र्यो। उनले त्यहीँ समयको सदुपयोग गरे। नेपालकै प्रमुख पर्यटकीयस्थल गोदावरी। विदेशी पर्यटकहरूको भरिभराउ हुने ठाउँ। छ महिना नगरकोटका होटलमा गरेको कामले उनलाई पर्यटन व्यवसायतिर डोर्‍यायो।

यातायात र होटल व्यवसायमा काम गरेका सिलवाललाई पर्यटन व्यवसायले दक्षिण कोरियासम्म डोर्‍यायो। आयात–निर्यात हुँदै अहिले रेस्टुरेन्ट व्यवसायमा प्रवेश गरेका सिलवाल नेपालीमाझ एक सफल व्यवसायीकारूपमा परिचित छन्।

२०४७ सालमा एसएलसी उत्तीर्ण भएलगत्तै उनी आरआर क्याम्पसमा भर्ना भए। पहिलो वर्षमै उनलाई ‘ब्याक’ लाग्यो। दोस्रो वर्ष सजिलै उत्तीर्ण भए पनि पहिलो वर्षको रिजल्टले कुर्ने बनायो। उनी खाली बस्न नरुचाउने मानिस। एसएलसी दिएलगत्तै आफूले गरेको काम सम्झे। ठमेल विदेशी पर्यटकको केन्द्र। उनले त्यहाँ काम गर्ने निधो गरे। ठमेलका मल्लसहितका होटलमा चार वर्ष काम गरे।

२०५२ सालमा उनी आइए उत्तीर्ण भए। त्रिचन्द्रमा राजनीतिक शास्त्रमा भर्ना भए। ‘पढाईका साथसाथै होटल लाइन र पर्यटन क्षेत्रमा काम गर्न थालेको हुँ,’ सिलवालले अनुभव सुनाए, ‘चार वर्ष होटल र त्यति नै समय पर्यटन क्षेत्रमा काम गरेको अनुभव सँगाल्ने अवसर मिल्यो।’

होटल क्षेत्रमा काम गर्ने क्रममै उनले ‘होटल म्यानेजमेन्ट’ सम्बन्धी तालिम लिए। त्यति नै बेला उनले ‘द लास्ट रिसोर्ट’मा  एक वर्ष काम गरे। त्यहीमार्फत् हिमालयन माउन्टेन बाइकमा काम गर्न थाले। साहसिक पर्यटकको गाइड बन्नु चानचुने कुरा होइन। साहसिक पर्यटकका लागि नेपाल महत्वपूर्ण गन्तव्य नै हो। उनले त्यो चुनौती स्वीकारे। पर्यटनका क्षेत्रमा काम गर्दा धेरै देशका पर्यटकहरूसँग चिनजान हुन्छ। उनीहरूसँग कुराकानी हुन्छ। त्यसै क्रममा सिलवालको भेट दक्षिण कोरियाका पार्क माङ सुसँग भेट भयो। उनी कोरियाका ‘रिम्पोच्छे’ थिए।

‘मैले टाभल्समा काम गर्दा उहाँ पटक–पटक नेपाल आउनुहुन्थ्यो, उहाँलाई बौद्धगुम्बाहरूमा घुमाउनुका साथै बुद्धमार्गीका लागि आवश्यक पर्ने सामग्री खरिदमा पनि सहयोग गर्थे,’ सिलवालले आफ्नो कोरिया यात्राका बारेमा सुनाउँदै भने, ‘सुरुमा उहाँले घुम्न बोलाउनुभएको थियो, पछि साझेदार भएर काम गर्ने अवसर मिल्यो।’

माङ सुले सिलवाललाई २००७ मा कोरिया घुम्नका लागि बोलाए। दुई सातासम्म बसेका सिलवाल यहाँको सुन्दरता, मेहनतीपन देखेर नलोभिएका भने होइनन्। तर, फर्केर जानै पर्ने थियो। उनी नेपाल गए। माङ सु नियमित नेपाल आउँथे। बौद्धदर्शनसँग सम्बन्धित सामग्रीहरू खरिद गर्थे। बौद्धगुम्बाहरूको दर्शन गर्थे, फर्कन्थे। उनलाई नेपालबाट त्यस्ता सामग्रीहरू पठाउने विश्वासिलो मानिसको खाँचो थियो। दुई–चार वर्षदेखि नियमित सम्पर्कमा रहेका सिलवाललाई रिम्पोच्छेले रोजे।

त्यसपछि त सिलवालका लागि कोरिया ‘पानी पधेँरो’ जस्तै भयो। आम्दानी पनि बन्दै गयो। ‘मैले नेपालबाट बौद्धमार्गीहरूका लागि आवश्यक पर्ने मूर्तिदेखि अन्य सामाग्रीहरु ल्याएर आउँथे, यहाँ पसल थालेर बिक्री गथ्र्यौं’ सिलवालले भने, ‘आम्दानीका साथै कोरियामा मेरो पहिचान पनि स्थापित हुँदै गएको थियो।’

रिम्पोच्छे, सिलवाल र अर्का एक कोरियनको संयुक्त लगानीमा सुरु भएको आयात–निर्यातको व्यवसाय फस्टाउँदै थियो। बुद्धको जन्मस्थल लुम्बिनीकै नामले पसल राम्रैसँग चलिराखेको थियो। महिनामा चार–पाँच पटकसम्म सिलवालको आउजाउ चलिरहन्थ्यो।

सयम सधैं एकै प्रकारको हुँदैन। उतार–चढाव भइरहन्छ। सिलवालको साझेदारी व्यवसायमा पनि त्यस्तै भयो। मुख्य साझेदार माङ सुको उपचारको क्रममा निधन भयो। साझेदारी व्यवसाय टुट्यो। सिलवालका तवानका दिन सुरु भए।
‘आयात–निर्यातको व्यवसाय सुरु गरेदेखि काठमाडौंमा गरिरहेका अरु व्यवसाय बन्द गरिसकेको थिएँ,’ उनले भने, ‘यताको व्यवसाय पनि बन्द भएपछि केही समय त समस्या नै भयो।’

साझेदारी व्यवसायमा उनको २० प्रतिशत हिस्सा थियो। पसलको स्वामित्व र गुम्वाको विषय अदालतमा पुग्यो। उनी अर्काको देशमा अदालती चक्करमा लाग्ने सोचमा थिएनन्। साझेदारी व्यवसाय टुटे पनि सिलवाललाई कोरिया मोहले तानिसकेको थियो। उनले आयात–निर्यातको व्यवसायलाई छोडेर नेपाली स्वादको रेस्टुरेन्ट व्यवसाय सुरु गर्ने निर्णय गरे। कोरियामा व्यवसाय गर्नका लागि १० करोड रूपैयाँ आवश्यक पर्छ। त्यतिका पैसा एकै पटक जुटाउन सक्ने अवस्था सिलवालसँग थिएन।

नेपाली साथीहरूले नै उनलाई सहयोग गरे। २०११ अक्टोवरबाट उनले ‘न्यू हिमालय नेपाल रेस्टुरेन्ट’ सुरु भयो। विदेशी भूमि, भाषाको समस्या। यि दुई कारणले रेस्टुरेन्ट व्यवसायमा पनि केही समस्या आयो। ‘कोरियनले दुई वर्षका लागि घर भाडामा दिन्छु भनेको रहेछ, हामीले नबुझ्दा भौतिक संरचनामा ठूलो लगानी गर्‍यौं,’ उनले भने, ‘आम्दानी राम्रो भए पनि दुई वर्षभित्रै एक्कासी छोड्नु पर्दा भने समस्या भयो।’

साझेदारी व्यवसाय टुटेर रेस्टुरेन्ट व्यवसाय सुरु गर्ने निधो गरेपछि उनले जीवनसाथी आष्मा ढुङ्गानालाई होटल व्यवसायको तालिम लिन लगाए। ‘मैले यहाँ भौतिक संरचना निर्माणमा समय दिन थाले, काठमाडौंमा आष्माले होटल व्यवसाय सम्वन्धी काम सिक्दै थिइन्,’ उनले भने, ‘अहिले दुवै जनाको मेहनतले राम्रो प्रगति गर्न सकेका छौं।’ पतिपत्नी एक रथका दुई पाङ्ग्रा हुन्। दुबै सँगसँगै भएमा जस्तोसुकै कुरा पनि असम्भव हुँदैन। त्यो कुरा सिलवाल दम्पत्तीमा पनि मेल खान्छ। ‘आनसानसी’ यो नाम कोरियाका लागि चर्चित छ। यो विदेशी पर्यटकहरूको राजधानीका नामले चिनिन्छ। यही अहिले उनको करोडौंको नेपाली रेस्टुरेन्ट छ। नेपाली मात्रै होइनन्, कोरियन र अरु विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ, उनको रेस्टुरेन्ट।

उनी मात्रै होइन्, पत्नी आष्मा, छोरा आभाष र आयाम कोरियामा छन्। जेठो छोरा कक्षा १० मा पढ्दैछन्। कान्छो कक्षा ४ मा। ‘अहिले भाषाको समस्या छैन्, व्यवसाय पनि राम्रो चलिराखेको छ, सकेको सामाजिक सेवा पनि गरिरहेका छौं,’ सिलवालले भने, ‘विदेशमा इमान्दारिता, आत्मविश्वास र मेहनती हुनुपर्छ सफल भइन्छ।’ सिलवालको अबको लक्ष्य नेपालमा रेस्टुरेन्ट व्यवसाय सुरु गर्ने हो। ‘अबको पाँच–सात वर्षमा नेपालमा कृषिमा आधारित अर्गानिक रिसोर्ट सञ्चालनमा ल्याउने सोच बनाएको छु,’ उनले भने, ‘त्यसमा कम्तिमा चार–पाँच करोड रूपैयाँ खर्च आउँछ।’ उनले कोरियामा रेस्टुरेन्ट व्यवसायको राम्रो अध्ययन गरेका छन्। त्यसैले पनि आफू नेपालमा सफल हुने आत्मविश्वास छ।

प्रकाशित: २१ पुस २०७५ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App