१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

माघमा हुने भयाे उल्लु उत्सव

लाटोकोसेरो तथा हुचिल उत्सव बारे जानकारी दिँदै आयोजक । तस्बिरः दमन राई/नागरिक

खोटाङ – खोटाङको जालपामा  माघ तेश्रो साता उल्लु महोत्सव हुने भएको छ। किसानको साथी उल्लु संरक्षणका लागि यस्तो उत्सव गर्न  लागिएको हो। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा आगामी माघ १८ र १९ गते आठौ नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो।

लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउनका लागि जालपामा उत्सवको आयोजना गरिएको आयोजक मूल समितिका संयोजक एबं वडाध्यक्ष बिकास राईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 
जिल्ला तथा जिल्ला बाहिरका गरी करिब ५ हजारको सहभागीता रहने उत्सवको पहिलो दिन लाटोकोसेरो सम्बन्धी लघु म्यूजियम प्रदर्शनी, चरा अवलोकन, प्रकृतिको तस्बिर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रोलगायतका स्थानीय लोपोन्मुख खेल प्रदर्शनी एबं प्रतियोगिता हुनेछन्।  सोही दिन राती लाटोकोसेरोको महत्व दर्शाउने खालका स्लाईड तथा भिडियो प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । अवैध चोरीनिकासी, वन विनास, विषादिको प्रयोगलगायतका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए । लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ । 

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं’ भन्ने नारासहित सञ्चालन हुने लाटोकोसेरो तथा हुचिल उत्सवको दोश्रो दिन वन बिज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षण सम्बन्धी नाच, स्थानीय तामाङको डम्फु र सेलो, शेर्पाको सेब्रु, राईको साकेला र मारुनी, हिन्दु महिलाको संगीनी नाच, गूरुङको सालैज्यू, बालन, सडक नाटक, हाक्पारे गीत, मुर्चुङ्गा, पीपीरी, यलम्बर, मादल, बाँसुरी लगायतका स्थानीय बाजा प्रदर्शनी लगायतका कार्यक्रम राखिएको छ । 

उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट, लाटोकोसेरो सम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो, त्रिभुवन बिश्वबिद्यालय अन्तरगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमूना, गहुँको छवाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरा समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । उत्सवमा आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने व्यवस्था मिलाइने छ । नेपालमा पाइने २३ प्रजातीका लाटोकोसेरोमध्ये ८ प्रजातीका दुर्लभ किसिमका छन् । 

 

 

प्रकाशित: २० पुस २०७५ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App