१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

किरात समुदायकाे साकेला उधौली पर्व सुरु

उदयपुर - किरात समुदायको महान् पर्वमध्येको एक ‘साकेला उधौली (छिरिनाम) ५०७८’ शनिबार देखि सुरु भएको छ। पर्व सुरुवातको दिन उदयपुरका बिभिन्न ठाउँमा किरातीहरुले आफ्नो इष्टदेव (शिकारी) पुजा गरी औपचारिक रुपमा छिरिनाम सुरुवात गरेका छन्।

किरात राई यायोक्खा उदयपुरका अनुसार सदरमुकाम गाईघाट, त्रियुगा नगरपालिकाका वडा, चौदण्डीगढी, कटारी र बेलका नगरपालिका तथा विभिन्न गाउँपालिकाहरुमा औपचारिक रुपमा शनिबारदेखि साकेला छिरिनाम सुरु भएको छ। शनिबार विहान इष्टदेव शिकारीलाई रातो भाले, वाडिमा (कुखुराको अण्डा) तथा कोदोको जाँड र बेछु (अदुवा) चढाएर सुरु भएको उधौली पर्वे १ महिनासम्म लगातार पुजाआजा र विभिन्न कार्यक्रम गरी मनाइने यायोक्खा उदयपुरका अध्यक्ष विमल किरातीले बताए।

छिरिनामको अवसरमा किरातीहरुको सामुहिक चुल्होमा शिकारी पुजा गरेर प्रसाद ग्रहण गरेपछि गोलो घेरामा वृद्धवृृद्धासँगै युवायुवती तथा किशोरकिशोरी ढोल झ्याम्टा बजाउँदै नाचेर यो पर्वको सुरुवात हुने गरेको छ।

यायोक्खा प्राक गाईघाटका अध्यक्ष प्रकाश राईले त्रिनपा ११ साकेलाथान स्थित स्थापित किरात शिकारीथान र सामुहिक चुल्होमा शनिबार पुजा आराधना गरेपछि दिनभर स्थानीय किरात सांस्कृतिक भवन परिसरमा सिली नाचेर उधौली छिरीनाम मनाइएको छ। त्यस्तै शनिबारै नगरपालिकाको ४ नं. वडाको श्रीपुर स्थित मयुवनमा स्थानीय यायोक्खाको आयोजनामा साकेला उधौली धुमधामसँग मनाइयो। साकेलाथानमा १ दशकअघि र मयुरवनमा ५ वर्षअघि सामुहिक किराती चुल्हो स्थापना गरिएको छ।

प्रकृति पुजक किराती समुदायले मंसिर पुसको जाडो याम सुरु भएपछि न्यानो ठाउँ खोज्दै तराईतर्फ झर्नुपर्ने प्राकृतिक मान्यतालाई स्मरण गर्दै उधौली र गर्मीयाममा गर्मी छल्न लेकतिर चढ्ने संकेतको रुपमा उभौली पर्व मनाउदै आएको छ। आफ्ना पितापुर्खाको सम्मानका लागि शिकारी पुजा गर्ने तथा अन्न उत्पादन हुने भूमि र जलको पूजा गर्ने यो समुदायको संस्कार पछिल्लो समय अन्तरघुलन हुँदै सबै समुदायको साझा संस्कार बन्दै गएको किरात अगुवा डा. कैलाश राई बताउँछन्।

प्रकाशित: ७ पुस २०७५ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App