१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

स्वयमसेवी शिक्षकलाई एक लाख

सुर्खेत - पाँच वर्षदेखि पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ स्थित जनसंयुक्त प्राविमा बालबालिकालाई निःशुल्क पढाउँदै आएका गजेन्द्र रानामगरलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। सुर्खेत कोरिया समाजको पहलमा दक्षिण कोरियामा कार्यरत नेपालीहरुबाट संकलन गरिएको एक लाख ११ हजार एक सय ११ रुपियाँ बिहीबार रानामगरलाई हस्तान्तरण गरिएको छ।

गत कात्तिकमा नागरिक दैनिकलगायतका मिडियामा स्वयम्सेवी शिक्षक रानामगरका बारेमा आएका समाचारपछि समाजले सहयोग संकलन सुरु गरेको थियो। सुर्खेत कोरिया समाजका अध्यक्ष तुलसकुमार गुरुङले दुर्गम क्षेत्रको सामुदायिक विद्यालयमा निःशुल्क शिक्षण गरेर बालबालिलाई शिक्षाको उज्यालो भविश्यक देखाउन योगदान पुर्‍याएकाले रानामगरलाई आर्थिक सहयोग गरिएको बताए।

‘आफ्नो भविश्यको चिन्ता नगरेर दलित र जनजातिका बालबालिका अध्ययनरत विद्यालयलाई उत्कृष्ट बनाउनका लागि गजेन्द्र सरले पुर्‍याएको योगदान महत्वपूर्ण पायौं’ अध्यक्ष गुरुङले भने, ‘उहाँले गरेको स्वयम्सेवाको सम्मान गर्दै कोरियामा संकलन गरिएको रकम हस्तान्तरण गरेका हौं।’

एसओएसमा हुर्के पढेका रानामगर पाँच वर्षअघि तीन महिना ‘भोलेन्टियर’का लागि विद्यालयमा पुगेका थिए। उनी स्कूलमा प्रवेश गर्दा पाँच कक्षासम्म १५ जना विद्यार्थी मात्रै थिए। अहिले दुई सयको हाराहारीमा विद्यार्थीहरु छन्। सबै कक्षामा अंग्रेजी माध्यमबाट पढाई हुन्छ। उनी विद्यालयको कार्यकारी भूमिकामा छैनन्। विद्यालय व्यवस्थापन समितिदेखि प्रधानाध्यापक र शिक्षकहरु उनैले कोरेको बाटोमा हिँड्ने गरेका छन्। काठमाडौंबाट ग्रामिण विकासमा स्नातकोत्तर सकाएपछि उनी जागिर खोज्नतर्फ लागेनन्।

उनको नेतृत्वमा विद्यालयले गरेको प्रगति लोभलाग्दो छ। बोर्डिङ छोडेर सरकारी विद्यालयमा आउने विद्यार्थीहरुको लहर चल्न थालेको छ। बोर्डिङ स्कूलको जस्तै पोशाक छ। विद्यालय परिसरभरी फोहर देखिँदैन्। सरकारी विद्यालय भन्ने वित्तिकै नाक खुम्च्याउने अभिभावकहरु आफ्ना नानी–बाबुहरु भर्ना गर्न ‘सोर्सफोर्स’ लगाउँछन्।

रानामगरले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीहरुबाट पाएको सहयोगले आफूलाई थप प्रेरणा र उर्जा मिलेको बताए। ‘चालू शैक्षिक सत्रसम्म पढाएर आफ्नो व्यवस्थापनमा लागौंला भन्ने मनमा सोचिरहेको थिएँ’ उनले भने, ‘देश–विदेशबाट पाएको प्रतिक्रियाले यो मात्रै होइन्, यस्तै अवस्थामा रहेका अरु सामुदायिक विद्यालय सुधारमा लाग्ने प्रेरणा मिलेको छ।’

रानामगरकै नेतृत्वमा गुर्भाकोट नगरपालिकाले जनसंयुक्त प्राविलाई नमूना विद्यालय घोषणा गरेको छ। उपमेयर मैना विकले गजेन्द्र सरको नेतृत्वमा विद्यालय महत्वपूर्ण शैक्षिक प्रगति गरेकाले नगरपालिकाले नमूना विद्यालय घोषणा गरेको बताइन्। ‘पाँच–पाँच वर्षसम्म निःशुल्क विद्यालयको सेवा गर्नु धेरैका लागि कल्पनाबाहिरको कुरा हो’ रकम हस्तान्तरण गर्दै उपमेयर विकले भनिन्, ‘उहाँजस्ता प्रेरणादायि युवालाई नगरपालिका कुनै पनि अवस्थामा बाहिर जान दिँदैन्।’

दक्षिण कोरियाबाट आएका समाजका सदस्य गोपाल खड्का, पदमबहादुर बस्नेत, तिलक हमालले आफूहरुले कल्पना गरेभन्दा विद्यालय उदाहरणीय पाएको बताए। ‘शिक्षकले चाहेमा सामुदायिक विद्यालयको मुहार फेरिन्छ भन्ने उदाहारण हामीले यो विद्यालयबाट पायौं’ उनीहरुले भने, ‘आवश्यक परेमा विद्यालयका लागि आगामी दिनहरुमा पनि हामी सहयोग गछौं।’

 

प्रकाशित: २८ मंसिर २०७५ १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App