१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्डिकेट खारेजीसँगै निकालिएका हिमाली संघका मजदुरको पुनर्वहाली

तत्कालीन हिमाली यातायात व्यवसायी संघको भवन । तस्बिरः नागरिक

उदयपुर – सरकारले यातायात व्यवसायमा सिन्डिकेट अन्त्यको कदमसँगै बेरोजगार बन्न पुगेका उदयपुरका मजदुरको पुनर्वहाली भएको छ। सिन्डिकेट लागू भएसँगै खारेज भएको तत्कालीन हिमाली यातायात व्यवसायी संघका अवकाश प्राप्त मजदुरलाई पुर्नगठित कम्पनी हिमाली यातायात व्यवसायी केन्द्रले पुनर्वहाली गरेको हो।

पुनर्वहालीको निर्णयसँगै साउन १ गतेदेखि जागिर गुमाएका ५४ मजदुरहरू शुक्रबारदेखि साविक झैं काममा फर्केका छन्। संघ खारेजीको सरकारी निर्णयसँगै अवकाश पाएपछि रोजीरोटीको अभावमा धेरै मजदुरहरू परिवारको पालनपोषण र जीवन गुजारा गर्नै नसक्ने स्थितिमा पुगेकाले उनीहरूलाई यथास्थानमा काममा फर्काउने निर्णय बिहीबारको बैठकले गरेको हो।

हिमाली यातायात केन्द्रका अध्यक्ष ओमभक्त मैनालीले अवकाश पाएका मजदुरको जीवन गुजरासम्म हुन छाडेपछि बाध्य भएर काम गर्ने वातावरण बनाइदिएको बताए। मैनालीका अनुसार संघबाट अवकाश प्राप्त सबै मजदुरलाई पूर्ववत रुपमा काममा लगाउन थालिएको र त्यसबावत पारिश्रमिक स्वरुप निश्चित कमिशन दिइने छ। संघमा रहँदाजस्तो मासिक पारिश्रमिक र भत्ताको व्यवस्था नभएपनि निश्चित प्रतिशत कमिशन लिन पाउनेगरी काम गर्ने वातावरण पाएपछि सबै मजदुरहरु काममा फर्केको अध्यक्ष मैनालीले बताए।

तत्कालीन हिमाली संघमा कार्यालय प्रमुखदेखि लेखापाल, सहलेखापाल, निरीक्षक, सहायक निरीक्षक र फिल्ड सहायकसम्ममा ५४ कर्मचारी कार्यरत थिए। उनीहरूलाई भत्ताबाहेक न्यूनतम अधिकतम २७ हजारदेखि न्यूनतम ७ हजारसम्म पारिश्रमिकको व्यवस्था थियो। संघले मजदुरको हकहितका लागि उपदान र सञ्चयकोषसमेत खडा गरेर सेवा सुविधा दिँदै आएको थियो। तर, सिन्डिकेट खारेजीपछि एक्कासी संघ नविकरण नहुँदा अवकाशसँगै उपदान र सञ्चयकोष केही नपाएपछि मजदुरहरू बिल्लीबाठ हुन पुगेका थिए।

प्रकाशित: २१ मंसिर २०७५ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App