खोटाङ - दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका रविध्वज राई तीन वर्षभित्र दुई पटक आगलागी पीडित भए । पहिलो पटक २०७२ पुस २ गते विद्युत् सर्ट भई छिमेकी हिरालाल पुरीको घरबाट सल्केको आगोले उनको घरमा क्षति पु-याएको थियो । फेरि यही कात्तिक २३ गते छिमेकी अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगलागीले दोस्रोपटक उनको घरमा क्षति पुगेको हो।
आगो फैलन नदिन २०७२ सालमा जसरी उनको छानो उधारिएको थियो यस पटक पनि त्यस्तै गर्नुप¥यो । उक्त आगलागीमा बुढाथोकी र कृष्णकुमार श्रेष्ठको घर पूरै नष्ट भयो भने राईसहित राजु श्रेष्ठ र नवीन गुरुङको घरमा पनि क्षति पुग्यो । आगलागीबाट लाखौंको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
घनाबस्ती रहेको दिक्तेल बजारका घरहरू आपसमा टाँसिएका छन् । जसका कारण दिक्तेल बजार आगलागीको उच्च जोखिममा छ । तर सुरक्षाका लागि बनेका योजना कागजमै सीमित भएका छन्।
स्थानीय तह कार्यान्वयनमा आउनुअघि सदरमुकामका रूपमा रहेको दिक्तेल बजारमा तीन वर्षभित्र आगलागी भएको यो तेस्रो पटक हो । वि. सं. २०७२ पुस २ गते भएको आगलागीले दिक्तेल रत्नपार्कका हिरालाल पुरी, केशव दाहाल, दानबहादुर मगर, रविध्वज राई र हर्कबहादुर राईको घर नष्ट हुँदा पाँच करोड रुपैयाँ बराबरको क्षति भएको थियो । यस्तै २०७३ असार २९ गते भएको आगलागीले दिक्तेल थर्पुटोलका लक्ष्मी पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको थियो । संयोगवश पहिलो र तेस्रो आगलागी एकै ठाउँमा भएको छ।
बेला–बेला भइरहने आगलागीले दिक्तेल बजार आगलागीको उच्च जोखिममा रहेको देखाएको बताउँछन् खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालु । ‘आगलागी भएका बेला बजारमा दमकल छिर्न सक्ने अवस्था छैन । मानवीय शक्तिका भरमा आगो नियन्त्रण गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘नगरमा व्यवस्थित दमकल राखिनुपर्छ । ठाउँ–ठाउँमा दमकल भर्ने पानी जगेडा राख्नुपर्ने अवस्था छ । विस्थापितलाई राख्न खुला क्षेत्र पनि बनाउनु जरुरी छ।’
घनाबस्ती रहेको दिक्तेल बजारका घरहरू आपसमा टाँसिएका छन् । जसका कारण दिक्तेल बजार आगलागीको उच्च जोखिममा रहेको हो । कुनै पनि बेला आगलागीले बजार ध्वस्त पार्न सक्ने खतरा देखिन्छ । यसरी जिल्लाकै प्रमुख बजार आगलागीको जोखिममा रहेको विषयमा पटकपटक कुरा उठे पनि सुरक्षाका विषयमा अहिलेसम्म कुनै योजना बनाइएको छैन । अहिलेको स्थानीय सरकारले समेत यसबारे कुनै चासो दिएको देखिँदैन । आगलागीको घटना भएका बेला यस विषयमा केही चर्चा चले पनि पछि त्यसै सेलाएर जाने गरेको छ।
प्रतिरक्षा योजना कागजमै सीमित
वि. सं. २०७२ मा भएको आगलागीपछि दिक्तेल बजारका घरघरमा आगो नियन्त्रणका लागि ‘फायर एक्सटिङगुइसर’ (अग्नि नियन्त्रक उपकरण) राख्न नगरपालिका केही समय तातेको थियो । भीषण आगलागीका घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता घटनाबाट जनधन जोगाउन अग्नि नियन्त्रक औजारहरू खरिद गर्ने, ‘फायर एक्सटिङगुइसर’ व्यवस्थाका लागि पहल थाल्ने, सचेतनामूलक कार्यक्रम तथा तालिम सञ्चालन गर्ने कार्ययोजना बनाइएको थियो । तर त्यसको कार्यान्वयन भने भएन । बजारमा आगलागी भएका बेला दमकल लान सकिने सडक बनाउने, खानेपानी उपभोक्ता समितिसँगको समन्वयमा दमकलमा पानी भर्ने व्यवस्था मिलाउने, बजारका बासिन्दालाई आगो नियन्त्रणसम्बन्धी तालिम व्यवस्था गर्ने लगायतका योजना कागजमै सीमित भएका छन् । दुवैतिर घर र पसलले च्यापेर साँघुरो बनेको दिक्तेलका सडकमा दमकल ओहोरदोहोर गराउन गाह्रो छ।
ढुंगामाटो, काठ र जस्ता प्रयोग गरेर बनाइएको घरहरूले भरिभराउ दिक्तेलमा कुनै न कुनै दिन आगलागीको विपत्ति आइपर्नेबारे बेलाबेलामा चर्चा हुने गरे पनि सम्बन्धित निकायले कुनै ध्यान नदिएको राप्रपाका जिल्ला(खोटाङ)अध्यक्ष जीवन श्रेष्ठले बताए।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आगलागीको जोखिमलाई मध्यनजर गरी दिक्तेल बजारमा दमकल र पानी आपूर्तिको व्यवस्था मिलाउन लागिएको जानकारी दिए । ‘दमकल व्यवस्थित र पाइपलाइन विस्तार गर्नेछौं,’ उनले भने, ‘घरघरमा फायर एक्सटिङगुइसर राख्न पनि अनुरोध गर्ने छौं।’
बेकम्मा दमकल
वि.सं.२०७२ मा दिक्तेल रत्नपार्कमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा नगरपालिकाको दमकल प्रभावकारी देखिएन । दमकलको पानी आगोतर्फ फाल्ने सीप नहुँदा त्यसै खेर गएको थियो भने पानी सकिएपछि पुनः पानी भर्न जाँदा र आउँदा नै धेरै समय बितिसकेको थियो।
यही कात्तिक २३ गतेको आगलागीमा त दमकल घटनास्थलसम्म आइपुग्नै सकेन । मेयर रिजालका अनुसार दिक्तेल बाहिर गएका चालक आउँदा घटनास्थलमा दमकल लैजान ढिला भएकाले बीचबाटै फर्काइएको हो । २०७३ सालको दिक्तेल थर्पुटोलमा भएको आगलागीमा पनि दमकल घटनास्थलसम्म पुग्न सकेको थिएन । घटनास्थल जाँदै गरेको दमकल अल्छेढुंगास्थित सडकको हिलोमा भासिएको थियो । हालसम्म दिक्तेलमा भएका भीषण आगलागीमा नगरपालिकाको दमकल उपयोगी हुन नसकेको आगलागी पीडितहरू बताउँछन्।
२०७४ पुस १८ गते राति हलेसीमा भएको आगलागी नियन्त्रणका लागि लाँदै गरिएको नगरपालिकाको दमकल अर्खौले पुगेपछि बिग्रिएको थियो। नेपाल सरकारको ६० लाख र नगरपालिकाको ८ लाख ५० हजार रुपैयाँमा खरिद गरेर २०७३ जेठ २३ गतेदेखि सञ्चालनमा ल्याइएको दमकल चुहिनेछ। कतिपयले थोत्रो दमकल ल्याएकाले चुहिएको र प्रभावकारी सेवा दिन नसकेको आरोप लगाउने गरेका छन्।
प्रकाशित: २९ कार्तिक २०७५ ०१:५२ बिहीबार