१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मिथिलाञ्चलमा ‘सामाचकेवा’ पर्वको रौनक सुरु

महोत्तरी -
‘धान, धान, धान छई भइया कोठी धान छैई , चुगला कोठी भूस्सा छई । 
पान पान पान छई ,भइया मुख पान छई , चुगला मुख कोइला छई ।  
चाउर– चाउर–चाउर छई , भैया कोठी चाउर छई । चुगला कोठी छाउर छई ।’

( दाजुको भकारीमा धान छ भने चुगलाको भकारीमा भुस भरिएको छ। दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला छ, दाजुको कोठीमा चामल भरेको छ भने चुगलाको कोठीमा खरानी छ) 

भाईबहिनीको प्रेमको प्रतिक मानिने पर्व सामाचकेवाकाे राैनक मिथिलाञ्चलमा सुरु भएकाे छ। महाेत्तरीका बजार तथा घरहरुमा यसै सम्बन्धि गीतहरु गुञ्जिन थालेका छन्। सामा–चकेवा खेल्दा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीतहरु गाएर बहिनीहरु मनोरञ्जन गर्न थालेका छन्। 

छठ पर्वको खरनादेखि कात्तिक पूर्णिमा सम्म सामाचकेवा मनाइन्छ। कुनै कुनै ठाउँमा छठको समाप्त हुने पारवनको दिनबाट समेत सामाचकेवा सुरु हुने परम्परा रहेको छ।

सामचको, सामचको अविहहे, अविह हे।
कुड खेतमे बैसिह हे बैसिह हे। 

सामाचकेवामा मिथिलानी दिदिबहिनीहरु समूह बनाएर नजिकैको नदी तलाउँबाट माटो खनेर ल्याउने गर्छन। ती माटोबाट कलात्मक वृन्दाबन , चुगला , चकेवा , चरा , कजरौटा , सतभैया लगायतका मुर्तिहरु वनाई घाममा सुकाएर साँझदेखि गाउँमा सामाका गीत गाउँदै डुल्दै सामाचकेवा खेलेर पर्वको सुरुवात गर्छन्।

यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भनिन्छ। सामा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन्। दुईटैलाई चराको आकृतिकाे रुपमा माटाेले बनाइएको हुन्छ। सामाचकेवा खेलमा श्रीमान श्रीमतीको बारेमा चुक्ली(झगडा) लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुगांको प्रतिक सनलाई डढाउने काम हुन्छ। सबै बहिनी मिलेर आगो लगाई डढाउदै बडो घृणाले गीत गाउछन्।

पूर्णिमाका दिन बहिनीहरु आफ्ना भाइ तथा दाइलाई निमन्त्रण गर्छन। भाइले घुडामा राखेर सबै मूर्ती तोडछन् र ती मूर्तीहरुलाई जोतेको खेतमा बिसर्जन गरिन्छ। बहिनीले भाइलाई च्युरा, दही, मिष्ठान, सख्खरको भोजन गराउछन भने भाइहरुले यथासक्य दिदिबहिनीलाई दक्षिणा दिने प्रचलन रहेको छ। जसलाई स्थानीय भाषामा ‘फाँरभरी’ पनि भन्ने गरिन्छ।    

सामा चकेवाका मूर्ति माटोले बनाउने भएकोले यसलाई मैथिल महिलाको मूर्तिकला प्रतिको कौशल प्रदर्शन गर्ने माध्यम पनि भन्ने गरिन्छ।

पद्म पुराणमा उल्लेख भए अनुसार सामाचकेवा पर्व मनाउनुको पछाडी एउटा छुट्टै कथा समेत रहेको छ। श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन्। राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन्। तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झुठा कुराहरु सुनाइदिन्छ।

कृष्णले आफ्नी छोरी श्यामाको सतित्वमाथि शङका गरी चरी बन्ने सराप दिन्छन्। चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रुपमा बृन्दावनमा बस्न थाल्दछन्। यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सवै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबाक्यलाई पुन मनुष्य बनाउन बृन्दावन गई तपस्या गर्न थाल्छन्। श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखी दिनुका साथै सबैले चुगलाको मुख झोस्ने छन् भनी दिएको सरापबाट रिसाएर चूडकले वृन्दावन मै आगो लगाइदिन्छ। आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ। आँधीका कारण एउटा रुख ढल्दा चूडक किचिएर मर्छ। यसपछि भगवान् विष्णु साम्वा प्रति खुसी भई श्यामा र चारुबक्यलाई पुन मनुष्य बनाइदिन्छन्। यसरी सोही दिनदेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता रहि आएको छ।

सामाचकेवा पर्वमा श्यामा र चारुबक्यको चरा रुपमै पूजा गर्ने गरिन्छ। भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ। श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भइ सामा र चकेवा नाम प्रचलित हुन गएको हो।कात्तिक शुक्ल पूर्णिमाका दिन सामा पर्वको विधिवत समापन गरिन्छ। 

प्रकाशित: २८ कार्तिक २०७५ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App