२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सेतोचिनीको अवैध उत्खनन गर्ने १९ जना पक्राउ

डोल्पा– शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जको वन क्षेत्र र सामुदायिक वनहरुमा खिराङ्गलो भनेर चिनिने बहुमूल्य जडिबुटी सेतो चिनीको अबैध उत्खनन गर्ने १९ जना पक्राउ परेका छन्।

सम्बन्धित सामुदायिक वन समिति तथा शे–फोक्सुन्डो निकुञ्जको इजाजत लिएरमात्रै उत्खनन गर्न पाउने व्यवस्था भएपनि इजाजत विनै जिल्लाका रसी, पहाडा, त्रिभुवन, कागमारा, भाङ्का लगायतका क्षेत्रमा अवैैध उत्खनन भैइरहेको पाइएपछि निकुञ्जले उनीहरुलाई नियन्त्रणमा लिएको हो। 

शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा पर्ने कैनमरी वनमा अवैध रुपमा उत्खनन गरिरहेका १९ जनालाई एक क्वीन्टल ५० केजी सेतोचिनी सहित आइतवार निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहित निकुञ्जको गस्ती टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँच बालबालिका, दुई महिला र १२ पुरुष गरेर १९ जना छन्। बालबालिकालाई छाडेर बाँकीको बयान लिने काम भइरहेको निकुञ्जका रेञ्जर अरुण चौधरीले जानकारी दिए।

निकुञ्ज र सामुदायिक वन समितिले प्रभावकारी भुमिका खेल्न नसक्दा सेतोचिनीको अवैध उत्खनन कार्य भइरहेको बताइएको छ।

उच्च हिमाली भु–भागमा पाइने औषधिमुलक जडिबुटीको रुपमा चिनिने खिराङ्लाको राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने गर्दछ।

डोल्पाका वनमा प्रशस्त रुपमा पाइने सेतोचिनी कच्चा  प्रतिकिलो ३० र पकाएर सुकाएको एक हजारमा बिक्री हुन्छ।

प्रकाशित: ११ कार्तिक २०७५ १३:३० आइतबार

सेतोचिनी अवैध_उत्खनन