१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

'गाडी भाडा बढी तिर्नुपरे विभागलार्इ जानकारी गराउनुस्'

काठमाडौं - सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोन मार्फत् सवारी साधनको नम्बर सहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ। सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनले लागू गराउन अानाकानी गर्दै यात्रुबाट बढी भाडा लिने गरेकाे गुनासाे अाएपछि विभागले यस्ताे आह्वान गरेकाे हाे। विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो। भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४ तोकिएको छ। पाँच किमिसम्म रु १६, छ किमिसम्म रु १७, आठ किमिसम्म रु १८, नाैं किमिसम्म रु २६ र ९ किमिभन्दामाथि रु २७ भाडा निर्धारण गरिएको छ। विभागले उपत्यका र स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। तोकिएको भाडादर भन्दा बढी भाडा लिनेलाई अनुगमन गरी कारवाही गरिने उनले बताए।

'अनुगमनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र उपभोक्तावादी सङ्घ संस्थाका प्रतिनिधि रहेको समूह परिचालन गरिनेछ, अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानून बमोजिम कारवाही हुनेछ' प्रवक्ता उपाध्यायले भने। तोकेभन्दा रु एक मात्र बढी भाडा लिए पनि रु पाँच हजार रुपैयाँ जरिवाना गरिने विभागले जनाएको छ। सार्वजनिक यातायातको सुधारमा लाग्नुभएका रामबहादुर थापाले विभागले बढी भाडा लिनेका विरुद्ध निस्सा सहित उजुरी गर्ने व्यवस्था गरेको तर टिकट नदिने भएकाले कारवाहीको कुरा हात्तीको देखाउने दाँतमात्रै भएकाे बताए। “विभागका कर्मचारी यातायात व्यवसायीको प्रभावमा परी भाडा बढाउन मात्र लाग्छन्, सवारी तथा यातायात व्यवस्था ऐन एवं नियमावलीमा भएको प्रावधान अनुसार टिकट दिनुपर्ने कानूनी व्यवस्थालाई कार्यान्वयन गराउन ध्यान दिँदैनन्, विभाग यात्रु भन्दा व्यवसायीका पक्षमा काम गर्छ, परिचालकलाई अनुमति पत्र एवं परिचय पत्र दिनेतर्फ पनि विभागको ध्यान जान सकेको छैन” थापाले भने।

विभागका प्रवक्ता उपाध्याय भने परिचालकले टिकट नदिए पनि सवारी नं सहित विभागको फ्याक्स नं ४४७४९२२, फोन नं ४४७९६९० र info@dotm.gov.np उजुरी गर्न सकिने बताए। यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नं ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिने उपाध्यायले बताए। 
यसैगरी ७७ वटै जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ। प्रहरीको टोल फ्रि नं १०१ र १०३ मा पनि बढी भाडा लिएको, दशैँमा अग्रिम टिकट बुकिङमा कालोबजारी गरेकाे गुनासाहरु मौखिक वा लिखित रुपमा गर्न सकिने जनाइएको छ। यसैगरी नजिकको यातायात व्यवस्था कार्यालयमा समेत यससम्बन्धी उजुरी गर्न सकिनेछ। रासस

प्रकाशित: १५ आश्विन २०७५ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App