१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रचारको अभावमा रारामा रहेका धार्मिकस्थल ओझेलमा

मुगु – रारा ताललाई अधिकांशले धार्मिक तिर्थस्थलका रुपमा मान्ने गरेपनि रारा ताल आसपासमा रहेका विभिन्न धार्मिक स्थलहरू प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेका छन्।

राष्ट्रिय निकुञ्ज घोषणा हुनु पहिले विक्रम संवत २०३२ साल अगाडि रारामा रहेको छापु्र बस्तिका स्थानीयले देवी देवताको पुजा पाठ गर्ने, मठ मन्दिरको संरक्षण गर्ने गरेपनि निकुञ्ज घोषणा भएपछि बस्तिपनि सर्दा देवी देवताका मठ मन्दिर ओझेलमा परेका छन्। रारा ताल आसपासमा ठाकुर ज्यु, दोफे महादेव, रारा महादेव, छाप्रु महादेव, विष्णु महादेव कालिका मालिका, लागुणा लगायत दुई दर्जन बढि देवी देवताका मठ मन्दिर ओझेलमा छन्।

रारा तालको उत्पतीसंगै यि देवी देवतापनि उत्पती भएको भएपनि अहिले प्रचार प्रसार र संरक्षणको अभावमा मन्दिरहरू जीर्ण अवस्थामा रहेको मुर्मा गाउँका स्थानीयवासी विर्खबहादुर रोकायाले जानकारी दिए।  देवी देवताका मठ मन्दिर संरक्षणसंगै उनीहरूको प्रचार र प्रसार गरी मर्मत सम्भार र दैनिक पुजापाठ गर्ने कार्य गरेमा रारामा आउने पर्यटकको रारा बसाइलाई लम्ब्याउन सकिने स्थानीयवासी तथा धार्मिक अगुवा रोकायाले बताए। 

गएको वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली र कर्णाली प्रदेशका मन्त्रीहरूले राराको विकासका लागि तत्काल गुरु योजना निर्माण गर्ने, धार्मिक स्थलको संरक्षण र प्रचार प्रसारमा जोड दिने प्रतिबद्धता जनाएपनि ति सबै भाषणमा नै सिमित हुन पुगेको छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्माका स्थानीयबासी हरिबहादुर रोकायाले बताए। यदि रारा ताल आसपासमा रहेका मठ मन्दिरको संरक्षण, प्राचिन कला शैलीको प्रयोग, नियमित पुजा पाठ गर्न सके पर्यटकका लागि मनोरञ्जन गर्ने अर्को आकर्षण हुन सक्ने उनले बताए। अन्यथा रारा पुग्ने पर्यटकले तालको पानी हेरेर एक दिन बसेर फर्किनुको अरु आकर्षण केही हुन नसक्ने रोकायाको भनाई छ।

स्थानीय सरकारले रारामा रहेका मठ मन्दिर निर्माण पर्यटक घुम्ने र मनोरञ्जन लिने गरि कुनै पनि पूर्वाधार निर्माण गर्दा राष्ट्रिय निकुञ्जका नियमावलीले अवरोध गर्दा समस्या उत्पन्न भइरहेको छायानाथ रारा नगरपालिकाले जनाएको छ। रारामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा राष्ट्रिय निकुञ्ज विभागको स्विकृित लिनुपर्ने कानुनी व्यवस्था छ तर विभागले संरचना निर्माणका लागि स्विकृति भने दिन मान्दैन्।

प्रकाशित: २ आश्विन २०७५ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App