१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल र चीनको सीमा बैठक तक्लाकोटमा सुरु

दार्चुला– नेपाल र चीनका स्थानीय प्रशासन तथा सुरक्षा निकायको बैठक चीनको स्वशासित क्षेत्र तिब्बतको सीमावर्ती सहर तक्लाकोटको अलीमा सुरु भएको छ। चाइना नेपाल पोलिसी कोअपरेशन इन्फरमेशन बैठकमा तिब्बतसंग सीमा जोडिएका नेपालका तर्फबाट दार्चुला र हुम्ला जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता छ।  

शनिबारबाट उत्तरी छिमेकीसंग दुबै देशको सहमति र सहकार्यका विषयमा छलफल गरि दार्चुलाको त्रिदेशीय नाका सञ्चालनका बारेमा सुरक्षा अधिकारीबीच बैठकमा छलफल  सुरु भएको छ। टोलीमा  नेपालका तर्फबाट दार्चुला र हुम्लाका पदाधिकारी गरी ७ जनाको टोली तक्लाकोटको सीमा बैठकमा सहभागी रहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए।

उनका अनुसार शनिवारदेखि सुरु भएको बैठक सोमबारसम्म चल्नेछ। तीन दिने बैठकमा समग्र सीमा क्षेत्रको विकास, आपसी हित र नाका सञ्चालनका बारेमा छलफल भइरहेको छ।

बैठकमा नेपाली पक्षबाट दार्चुलाका डिएसपी नवराज अधिकारी, सशस्त्र डिएसपी भीमबहादुर चन्द, सहायक प्रजिअ शिवराज जोशी र प्रहरी नायव निरीक्षक धनबहादुर खडायत रहेका छन्। हुम्लाबाट प्रमुख जिल्ला अधिकारी  माधव प्रसाद ढुंगाना, डिएसपी रबीन श्रेष्ठ र प्रहरी नायव निरीक्षक विनोद बोहरा सहभागी छन्।

दार्चुला, बझाङ र हुम्लामा रहेको चीनसंगको नाका विस्तारका विषयमा चिनियाँ अधिकारीसंग तक्लाकोटमा छलफल गर्न आयोजित बैठकमा छिटोभन्दा छिटो तिब्बतसँग जोडिएका नाकाहरु विस्तार गर्ने सहमति भएको जनाइएको छ।

प्रकाशित: १० भाद्र २०७५ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App