१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सडकमा चट्टान थुप्रिदा जोखिममा बस्ती

पहिरो खसेपछि सडकमा थुप्रिएको ठूलाठुला चट्टानका कारण अवरुद्ध सडक। तस्बिर : सरिता

धादिङ- बस्तीको माथितिरबाट गाउँमा सडक पुग्दा गजुरी गाउँपालिका –६ राम्चेबासी खुसी भएका थिए। पृथ्वी राजमार्गबाट घण्टौँ धाएर हिड्नपर्ने बाध्यता सडक बनेपछि हटेको थियो तर अहिले त्यो खुसी निराशामा परिणत भएको छ। कच्ची सडकमा पहिरो खस्दा बस्ती नै जोखिममा परेको छ। सडकमा चट्टान थुप्रिएर सवारी आवागमन ठप्प भएको छ भने स्थानीयलाई ओहोरदोहोरमा समस्या भएको छ। 

सडक चौडा पार्न भित्ता खन्नु र वर्षाका कारण पहिरो जाँदा सडकमा चट्टान थुप्रिएको राम्चेका स्थानीय हरि सुवेदीले बताए। ‘सडकमा चट्टान थुप्रिएर सवारी आवागमन नै बन्द भएको छ भने पैदल यात्रुलाई समेत आवत–जावत गर्न कठिन बनेको छ’ सुवेदीले भने, ‘विकास खाजेका थियौँ विनास भइदियो।’ कच्ची सडकमा पहिरो खस्दा सडक मुनी रहेको राम्चे गाउँ नै जोखिममा परेको छ।

लगातारको वर्खाले जिल्लाको ग्रामीण सडक पहिरोले अवरुद्ध बनाएको छ। न सवारी चल्न सकेको छ भने न पैदल हिड्न सक्ने अवस्था नै छैन। बस्तीको जोखिमलाई नहेरी सडक निर्माण गर्दा वर्षाको समयमा पहिरो हेर्दै बस्नु परेको सुवेदीले बताए। ‘बाटो बन्द भएको छ, पैदल यात्रुलाइ पहिरो पार गर्न समेत जोखिम छ’, सुवेदीले भने, ‘पहिरो पार गर्दै गर्दा ढुङ्गा झरेर लाग्छ कि भन्ने पिर छ।’

सडकैभरी थुप्रिएका ठूलाठूला चट्टान न मानिसले नै पहिल्याउन सक्छन् न कुनै साधनले नै। थुप्रिएको चट्टान सडकबाट तल खसाए सिधैँ बस्तीमा पुग्छ। अहिले लगातार वर्षा भइरहेको छ। वर्षाले पहिरो जाने खतरा पनि बढेको छ। लगातारको वर्षापछि गाउँ भन्दा माथिको सडक पहिरिएका कारण गाउँ नै पहिरोको उच्च जोखिममा परेपछी स्थानीयबासीहरु त्रसित बनेका छन् । पहिरोका कारण खसेका ठूला–ठूला चट्टानहरु सडकमा थुप्रिएर आदमघाट किरान्चोक सडक नै बन्द भएको छ भने साना–साना चटनहरु गाउँसम्मै खसेपछि स्थानीयहरु त्रसित भएका छन्।

लगातारको वर्षाले गाउँमा अन्य सवारीसाधन जाने अवस्था पनि छैन। डोजर तथा अन्य कुनै साधनले चट्टान नहटाए बस्तीमा बस्न नसकिने स्थानीय प्रेमबहादुर अधिकारीले बताए। ‘सडकमा खसेर थुप्रिएको चट्टानहरु गाउँमा खस्न ठिक्क अवस्थामा रहेको छ’ अधिकारीले भने, ‘चट्टान खसिहाले भने बस्ती नै सखाप बनाउँछन्।’ बस्ति सखाप बनाउने हो कि भन्ने चिन्ताका कारण स्थानीयहरुले रातको समयमा घरमा बस्न समेत छाडेका छन्।’

साना–साना चट्टानहरु पल्टिएर बस्तीको घरमा समेत पुगेको छ। पहिरो मुनिको १५ घर अत्यन्तै जोखिममा रहेका छन्। २० दिन अघि खसेको पहिरो सडकमै थुप्रिएर बाटो बन्द हुँदा स्थानीय र पैदल यात्रुलाई समस्या भएको छ। कच्ची सडक बनाएपछि यसपालीको बर्खामा सडक माथि रहेका ढुङगाहरु खस्न थालेको स्थानीयले बताए। ‘३ साता अघि त ठूलो पहिरो झरेर ठूला–ठूला चट्टान सडकमा थुप्रिएको छ’, अधिकारीले भने, ‘सडक भन्दा मुनि गाउँ छ, माथीबाट खस्ने क्रम नरोकिए पहिरो अब गाउँसम्मै पुग्छ।’

पहिरो खसेको यतिका दिन भइसक्दा समेत गाउँपालिकाले पहिरो हटाउन कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन्। बाटो बन्द भएपछि आकस्मिक अवस्था आइहालेमा ठूलै समस्या हुने डरैडरमा बसेका छन्। गाउँमा कोही आकस्मिक विरामी भयो, ठूलै विपत आइहाल्यो भने विरामी लैजान समेत बाटोकै कारण थप समस्या थपिने अवस्था छ। स्थानीयबासीले सुरक्षित तरिकाले पहिरो पन्छाइ गाउँलाई जोखिममुक्त बनाइदिन गाउँपालिका गुहारेका छन्।

पहिरोका कारण सडकमा ठूला ठूला चट्टानहरु थुप्रिएको र तलतिर ढुङगा पल्टाउन समेत मानव बस्ती भएकाले पहिरो हटाउन समस्या भइरहेको गजुरी गाउँपालिकाको ६ नम्वर वडा अध्यक्ष अर्जुन बहादुर भुजेलले बताए। ‘लगातार वर्षा नभएका कारण पहिरो हटाउन सकेको छैनौँ’ भुजेलले भने, ‘घाम लाग्न सुरु हुने वित्तिकै ब्रेकर लगाएर ढुङगा फुटाइ सुरक्षित तरिकाले पहिरो हटाउने योजना छ ।’ डोजर मात्रै प्रयोग गरेर तत्काल पहिरो हटाउन सम्भव नभएका कारण अन्य साधनको विकल्प खोजिरहेको भुजेलले बताए। 

लगातारको वर्षाले यस ठाउँमा उत्पादित कृषिजन्य सामाग्री बजारमा ल्याउन समस्या भएको छ। किसानले लगाएका करेला, चिचिन्डा, भेडी लगायतका तरकारी आदमघाट बजारसम्म ल्याउन समस्या भएको छ भने गाउँसम्म खाद्यन्न लैजान समेत समस्या भएको छ । सवारी साधन वारपार हुन नसक्दा घण्टौँ धाएर खाद्यन्न सामग्री गाउँसम्म पुर्‍याएका छन्।

 

 

प्रकाशित: २८ श्रावण २०७५ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App