म्याग्दी- भक्तजनले श्रद्धाका साथ धार्मिकस्थलमा भेटी चढाउँछन्। आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वासका साथ मन्दिरमा चढाउने गरेको भेटीको देशभरका मन्दिरमा कतिको हिसावकिताब राखिन्छ भन्ने विषयमा विवाद र चर्चा हुने गरेको छ। साना–ठूला मन्दिरमा भक्तजनले भेटी नचढाइएको कुनै मन्दिर भेटिन्नन् तर, भेटीको हिसाब पारदर्शीतामा सधै प्रश्न उठ्ने गरेको अवस्थामा म्याग्दीको एक मन्दिरमा भक्तजनले चढाएका भेटी सरोकारवाला निकायको उपस्थितीमा गन्ने गरिन्छ। जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनले चढाएको भेटी कोषका पदाधिकारी, कर्मचारी,स्थानीयबासी र प्रहरीको उपस्थितीमा गन्ने गरिएको हो।
साउन महिनाको पहिलो सोमबार मन्दिरमा सङ्कलन भएको भेटी गन्न करिव ५ घण्टा लागेको क्षेत्र विकास कोषका कार्यालय सचिव राम बहादुर बानियाँले बताए। ‘पूजाआजाको भेलीपल्ट नै भेटी गन्ने गरिन्छ,‘मन्दिरभित्रको सिसि क्यामेराबाट समेत अवलोकन गरिन्छ’ उनले भने। उनका अनुसार मन्दिरमा भक्तजनले चढाएको भेटी मुचुल्का उठाएर गलेश्वर प्रहरी चौकी र चावी कोषमा राखिन्छ । प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारीले हस्ताक्षर गरे लगत्तै भेटी गन्ने गरिन्छ । मन्दिरको भेटी गन्न ४० जनालाई परिचालन गरिएको कोषका सचिव माधवप्रसाद रेग्मीले बताए। ‘हरेक हप्ता भेटीको विवरण सार्वजनिक गरिन्छ,‘भेटीबाटै धेरै पूर्वाधार विस्तार गरिएको छ’ रेग्मीले भने।
उनले धार्मिक क्षेत्रमा संकलन हुने भेटीको सदुपयोगका बारेमा जिल्लाभित्रका साथै देशभरबाट भ्रमणमा आउने मन्दिर ब्यवस्थापन समितिले समेत सिको गर्ने गरेको बताए। उनले भक्तजनको सुरक्षाका साथै मुल मन्दिर, आसपासका क्षेत्रमा रहेका सहायक मन्दिर र धेरै भेटी सङ्कलन हुने स्थानमा सिसी क्यामेरा, कोषका संचालक, कर्मचारीले छड्के अनुगमन समेत गर्ने गरेको बताए । ०५७ साल देखी ६७ सालसम्म मन्दिर ब्यवस्थापन समितिको खातामा ३१ लाख मन्दिरको आम्दानी थियो ।०६७ सालमा रुद्ध बहादुर कार्कीको अध्यक्षतामा नयाँ समितिले मन्दिरको भेटीलाई ब्यवस्थित बनाउन थालेको थियो।
मन्दिर स्थापना देखी ०६७ सालसम्म मुल मन्दिरमा भक्तजनले चढाएको सुन देखी नगदसम्म पुजारीको पहुँच,जलबराह कुण्ड, कालिगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा सहित आसपासका क्षेत्रमा रहेका शालिग्राम सहित हिन्दु धर्मालम्बीले पूजाआजा गर्न ठाउँमा चढाइएको भेटीमा पुजारी देखी सर्वसाधारणले समेत दुरुपयोग गर्ने गरेका थिए। कोषले मन्दिरको भेटीमा पूर्णरुपमा आफ्नो पहुँच पुग्ने गरी मन्दिरका पुजारीलाई तलव सहित खाना बस्ने ब्यवस्था गरिएको छ । त्यस्तै साउन महिनामा अत्याधिक भिड हुने अवस्थामा भत्ता दिएर ल्याइने पुजारीले भेटी लुकाउन थालेपछि भक्तजनको भेषमा कर्मचारी र पदाधिकारीलाई परिचालन गर्ने गरिएको छ। दुईबर्ष अगाडी भेटी लुकाउने दुईजना पुजारीलाई हटाइएको थियो । ‘भेटी गन्नेको अवलोकन गर्न पाइन्छ,‘भक्तजनको दानलाई दुरुपयोग हुन दिएका छैनौ’ क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनले भने । उनका अनुसार हरेक पर्व र मेलामा मन्दिरभित्र सङ्कलन भएका भेटीलाई दुरुपयोग हुन नदिन मन्दिरमा सिसी क्यामेरा जडान गरिएको छ। यसैबीच साउन महिनाको पहिलो सोमबार मन्दिरमा भक्तजनले दुई लाख ८८ हजार २७१ रुपैयाँ भेटी चढाएका छन्। भगवान् शिवको महिना समेत भनेर चिनिने साउन र सोमबारका दिनहरुमा गलेश्वर शिवालयभित्र भक्तजनहरुलाई आर्कषित गर्ने मन्दिर, तामाको बेलपत्र समेत चढाउने गरेकाले साउन महिनाका चारवटा सोमबारमा करिव १० लाखभन्द धेरै भेटी संकलन हुने अनुमान गरिएको छ।
भक्तजनले मन्दिरमा रहेको १०८ शिव लिङमा प्रति भक्तजनले १०८ रुपैयाँ बेलपत्र संगै चढाउने गरिन्छ। मन्दिरमा यसवर्ष म्याग्दी सहित पर्वत, बागलुङ, कास्की, चितवन, स्याङ्जा, नवलपरासी, बाँके, बर्दिया, काठामाडौंलगायत विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरु आएका थिए। सत्ययुगमा सतीदेवीको गला पतन भई गलेश्वर नाम रहन गएको र मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा चिनिएको गलेश्वरमा पछिल्लो समय भक्तजनको भीड बढ्दै गएको बताइएको छ। साउन महिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अविवाहितहरु आफ्नो मनोकामना पुरा होस् भनी चोखो निष्ठा गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पूजा गर्ने गर्दछन्। कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ। गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।
प्रकाशित: ८ श्रावण २०७५ ११:११ मंगलबार