बैतडी – बैतडीको डिलासैनी गाउँपालिका–३, सिमारमा वर्षासँगै आएको बाढीका कारण खेत बगरमा परिणत गर्नुका साथै करिब २२ घरपरिवार जोखिममा छन्।
अविरल वर्षाले खहरेखोलामा आएको बाढी गाउँमा पसेपछि स्थानीय त्रसित बनेका छन्। कलदे खोलासिमार र तल्लो छेपट्टामा गाउँमा बाढी पसेपछि स्थानीय विस्थापित हुने अवस्थामा पुगेका हुन्।
बाढिले खेतमा लगाएको अन्न पुरिएको स्थानीय बताउँछन्। ‘एक्कासि आएको बाढीले खेतीयोग्य जमिन बगाइदियो, त्यो बेला त ज्यान जोगाउनै मुस्किल पर्याे,’ स्थानीय भरत रानाले भने, ‘पानी पर्न थालेपछि अहिले पनि डर लाग्छ। खोलामा आउने बाढीले घर बगाउने चिन्ता स्थानीयले गरेका छन्।
एक्कासि खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पूरै नष्ट गरेको स्थानीय अर्जुन रानाले बताए। उनले भने, ‘कलदे खोलामा आएको बाढी सडकको ह्युम पाइप थुनिँदा गाउँ पस्यो, बाढीले गाउँमा वितण्डा मच्चाएपछि अहिले पनि स्थानीय त्रसित बनेका छन्।’
खोलामा आएको बाढीले एकातिर समस्या निम्त्याएको छ भने छेउमै बग्ने चमेलिया नदीले कटान गर्दै गएको छ। नदी कटानले बर्सेनि समस्या भोग्दै आएका स्थानीय बाढीपहिरो रोकथामको लागि सरोकारवाला निकायले पहल नगरेको गुनासो गर्छन। स्थानीयतहले पनि बाढी रोकथाम गर्न कुनै पहल नगरेको स्थानीयको गुनासो छ। खेतीयोग्य जमिन बगर बनेपछि स्थानीय चिन्तित बनेका छन्।
डिलासैनी मात्रै नभएर जिल्लाका अन्य ठाउँमा पनि बाढीपहिरोको जोखिम बढ्दै गएको छ। स्थानीयतहले जथाभावी डोजर लगाएर सडक काटेपछि जोखिम बढेको हो। जिल्लाका विभिन्न स्थानमा खनिएका कच्ची सडकले बाढीपहिरोको जोखिम बढाएको स्थानीयले बताए।
डिलासैनी गाउँपालिकाको गोकुलेश्वर, रुद्रेश्वर, पुर्चौडी नगरपालिकाको मल्लादेही, मेलौली नगरपालिकाको विशालपुर, दोगडाकेदार गाउँपालिकाको सित्तडलगायत दर्जानौ गाउँ पहिरोको जोखिममा छन्। पहिलेदेखि नै ति क्षेत्र पहिरोको चपेटामा थिए, झन त्यही क्षेत्रमै सडक खनिएपछि पहिरो जाने क्रम बढेको स्थानीय बताउँछन्।
प्रकाशित: ८ श्रावण २०७५ ०८:२५ मंगलबार