१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

श्रीनिवास गोली काण्ड : आचार्य आफैँले गोली हान्न लगाएको खुलासा

गाेली प्रहारबाट घाइते अाचार्य श्रीनिवास उपारकाे क्रममा । फाइल फाेटाे

विराटनगर – धर्मगुरु आचार्य श्रीनिवास गोलीकाण्डमा आचार्य आफैँले नाटक गरी गोली हान्न लगाएको खुलासा भएको छ। 

गत चैत २५ गते विहान १ बजे मोरङको विराटनगर १४स्थित रामजानकी मन्दिर परिसरमा धर्मगुरु आचार्यमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनी विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि हालसालै घर फर्केका थिए।  

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुण बिसीका अनुसार आचार्य आफैँले दुई जनालाई पेस्तोल दिएर आफूमाथि गोली प्रहार गर्न लगाएका थिए।  चितवन भरतपुर ४ बस्ने २९ वर्षीय माधव चौधरी र नवलपरासी गैँडाकोट ५ का ३२ वर्षका सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई गोलीसहितको पेस्तोल दिएर आचार्यले आफैँलाई गोली हान्न लगाएको एसपी बिसीले बताए।

प्रहरीसँगको बयानमा चौधरीले आफूलाई गोली प्रहार गर्न धर्मगुरु आफैँले गोलीसहितको पेस्तोल दिएको र हातमा हान्न निर्देशन दिएको बताएका छन्। चौधरीले हातमा प्रहार गर्न लागेको गोली मिस फायर भएर कोखमा लागेको बताए। ‘५ मिटर टाढाबाट हानेको थिए , मिस फायर भएर कोखनजिकै लाग्यो, धर्मगुरु आफैँले पेस्तोल दिएर हामीलाई गोली हान्न भन्नुभएको थियो’ उनले भने।  

चौधरीको बयान अनुसार आचार्यले हिन्दु राज्य कायम गर्न विभिन्न चरणमा भएको आन्दोलन सार्थक नभएपछि जनता र धर्मगुरुहरूलाई उक्साउन आफूमाथि गोली प्रहारको नाटक रचेका थिए।

श्रीनिवासलाई काठमाडौँ विमानस्थल नजिकैबाट प्रक्राउ गरी विराटनगर लगिएको प्रहरीले जनाएको छ। श्रीनिवासमाथि गोली प्रहार भएपछि देशैभर त्यसको विरोधमा विभिन्न प्रदर्शन भएको थियो।  

प्रकाशित: २४ वैशाख २०७५ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App