१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नौकुण्डमा ४५ किलोमिटर सडक निर्माण

नौकुण्ड गाउँपालिकाको सरमथलीमा निर्माण गरिएको नयाँ सडक। तस्बिरः नागरिक

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकामा एक वर्षमा करिब ४५ किलोमिटर सडक निर्माण गरिएको छ। सडकमार्गको पहुँचबाट टाढा रहेका यार्सा, सरमथली लगायतका क्षेत्रमा सडक निर्माण गरिएको हो। गाउँपालिकाको करिब २ करोड २३ लाखको लागतमा सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नुर्वुसाङ्बो घलेले बताए।

‘निर्वाचनमा मतदाता समक्ष गाउँमा पूर्वाधारको विकास गर्ने बाचा गरेका थियौँ, अध्यक्ष घलेले भने, हामी निर्वाचित भएर आइसकेपछि सडकलाई पहिलो प्राथमिकता दिएका हौँ।’ एक वर्षमा गाउँपालिकाको ६ वटै वडामा सडक पुर्याइएको छ।

सडक निर्माण भएसँगै गाउँपालिकामा आवतजावत गर्न र सामग्री ओसारपसार गर्ने सहज भएको छ। भूकम्पले भत्किएको घर पुनर्निर्माणमा जुटेका भूकम्पपीडितले निर्माण सामग्री गाडीमा ओर्सान पाउँदा राहत महसुस गरेका छन्। गाउँपालिकाको विभिन्न स्थानमा पसलहरू खुलेका छन्।

गाउँमा सडक नपुग्दासम्म जिल्लाको कालिकास्थानदेखि करिब ६ घण्टाको बाटो हिँडेर सामग्री लैजानु पर्ने बाध्यता थियो, यार्साका आसिस तामाङले भने, अहिले गाडीबाट सामग्री आँगनमा नै ल्याउन पाएका छौँ।’

सडक निर्माण भएपछि त्रिशुलीबाट निर्माण सामग्री ल्याएर ढलान घर निर्माण गरेको यार्साका बुद्धिबहादुर तामाङले बताए। ‘भूकम्प जानुभन्दा पहिले कच्ची घर निर्माण गरेका थियौँ, भूकम्पपीडित तामाङले भने, अहिले आफूले चाहे अनुसार ढलानघर निर्माण गर्न पाएका छौँ।’

गाउँपालिकामा नयाँ सडक निर्माण गर्नुको साथै करिब ५० किलोमिटर सडक स्तरोन्नती गरिएको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन्।

‘नौकुण्डलाई आगामी चार वर्षमा नमुना गाउँपालिका बनाउनका लागि हामी लागिरहेका छौँ, उपाध्यक्ष लामाले भनिन्, नौकुण्डको आवश्यकता अनुसार सडक, विद्युत, खानेपानी हरेक गाउँमा पुर्याउँछौँ ।’ गाउँपालिकामा तीन हजार भन्दा बढी घरधुरी रहेका छन्।

प्रकाशित: २० वैशाख २०७५ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App