१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बिना इजाजत च्याउझैँ उम्रिए बोर्डिङ स्कूल

रौतहट– रौतहटमा बिना इजाजत धमाधम नयाँ बोर्डिङहरु संचालनमा आएका छन्। यसै शैक्षिक सत्रदेखि संचालनमा आएका बोर्डिङहरुले कक्षा ८ सम्म एकैचोटी भर्ना लिएका छन्। रौतहटको सदरमुकाम गौर, गरुडा र चन्द्रपुर लगायत मुख्य सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रका बजारहरुमा पनि दर्जनौं बोर्डिङ थपिएका छन्। कक्षा १ संचालनको लागि स्थानीय नगरपालिकामा अनुमतिको लागि आवेदन गरेका संचालकहरुले आकर्षक विज्ञापन गरेर कक्षा ८ सम्मको विद्यार्थी संकलन गरेर विद्यालय संचालन गरेका छन्।

तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा संचालन गर्नेको संख्या दुई दर्जनभन्दा बढी विद्यालयहरु देखिएका छन्। स्थानीय पालिकाहरुको अनुगमनको अभावमा आवश्यकताभन्दा निकै बोर्डिङ बजार क्षेत्रमा खुलेको पाइएको छ। आवश्यकताभन्दा निकै बढी विद्यालय खुल्दा पनि अनुगमन गर्ने निकाय मौन रहनाले एकातिर अनुमतिभन्दा बढी कक्षा संचालन गर्न संचालकहरु हौसिएका छन् भने अर्कोतिर अवैध तरिकाले खुलेका बोर्डिङमा अभिभावकहरु ठगिएका छन्।

नेपाल सरकारको अनुमति नै नलिएर बिना दर्ता खोलिएका नयाँ विद्यालयहरुले अभिभावकलाई झुक्याउदै भर्ना अभियान चलाएका छन्। यस वर्ष मात्रै खोलिएका एक दर्जनभन्दा बढी बोर्डिङ स्कूलले अनुमति नै नलिएका कक्षामा समेत विद्यार्थी भर्ना लिई रहेका छन्।

गत वर्षदेखि गौरमा संचालनमा रहेको सगरमाथा बोर्डिङ स्कूल र न्यू होप, क्याम्स, गुरुकुल बोर्डिङ स्कूलसँग कक्षा एकसम्मको मात्र अनुमति भए पनि ती विद्यालयले अभिभावकलाई ठग्दै ८ कक्षासम्म संचालन गरिरहेका छन्। यसै वर्षदेखि गौरमा संचालनमा आएका ग्यालेक्सी, रौतहट बाल एकेडमी, लक्की, न्यू गोरेटो बोर्डिङ स्कूलले पनि भ्रामक प्रचार प्रसार गर्दै नर्सरीदेखि ८ र १० कक्षासम्मको भर्ना खोलेको सार्वजनिक रुपमै पोस्टर टासेका छन्। 

शिक्षा ऐनअनुसार नयाँ विद्यालयले पहिलो वर्ष कक्षा एकको मात्रै अनुमति पाउने र त्यसपछि प्रत्येक वर्ष विद्यालयको भौतिक पूर्वाधार लगायतका मापदण्डहरु पूरा गरेको पाएमा एक तह थप गर्दै जाने प्रावधान छ। यसरी अनुमति नै नपाएका र १ कक्षासम्मको मात्रै अनुमति पाएका विद्यालयले सोभन्दा माथिको कक्षामा विद्यार्थी भर्ना गरिरहँदा गौर नगरपालिका पनि बोलेको छ।

सरकारी नियमलाई लत्याउँदै सिधै अभिभावक ठगि रहेका विद्यालयहरुको बारेमा गुनासो बढेपछि गौर नगरपालिकाको सार्वजनिक सूचना नै जारी गर्दै अभिभावक ठग्ने काम तत्काल बन्द गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ। शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ विपरित अवैध रुपमा सञ्चालनमा रहेका यस्ता विद्यालयलाई तत्काल कारवाही गरिने गौर नगरपालिका कार्यालयका प्रमुख अजय गुप्ताले बताए। ‘अनुमति नै नभएका कक्षाहरु संचालन गरेको पाइएमा त्यस्ता विद्यालय खारेज गर्ने प्रावधान छ’, नगर प्रमुख गुप्ताले भने, ‘गौर नगरपालिकाको शिक्षा ऐन राजपत्रमा प्रकाशित गर्दैछौं। भ्रामक विज्ञापनका भरमा अभिभावकलाई झुक्याउने, दर्ता नभएका विद्यालय र अनुमति नभएका कक्षा संचालन गर्नैहरु कारवाहीमा पर्छन।’

आफू खुशी विद्यालयको स्तर वृद्धि गर्ने र एउटा विद्यालयमा पढाएर अर्को विद्यालयको सर्टिफिकेट समेत दिने गरेको भेटिएकोले गैरकानूनी बोर्डिङ स्कूलको निगरानी बढाएको उनले बताए। 

गौर नगरपालिका शिक्षा शाखाका प्रमुख नन्दकिशोर गुप्ताले पनि निजी विद्यालयहरुको अनुगमन भइरहेको र नयाँ विद्यालयहरुले गरि रहेको बदमासीका विषयमा प्रतिवेदन तयार भएको बताएका छन्। ‘हामीले नियमित रुपमा अनुगमनको काम शुरु गरेका छौं। अनुमति नै नभएको कक्षामा विद्यार्थी भर्ना गरेर अभिभाव ठगी रहेका बोर्डिङ स्कूलहरु कारवाहीमा पर्छन।’ दर्ता भएका कतिपय विद्यालयले समेत आफू खुशी विद्यालयको कक्षा थप गरेर संचालनमा ल्याएको समेत फेला परेको छ।

रौतहट जिल्ला भरी नै अवैध रुपमा दर्ता नै नभएर संचालमा आएका निजी विद्यालयहरुले विद्यार्थीको भविष्य र अभिभावको रकम समेत ठगिरहेका छन्। नियमनकारी निकायहरु सुस्त हुँदा र कारवाही नहुँदा प्रत्येक वर्ष दर्ता नभएका नयाँ विद्यालय संचालनमा आउने क्रम रोकिएको छैन्।

स्थानीय सरकारको नजिक रहेका मानिसहरुले पनि नयाँ बोर्डिङ खोलेर एकैचोटी माथिसम्मको विद्यार्थी तानिरहेको भए पनि सम्बन्धित निकाय मौन छ।

प्रकाशित: १९ वैशाख २०७५ १५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App