२ चैत्र २०८१ शनिबार
image/svg+xml ६:१० पूर्वाह्न
समाज

हिउँ परेपछि जुम्लाका किसान उत्साहित

लामो समयदेखि खडेरीको मार खेप्दै आएका जुम्लाका किसान हिउँ परेपछि खुसी छन्। हिउँ परेसँगै उनीहरू नियमित खेती कर्म तिर लागेका हुन्। माघ महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली राम्रो हुनेमा किसान विश्वस्त छन्।

बिहीबार दिउँसोदेखि परेको हिउँले किसानमा खुसी छाएको छ। खडेरीले सुकेको हिउँदे बालीमा राहत पुग्ने भएपछि  किसानहरू खुसी भएका हुन्। विशेष गरी अहिले खेतबारीमा लगाएको जौ, गहुँ र उवा बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो हुने सिञ्जा-६ का किसान दलबहादुर बुढाले बताए।

माघ महिनाको वर्षा र हिमपातले खेतीपाती र बालीमा राम्रो हुने उनी बताउँछन्। सुख्खा जमिनमा छरिएको जौ, गहुँ र उवा राम्रोसँग उम्रिने, विषेशगरी उम्रेको बाली नष्ट गर्ने पठ्याङ्ग्रा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने कृषकहरू बताउँछन्।

स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले व्यावसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन्। उनीहरू हिमपातको पानी  पोखरीमा सङ्कलन गर्न आतुर छन्। उच्च लेकाली क्षेत्रका किसान हिउँका डल्ला बोकेर पोखरीमा जम्मा गर्ने गर्दछन्।

यो समय जुम्लामा खाडल खन्ने, स्याउ र ओखर रोप्नका लागि पनि उपयुक्त समय हो। समयमै हिमपात र वर्षा भएकाले बारी बाँझो राख्नुभन्दा स्याउ र ओखर लगाउने तयारी किसानहरूले गरिरहेका छन्। हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरूमा पनि कमी आउने जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम अधिकारी बताउँछन्।

प्रकाशित: ४ माघ २०८१ १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App