३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

न्यूयोर्क टाइम्सको घुम्नैपर्ने गन्तव्य सूचीको शीर्ष १० मा पर्‍यो लुम्बिनी

विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले शीर्ष १०औँ गन्तव्यमा राखेको छ। पत्रिकाले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको हो। 

हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताउँछन्। 

नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उनले यस गौरवलाई जोगाइ राख्नुपर्नेमा जोड दिएका छन्। कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए। यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ। 

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ।  धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यसकार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीले पनि विश्वास गरेका छन्। 

लुम्बिनीलाई द न्यू योर्क टाइम्सको २०२५ को यात्रा गन्तव्य सूचीमा यसको ऐतिहासिक र आध्यात्मिक महत्त्वका कारण विशेष स्थानको रूपमा वर्णन गरिएको छ। यसलाई बुद्धको जन्मस्थल भएको रुपमा पनि उल्लेख गरिएको छ। लुम्बिनी विश्वको सबैभन्दा महत्त्वपूर्ण पवित्र स्थलहरू मध्ये एक हो, जहाँ बौद्ध र ऐतिहासिक महत्त्वका धेरै स्मारकहरू छन्।

प्रकाशित: २८ पुस २०८१ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App