४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

एफविन अध्यक्ष ज्ञवाली र मेलबर्न नगर प्रमुखबीच भेटवार्ता

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली र मारिबर्नोङ नगरपालिकाका मेयर प्रदीप तिवारीबिच भेटवार्ता भएको छ।

अस्ट्रेलियामा हालै सम्पन्न ‘मेड इन नेपाल एक्स्पो २०२४’ को सफलतामाथि दुवैबीच छलफल भएको महासङ्घले जनाएको छ।

अध्यक्ष ज्ञवालीलाई मेलबर्न भ्रमणका क्रममा मेयर तिवारीले मध्याह्न भोजनसहितको निम्तो दिएका थिए। महासङ्घका अनुसार करिब दुई घण्टासम्म चलेको यस भेटमा ‘मेड इन नेपाल एक्स्पो’ को योगदान र यसको प्रभावबारे गहन चर्चा भएको थियो।

मेयर तिवारीले नेपाली हस्तकला, संस्कृति र शिल्पकला प्रदर्शनले मेलबर्नमा बसोबास गर्ने नेपाली समुदाय मात्र नभई, विदेशीहरूलाई पनि नेपालप्रति आकर्षित गरेको बताए।

‘तपाईंहरूको प्रयासले यहाँको समुदायलाई नेपाल नजिक ल्याएको छ,’ तिवारीले भने, ‘यस्ता प्रदर्शनीले नेपाली उत्पादनको विश्व बजारमा सम्भावना बढाउन मद्दत पुर्‍याउँछ।’

भेटमा अध्यक्ष ज्ञवालीले आगामी वर्षहरूमा अस्ट्रेलियामा अझ ठूलो कार्यक्रम गर्ने योजना रहेको सुनाएकी थिइन्। जवाफमा मेयर तिवारीले मेलबर्न नगरपालिकाले यस्ता पहललाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाए।

‘यस भेटले नेपालका उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न नयाँ सम्भावना देखाएको छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘स्थानीय नेतृत्वको साथ पाउँदा हामी अझ प्रेरित भएका छौं।’

भेटघाटले नेपालप्रति सकारात्मक धारणा निर्माण गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा अघि बढाउन नयाँ बाटो खोलिदिएको महसुस भएको महासङ्घले जनाएको छ।

प्रकाशित: ३ पुस २०८१ १८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App