२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दसैंमा गाउँ फर्किनेको संख्या गतवर्षभन्दा आधाले घट्यो

अहिलेसम्म ५ लाखले काठमाडौं छाडे

बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएपछि दसैंमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दसैंका लागि काठमाडौं छाडेका छन्। 

पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिए । यही क्रम जारी रहने हो भने आगामी तीन दिनमा थप तीन लाखले राजधानी छाड्ने अनुमान छ।

गत वर्ष यही अवधीमा १० लाख बढीले राजधानी छाडेका थिए । काठमाडौं जोड्ने अधिकांस राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि पर्वका बेला गाँउ जानेहरुको संख्यामा कमी भएको हो । अरनिको राजमार्ग, वीपी राजमार्गमा भने अहिलेसम्म यातायातका साधन चल्न नसकेको कार्कीले बताए। 

कार्कीका अनुसार मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौं र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा वैकल्पिक मार्ग भने यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने गत बुधबारदेखि नै सञ्चालनमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथमा पनि दोहोरो आवागमनमा सवारी साधन चलिरहेका छन् ।  

यसैबीच ट्राफिक कार्यालयले बाटोको अवस्था हेरेर सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

प्रकाशित: २२ आश्विन २०८१ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App