१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कारागारभित्र फस्टाउँदै व्यवसाय

जिल्ला कारागार शाखा दिक्तेलमा ढाका बुन्दै कैदी। तस्बिर : दमन/नागरिक

खोटाङ – जिल्ला कारागार शाखा खोटाङका कैदीबन्दीले ढाका टोपीका लागि कपडा बुन्ने व्यवसाय अपनाएर राम्रो आम्दानी गरिरहेका छन्। विभिन्न मुद्दामा दोषी ठहर भई जेल जीवन बिताइरहेका उनीहरूले टोपी बनाउने कपडा बुनाइबाट राम्रो आम्दानी गर्न सफल भएका हुन्।

प्रतिवटा ३ सयदेखि ५ सय मूल्य पर्ने ढाका टोपी बनाउने कपडा बिक्रीबाट प्रतिव्यक्ति मासिक दुईदेखि तीन हजार रुपैयाँ बचत हुने गरेको कैदी सरोज राईले बताए। कारागारभित्र उत्पादन भएका ढाका कपडा खरिद गर्नका लागि कारागारमै ग्राहक आउने गरेका छन्। ढाका टोपी बनाउने कपडा उत्पादनका लागि कारागार चर्चित बनेको छ। कारागार दिक्तेल प्रवेश गर्ने बाटैमा भएकाले पनि अधिकांश ढाकाटोपीका पारखीले कैदीले बुनेको ढाका कपडा किन्ने गरेका छन्। कारागारबाटै बिक्री नभएका ढाका कपडा बिक्रीका लागि बजार व्यवस्थापन गरिदिने गरिएको जिल्ला कारागार शाखाका प्रमुख चित्राखर आचार्यले बताए। ‘धेरैजसो ढाका कपडा कारागारबाटै बिक्री हुन्छ,’ उनले भने, ‘बिक्री नभएका कपडा बिक्रीका लागि बजारमा पु-याइदिने गरेका छौं।’

हाल जेल जीवन बिताइरहेका ३० कैदीले धागो खरिद गरेर ढाका टोपी बनाउने कपडा बुन्दै आएका छन्। ढाका टोपी बुन्ने कैदीका लागि कारागारभित्रै ३५ थान तान राखिएको छ। एकै कैदीले महिनामा कम्तीमा पाँचवटादेखि बढीमा ९ वटासम्म ढाकाको थान तयार पार्ने गरेका छन् । अधिकांश कैदी दिनभर तानमा ढाका बुन्न व्यस्त रहन्छन्। कैदीबन्दीको व्यावसायिक विकासका लागि कतिपय संघसंस्थाले ढाका बुन्ने तान प्रदान गर्दैआएका छन्।

बसेरै दिन बिताउनुको सट्टा कैदीबन्दी ढाका बुन्ने र मुढा बनाउनेलगायतका काममा व्यस्त बन्ने गरेका छन्। कारागार पस्दा केही समय निराश भएर बस्ने कैदीबन्दी विस्तारै व्यावसायिक काममा लाग्ने गरेका छन्। लामो समयका लागि जेल सजाय सुनाइएका कैदी ढाका कपडा बुनाइ र मुढा बनाउने काममा अझ बढी लागेको पाइएको छ।

जिल्ला कारागार शाखा दिक्तेलका तीन कैदीले कारागारभित्रै मुढा उद्योग सञ्चालन गरिरहेका छन्। कैदी सरोज राई, जय गिरी र होम विश्वकर्माले बाँसबाहेक अन्य कच्चा पदार्थ तराईबाटै मगाएर मुढा उत्पादन गर्दैआएका छन्। सिन्का र चोया बनाउने स्थानीय बाँसको प्रयोग भए पनि टायर र धागो तराईबाट ल्याउने गरिएको कैदी सरोजले बताए। ‘मुढाका लागि बाँस यही खरिद गर्छौं,’ उनले भने, ‘टायर र धागो तराईबाट मगाउने गरेका छौं।’ कारागारभित्र उत्पादन भएको मुढा प्रतिवटा ४ सयदेखि ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ। डबल बेडको मुढा प्रतिवटा ६ सयमा बिक्री हुने गरेको उनीहरू बताउँछन्। मुढा बनाउने व्यवसायमा कारागारभित्रै ८/१० जना कैदीले काम पाएका छन्। मुढाका लागि कोही बाँसको सिन्को खिपिरहेका हुन्छन्, कोही टायर सिउँदै गरेका हुन्छन्, कोही बेड कसिरहेका हुन्छन्।

कारागारका कैदीले व्यावसायिक रूपमा बाँसका सामानसमेत बनाउने तयारी गरिरहेका छन्।

प्रकाशित: २२ चैत्र २०७४ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App