६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीमा लगातारको वर्षाले चार घर भत्किए

बिहीबार देखिको लगातारको वर्षाले कैलालीको गोदावरीमा चार घर भत्किएका छन्। शुक्रबार लगातारको वर्षाले गोदावरी नगरपालिका- १  र ११ मा ४ घर भत्किएका हुन्।

लगातारको वर्षाका कारण गोदावरी नगरपालिका- १ वसन्तपुरको आदर्श टोलकी कलावती भट्टको घर भत्किएको वडा सदस्य गम्बिर साउँदले बताएका छन्। घर भत्किएपछि उनलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।

यस्तै लगातारको वर्षाले गोदावरी नगरपालिका-११ गणेश मन्दिरमा रहेको नवराज पनेरुको घर भत्किएको छ। टिन र  ढुङ्गाले बनेको कच्ची घरको दिवाल भत्किएपछि उनलाई आफन्त लाल मणी पनेरुको घरमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यस्तै वडा नम्बर ११ गणेश टोलका देवराज ढोली र जोगी दमाइको घर पनि लगातारको वर्षाले भत्किएको छ। घर भत्किएपछि देवराजको परिवारलाई आफन्त राधिका ढोली र जोगीको परिवारलाई आफन्त मधुरा दमाइको घरमा सारिएको प्रशासनले जनाएको छ।

प्रकाशित: २९ भाद्र २०८१ ०७:११ शनिबार

#Kailali #Godawari