४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाली सेनाको बाजागाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

बडिमालिका डोली पठाउन आएका जुम्ली धर्मावलम्बी । गोल्डेन बुढा / नागरिक

बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान गरेको हो। 

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्याय लगायतको सरकारी टोली बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय अगाडी रहेको दरबार मालिका मन्दिरमा झोलीको पूजा गरेर यात्रा सुरु भएको थियो ।

दिउँसो १ बजे जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतको सरकारी उच्च अधिकारीहरूले टोलीको बिदाइ गरेका थिए ।   नेपाली सेनाको एक टुकडीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरवार मालिकाको सलामी अर्पण गरेपछि टोली अघि बढेको थियो ।  जिल्ला प्रहरी कार्यालय भित्र रहेको बडिमालिका माईको मन्दिरमा पूजाआजा पछिको  अन्तिम सलामी अर्पण गरेर  टोली प्रस्थान गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

नाग पञ्चमीका दिनमा बडिमालिका तर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोली त्यस तर्फ प्रस्थान गरेको स्थानीय चित्रलाल श्रेष्ठले जानकारी दिए । सरकारी टोली १८ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पूजा आजा गरेर जुम्ला सदरमुकाम खलङ्गामै फर्कन्छ । परम्परा देखि अञ्चलाधीश कार्यालयको मातहमा चालिआएको पूजाआजा अहिले जिल्ला प्रशासन कार्यालयको मातहमा चलिरहेको छ।

बडिमालिका माईको पूजा आजा गरेमा मनको इच्छा पुरा हुने धार्मिक विश्वास रही आएको छ ।  तत्कालीन बडा हाकिमको नेतृत्वमा बडिमालिका जाने चलन रहे पनि हाल जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि पठाउने गरेको छ। शुक्रवार प्रस्थान गरेको टोली कृष्ण जन्माष्टमीको अघिल्लो दिनमा फर्किने गरेको छ। टोली फर्किएको भोलिपल्ट लाख्य काट्ने चलन छ ।  स्थानीयले  आफ्नो मनको इच्छा पुरा हुने आसमा ध्वजा, अक्षता नासो पठाएका छन् ।  जुम्लाबाट लिएको अक्षता, फूलपाती बडिमालिकामा लिएर चढाइन्छ ।

शुक्रवार मध्यान्ह हिँडेको टोलीको पहिलो बास तातोपानीमा हुन्छ । नेपाली सेनाको देवीदत्त गणबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयबाट आएको टोली र सशस्त्र प्रहरी बलको टोलीले  बाजागाजा सहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई ब्यान्ड बाजा, डोल बजाएर बिगुल फुकेका थिए । हरेक वर्ष भगवतीको लागी सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर पठाइने गरिन्छ।

बडिमालिकाको डोली पठाउनको लागि गाउँ‘गाउँ‘बाट दर्शनालुहरु खलङ्गामा आएका थिए । यो सँगै यो वर्षको जात्रा औपचारिक रुपमा सुरु भएको छ । डोली ल्याएर फर्कँदा खस भाषाको केन्द्र विन्दुमा रहेको जुम्ला सिजाको कनकासुन्दरी मन्दिरमा पूजाआजा गरेर फर्कने परम्परा छ ।

बडिमालिकाको डोली पठाउन हजारौँ जुम्ला बासी सदरमुकाम खलङ्गामा जमघट भएका थिए । 

प्रकाशित: २५ श्रावण २०८१ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App