४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँमा सुक्खाटारबाहेक अधिकांश ठाउँमा रोपाइँ सकियो

साउनको तेस्रो सातासम्म तनहुँका अधिकांश ठाउँमा धान रोपाइँ सकिएको छ । सुक्खाटारबाहेकका अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार हालसम्म ९६ दशमलव दुई प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । उनले हालसम्म सात हजार छ सय ७४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको जानकारी दिए ।

सिँचाइ सुविधा पुगेका अधिकांश ठाउँमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नपुगेका केही ठाउँमा रोपाइँ हुन बाँकी रहेको उनको भनाइ छ । आकाशे पानीको भरपर्नुपर्ने ठाउँमा भने रोपाइँ हुन केही समय लाग्ने उनले उल्लेख गरे । परियारले भने, ‘आकाशे पानीको भरपर्नुपर्ने ठाउँमा रोपाइँ ढिला हुन्छ । कुलो र नहरबाट पानीको व्यवस्था भएका ठाउँमा रोपाइँमा सहजता हुन्छ ।’

कृषि ज्ञान केन्द्रका केन्द्रका अनुसार जिल्लाका करिब आठ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायतका धानखेती हुने गरेको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिकटन बर्खे र सात हजार नौ सय ३८ मेट्रिकटन चैते धान उत्पादन भएको थियो ।

तनहुँ जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन्। तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । यस्तै ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । झण्डै १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिचाइँको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ । रासस

प्रकाशित: २० श्रावण २०८१ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App