१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मेयरले खोसे ठेकेदारको चाबी

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीको चाबी खोसेको छ। मध्यपहाडी लोकमार्गको हलेसी–दिक्तेल सडक खण्ड अन्तरगत बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल खण्डको कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीको दुई वटा जेसिभी र एक वटा एस्काभेटरको चाबी खोसेको हो।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नवलपुर जाने सडक आसपासबाट मापदण्ड विपरित ढुंगा गिटी उत्खनन गरेकाले बिहिबार ठेकेदारको मेसिनको उपकरण खोसिएको मेयर इवन राईले बताए। एस्काभेटर र जेसिभीको चाबी प्रहरीचौकी अर्खौलेलाई बुझाइएको छ।

प्राकृतिक अवस्थिति तथा स्थानीय सामुदायिक बनलाई समेत असर पुग्नेगरी गिटी ढुंगा उत्खनन् गरेको पाइएकाले रोक लगाइएको नगरपालिकाले जनाएको छ। यसअघि तीन पटक गरिएको आग्रहलाई बेवास्ता गर्दै ढुंगा गिटी निकाली रहेकाले ठेकेदारको चाबी खोस्नु परेको मेयर राईले बताए। ‘ठेकेदारको लापरबाहीको जवाफदेही हामीले बन्नुपर्छ। त्यही भएर सहकार्य र समन्वय नगरी एउटा गिटी पनि ननिकाल्नुस् भनेका थियौँ,’ मेयर राईले भने, ‘हामी त्याहाँ बसुञ्जेल ढुंगा झिक्न छोड्ने र रहिँडेपछि पुःन उत्खनन् जारी राख्ने गरेको पाइएकाले चाबी नियन्त्रणमा लिनु परेको हो।’

नगरपालिकाको खानी तथा श्रोत परिचालन समितिले तयार पारेको मापदण्ड पूरा नगरी नगरभित्रका गिटी तथा ढुंगा उत्खनन् नगर्न चेतावनी दिएको छ। नगरपालिकाले किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुम क्षेत्रको ढुंगा नझिक्नका लागि समेत ठेकेदारलाई सचेत गराएको छ। मध्यपहाडीकै हलेसी–बिजुले खण्ड कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनी लुम्बिनी कन्काई सुर्य जेभीले सडक फराकिलो पार्ने नाममा तुवाचुङ–जायाजुमडाँडामुनिबाट प्राकृतिक श्रोतको दोहन गरेको भन्दै नगरपालिकाले तुवाचुङ जायाजुमलाई अशर नपुग्नेगरी सडक स्नरोन्नतीका काम गर्न भनेको हो।

प्रकाशित: १५ चैत्र २०७४ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App