२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

विराटनगरले किन्यो मोटरबाेट

मोटरबोट परीक्षणका क्रममा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीहरू मोटरबोटमा सवार।

विराटनगर महानगरपालिकाले बाढी र डुबानमा फसेका नागरिकहरूको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ९ लाख ७५ हजार रुपैयाँको मोटरबोट किनेको छ।

मंगलबार नगर प्रहरीले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर पहिलो परीक्षण गरेकाे छ।

यस मोटरबोटले वर्षाको समयमा बाढी र डुबानबाट प्रभावित नागरिकको उद्धारमा ठूलो भूमिका खेल्ने मेयर कोइरालाले बताए।  “इन्जिन जडान नगरी पनि यो बोट सञ्चालन गर्न सकिन्छ,” मेयर कोइरालाले भने।

सिंघिया र केशलिया खोलाको बाढीले प्रत्येक वर्ष स्थानीयलाई डुबानको समस्या सिर्जना गरिरहेको बेला यो मोटरबोटको आगमन एक महत्त्वपूर्ण कदमका रुपमा हेरिएको छ। यसअघि महानगरसँग केवल रबरबोट मात्र थियो, जसले गर्दा उद्धारमा कठिनाइ हुँदै आएको थियो।

मोटरबोटको खरिदसँगै अब बाढी र डुबानमा फसेका महानगरवासीलाई तत्कालै उद्धार गर्न सजिलो हुने नगर प्रहरी निरीक्षक राजन पौडेलले बताए।

यसअघि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायबाट मोटरबोट मगाउनुपर्ने बाध्यता थियो। नगर प्रहरी निरीक्षक पौडेलले भने, "मोटरबोट कम्पनीले मोटरबोट सञ्चालनको सम्पूर्ण जानकारी नगर प्रहरीलाई दिनेछ र त्यसपछि हामी आफैं मोटरबोट जडान र सञ्चालन गर्नेछौं।"

चार जना नगर प्रहरीले बाढी र डुबानमा परेका नागरिकलाई मोटरबोटबाट उद्धार गर्न विशेष तालिमसमेत लिइसकेका छन्। यो नयाँ मोटरबोटले उद्धार कार्यलाई तीव्रता दिने विश्वास गरिएको छ।

प्रकाशित: १ श्रावण २०८१ १९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App