३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

चार दिनमा पनि भेटिएनन् ४८ यात्रु, आज पनि खोजी जारी

मनसुन सुरु हुन लागेलगत्तै सरकार विपद् व्यवस्थापनको तयारी भएको प्रचार गर्छ। तत्कालीन गृहमन्त्री रवि लामिछानेले सदनमै उभिएर भनेका थिए, ‘गृह मन्त्रालयका सम्पूर्ण निकाय आउँदै गरेको मनसुनबाट हुने क्षति न्यूनीकरण र त्यसको प्रतिकार्यका लागि एक महिना अघिदेखि नै तयारी अवस्थामा छन्।’ तर विपद् उद्धार कार्यमा भने सरकारको कमजोर उपस्थिति देखिँदै आएको छ। चार दिनपहिले त्रिशूलीमा खसेका दुईवटा बसको अत्तोपत्तो छैन। ती बसका अधिकांश यात्रु बेपत्ता छन्।

सुरक्षा निकायका विभिन्न अंगले प्रयास नगरेका भने होइनन्। सशस्त्र प्रहरी बलको कुरिनटारस्थित बेस क्याम्पका विपद् उद्धारका सबैभन्दा दक्ष ९० सहित १६७ जनाभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनाले पनि उत्तिकै संख्यामा उद्धारकर्मी परिचालन गरेको छ। तर निरन्तरको वर्षा र नदीमा बढ्दो पानीको बहावले खोजीमा कठिनाइ भइरहेको छ।

सशस्त्र प्रहरीले शनिबार मात्रै पानीभित्र हराएका सामान हेर्न मिल्ने वाटर ड्रोनको प्रयोग गर्‍यो। त्यस्तै पानीमै स्क्यान गर्ने सोनार, पाइप इन्फेक्सनजस्ता भएका सबै प्रविधिको प्रयोग भइसकेको छ।सशस्त्रका ११ जना गोताखोर टोली त्रिशूलीमै परिचालन गर्दा पनि पत्तो लागेको छैन। सुरक्षाकर्मीका अनुसार पानीमा मिसिएको लेदो तथा जुगेडी तथा काली खोला क्षेत्र साँघुरो र अत्यन्तै गहिरो हुँदा बस पत्ता नलागेको हो। बस र यात्रुको खोजीमा इकोसाउन्डर उपकरणसमेत प्रयोग गरिएको छ। त्यसले पानीमा तीन सय मिटरसम्म हेर्न मिल्ने बताइएको छ। तर, स्रोतसाधनको अभावका कारण खोज्न कठिन भएको चितवनका साहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुषाल बताउँछन्।

‘नेपालमा भएको स्रोतसाधन र तालिमप्राप्त जनशक्ति लाग्दा पनि यति ठूला दुई/दुईवटा बस भेट्टाउन सकिएन,’ सहायक प्रजिअ भूषालले भने, ‘हाम्रो जस्तो भूगोल र नदीनालामा बस खोज्ने प्रविधिमा हामी कमजोर रहेको पुष्टि भयो।’ सशस्त्र प्रहरी बल १७ नम्बर गणका प्रहरी उपरीक्षक राजेश खरेल नेपालमा उद्धार कार्यका लागि आधुनिक डिभाइसको आवश्यकता रहको बताउँछन्।

पानी स्क्यान गर्ने सोनार क्यामेरा सोमबारदेखि प्रयोग गरिएको छ। पहिलो दिन घटनास्थलदेखि देवघाटसम्म परिचालन गरिएको उनले जानकारी दिए। तर, यसले पनि धमिलो पानीमा काम गर्न कठिन भइरहेको उनले बताए।

शुक्रबार बिहानदेखि सुरक्षा निकायले खोजिकार्य तीव्र बनाए पनि बेपत्ता यात्रुका आफन्त भने आक्रोशित हुन थालेका छन्। ‘नदीको एकछेउमा बाँसले बस खोजिरहेका छन्, यति ठुलो पानीमा बाँसले कसरी भेट्टाउँछ,’ बेपत्ता भाइको खोजीमा आएका हेटौंडाका नहकुलबहादुर थापाले भने।

घटना भएको चार दिनपछि सरकारले बल्ल सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने जनाएको छ। गृहमन्त्री रमेश लेखकले सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका हुन्। पदभारपछि सहसचिव छवि रिजालको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिले राहत र व्यवस्थापनबारे अध्ययन गरेर १० दिनभित्र प्रतिवेदन बुझाउनेछ। भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता दुईवटा बस अझै भेटिएको छैन। शुक्रबार बिहान साढे दुई बजेतिर काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स, वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश –०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्सलाई पहिरोले बगाएको थियो। यी बसमा ६५ यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। जसमध्ये तीनजना यात्रुले हाम फालेर ज्यान जोगाएका थिए। ४८ यात्रु अझै बेपत्ता छन्। चार दिनको अवधिमा १४ जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। त्यसमध्ये सात जनाको सनाखत भएको छ। सात जनाको सनाखत हुन बाँकी रहेको चितवनका प्रजिअ इन्द्रदेव यादवले जानकारी दिए।

घटनास्थलभन्दा करिब ३५ देखि सय किलोमिटर दुरीमा शव फेला परेका छन्। गैंडाकोट, गोलाघाट र गण्डक नहरसम्म शव फेला परेको प्रजिअ यादवले बताए। नजिकमा ३५ किलोमिटरसम्ममा फेला परेका छन्। गण्डक नहरमा ६ र सुस्तामा एक शव फेला परेका छन्। गण्डक नहरमा भेटिएका एक जनाको मात्र सनाखत भएको छ। अन्य शवको पहिचान हुन सकेको छैन। सनाखत भएका सात शव आफन्तले बुझिसकेको चितवन प्रशासनले जनाएको छ। सनाखत हुनेमा भारतका ऋषिपाल साह, सजाद अन्सारी, जयप्रकाश ठाकुर, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुमार माझी, भरतपुर–२२ का सुदीप विक र रौतहटका फिरोज राहुप मिया रहेका छन्। फेला परेकामध्ये अधिकांश शव बालुवाले शरीरको भाग पुरेको अवस्थामा छन्। घटनास्थलभन्दा निकै टाढा भारतसम्म शव देखिन थालेपछि खोजी रणनीति परिवर्तन गरेर त्रिवेणीसम्म सुरक्षा टोली परिचालन गरिएको प्रजिअ यादवले बताए।

प्रकाशित: १ श्रावण २०८१ ०७:४९ मंगलबार

#Bharatpur #accident #chitwan #trishuli #simaltal