१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

बुटवल–व्यापारिक मार्गमा निर्माण कम्पनीको लापरबाही

७५० मिटर लम्बाइको ६ लेन सडक बनाउन कति समय लाग्ला ? एक, दुई, चार, ६ वा आठ वर्ष वा त्योभन्दा धेरै ?। देशकै दोस्रो ठुलो व्यापारिक नाका भैरहवा–बेलहियाका स्थानीयले यो प्रश्नको जवाफ खोज्न थालेको वर्षौं भइसक्यो। किनकि बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत भैरहवा भन्सारदेखि दक्षिणतर्फ बाइपाससम्मको मुख्य सडक भत्काउन थालेको आठ वर्ष भयो। जम्मा ७५० मिटरको ६ लेन सडक बनाउन निर्माण कम्पनीलाई ठेक्काको म्याद ६ पटक थपियो। तर सडक अहिले पनि अलपत्र छ।

२०७३ सालमै निर्माण कम्पनी बिरुवा कन्स्ट्रक्सन प्रालिले ७५० मिटर लम्बाइको यो सडक निर्माण गर्न ठेक्का पाएको थियो । दुई वर्षमा सम्पन्न गर्ने गरी १८ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको हो। तर आठ वर्षमा ६ पटक म्याद थप्दा पनि बिरुवाले सडक निर्माण नगरी अलपत्र छोडिदिएको छ।

स्थानीयले आठ वर्षअघि नै प्रशासनको निर्देशनबमोजिम सडक क्षेत्रभित्र पर्ने घरसंरचना हटाएर खाली गरिदिएका थिए । त्यसलगत्तै ठेकेदारले सडक भत्काउन थालेको हो। तर २०७३ देखि भत्काइएको सडक अहिलेसम्म बनेको छैन । सडकको पूर्वी किनारमा रहेका अध्यागमन, क्वारेन्टाइन, पर्यटन, प्रहरीलगायत सरकारी कार्यालय पनि त्यतिबेलै सारिएका थिए। सडकको पश्चिम किनारमा रहेको इलाका प्रहरी कार्यालय बेलहियालाई सारेर भन्सार परिसरमा लगिएको छ। 

पश्चिमी किनारमा रहेको भैरहवा भन्सारले यात्रु शाखा सारिसकेको छ। सरकारी संरचनाका कारण सडक निर्माणमा कुनै रोकावट नभए पनि ठेकेदारले कामअगाडि नबढाएको भैरहवा भन्सारका अधिकारी बताउँछन्। नेपाल–भारत पारवहन सेवा सहज बनाउने उद्देश्यले विस्तार गरिएको बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत बेलहिया–सुनौली नाका जोड्ने सडक हो यो। 

भारतबाट दैनिक सयौं मालबाहक गाडी यही सडक हुँदै नेपाल प्रवेश गर्छन्। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका पनि यही हो । जुन नाकाको मुख्य सडक नै विगत ८ वर्षदेखि भत्काएर असरल्ल पारिएको छ। लथालिंग सडकले पर्यटकीय नाकालाई बिजोग बनाएको छ। निर्माणाधीन सडककै कारण सबै क्षेत्र नराम्ररी प्रभावित भएका छन्। 

धुुलोले सडकछेउका स्थानीय हैरान छन्। अस्तव्यस्त सडक र धुलोका कारण व्यापारव्यवसाय चौपट भएको बेलहियाका स्थानीय रामनरेश जैयसवालले बताए। नेपाल प्रवेशको मुख्य नाकामै वर्षौंसम्म सडक अलपत्र हुँदा त्यसको असर पर्यटन क्षेत्रमा पनि परेको छ। बिरुवाले ८ वर्षमा जम्मा ७० प्रतिशत काम गरेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ।

स्थानीयले पटक पटक सडक निर्माणको कामलाई गति दिन दबाबमूलक कार्यक्रम गरे पनि सम्बन्धित निकाय मुख दर्शक भइदिँदा ठेकेदारको लापरबाही बढेको बेलहियाका स्थानीय तथा पर्यटन व्यवसायी श्रीचन्द्र गुप्ताले बताए। ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई समयमै कारबाही नगर्दा सात सय मिटरको सडक आठ वर्षसम्म अलपत्र परेको सोसाइटी अफ ट्राभल्स एन्ड टुर अप्रेटर नेपालका अध्यक्षसमेत रहेका गुप्ताले बताए।

बिरुवा कन्स्ट्रक्सनले पहुँचको भरमा नियामक निकायलाई प्रभावमा पारेर विभिन्न बहानामा निर्माणको काम अलपत्र पारिदिएको हो। सम्बन्धित निकायले पनि उसलाई (बिरुवा कन्स्ट्रक्सनलाई) समयमै कारबाही गर्नुको साटो पटकपटक म्याद थप गरी उल्टै प्रोत्साहन गर्दै आएको थियो।

ठेकेदारको लापरबाहीप्रति सडक डिभिजन कार्यालयले आँखा चिम्लिदिएपछि स्थानीयले पछिल्लो समय जिल्ला प्रशासनमार्फत बिरुवालाई कारबाही गर्न र निर्माणको कामलाई गति दिन दबाब बढाएका थिए । स्थनीयको पटक पटकको दबाबपछि गत वैशाखमा प्रशासनले ठेकेदार कम्पनीलाई कारबाही गर्न सडक डिभिजनलाई निर्देशन दिएको थियो। प्रशासनले ठेक्का सम्झौताको कार्यप्रगति अत्यन्तै निराशाजनक रहेकाले निर्माण कम्पनीलाई कारबाहीका लागि हस्तक्षेपसहित निर्देशन दिन आग्रह गर्दै गृह मन्त्रालय, अख्तियार र सडक विभागलाई पनि बोधार्थ पठाएको थियो।

पहुँचकै भरमा ८ वर्षसम्म आयोजना अलपत्र पारेको बिरुवालाई प्रशासनको निर्देशनपछि बल्ल सडक डिभिजन कार्यालय बुटवलले कारबाहीका लागि सिफारिस गरेको छ। सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बिरुवासँगको ठेक्का सम्झौता तोडेर नयाँ ठेक्काका लागि विभागमा पत्राचार गरिएको बताए। विभागबाट बजेट सुनिश्चित भएपछि पुनः ठेक्का आह्वान गरिने उनले बताए। पटकपटक म्याद थप गर्दा पनि कामै नगरी सडक अलपत्र पारेपछि निर्माण कम्पनीलाई कारबाही स्वरूप ठेक्का तोड्ने, कालोसूचीमा राख्ने र बाँकी कामको अनुमानित लागत इस्टमेट गरी उक्त रकमबराबर हर्जाना तिराउने गरी सिफारिस गरिएको सूचना अधिकृत लम्सालले बताए। बिरुवाले सो सडकमा बाँकी कामको अनुमानित लागत रकम करिब ७ करोड रूपैयाँ बराबर तिर्नुपर्ने उनले बता।

प्रकाशित: ३२ जेष्ठ २०८१ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App