१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सवारी दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

कोशी राजमार्ग अन्तर्गत विराटनगरमा भएको सवारी दुर्घटनामा परी चालकको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–४ दूध फाराममा पेट्रोल बोक्ने ट्याङ्कर र म्याजिक भ्यान ठोक्किएर दुर्घटना हुँदा म्याजिक चालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। दुर्घटनामा परेर म्याजिकमा सवार ५ जना घाइते भएका छन्।

प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान ना ७ ख १८७६ नम्बरको ट्याङ्करमा ठोक्किएर सोमबार दिउँसो ३ बजेतिर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार म्याजिक उत्तरबाट दक्षिणतर्फ आउँदै थियो भने ट्याङ्कर पश्चिमबाट पूर्वतर्फ गएर दक्षिणतर्फ मोडिँदा दुर्घटना भएको हो।

दुर्घटनामा म्याजिक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘दुर्घटनामा परी गम्भीर घाइते अवस्थाका साहलाई उपचारका लागि विराटनगरकै गोल्डेन अस्पताल लगिएको र उपचारका क्रममा दिउँसो पौने ५ बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए।’

दुर्घटनामा विराटनगर–६ का ३६ वर्षीय शंकरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, सुनसरीको दुहबी नगरपालिका–२ की ४० वर्षीया सविना खातुन, मोरङको रंगेली नगरपालिका–८ का २४ वर्षीय अमित सरदार र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ का २२ वर्षीय सजिन मगर घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम छ भने गोल्डेन अस्पतालमा उपचार भइरहेको डिएसपी बस्नेतले बताए।

दुर्घटनापछि ट्याङ्कर चालक सप्तरीको हनुमाननगर घर भएका ३६ वर्षीय सञ्जय ठाकुर फरार भएका थिए। दुर्घटनाको केही समयपछि ठाकुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ जेष्ठ २०८१ १८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App