यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ। सोमबार जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको सेरा (खेत) ज्युलोमा रोपाइँ सुरु गरिएको छ।
सदरमुकाम खलंगास्थित चन्दननाथ भैरवनाथ बाबाको खेतमा रोपाइँ सुरु गरिएको हो। परा-पूर्वकालदेखि नै चन्दननाथ भैरव नाथ गुठी समितिले जेठ १४ गते हुने रोपाई यो वर्ष भने जेठ १४ गते रोपाइ गरिएको हो। चन्दननाथ भैरव नाथ गुठी समितिका अध्यक्ष अम्मर थापाका अनुसार यो वर्ष भने जेठ १४ गते रोपाइ गरिएको हो।
चन्दननाथ बाबाको सेरा ज्युलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षेता चढाउन मार्सी धान रोप्ने गरिन्छ। सेरा ज्युलोमा मार्सी रोपाइँको लागि चन्दननाथ नमुना माविका विद्यार्थी र स्थानीय महिलाहरू सहभागी थिए।चन्दननाथ नगरपालिका-५ का वडाध्यक्ष वृर्ख बहादुर कार्कीले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि पहल गर्ने बताए।
जुम्लाको धार्मिक इतिहाससँग जोडिएको चन्दनाथको सेरा ज्युलो र पहिचानसँग जोडिएको मार्सी धान रोप्दा मागल गाउने परम्परा रहेको चन्दननाथ गुठी व्यवस्था समिति जुम्लाका नायब सुब्बा रत्ना आचार्यले बताए।
२०३६ सालमा चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिको गठन भएको थियो। त्यस लगत्तै मन्दिरका सम्पूर्ण क्रियाकलापहरु उक्त समितिले गर्दै आएको समितिका अध्यक्ष अमर थापाले बताए।
‘पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाइँ भएपछि मात्र जिल्लाका अन्य ठाउँका ज्युलहरु रोपाइँ हुन्थ्यो,’ उनले भने। ‘अहिले त्यो प्रचलन हराउँदै गएको छ। पहिले रोपाइँ गर्नको लागि जिल्लाका विभिन्न ठाउँका मान्छेहरु आएर चन्दननाथ बाबाको शेर ज्युलोमा रोपाइँ गर्थे।’
मन्दिर जस्तो पवित्र स्थलमा राजनीति हस्तक्षेप हुँदा मन्दिरको चौतर्फी विकास हुन सकेको छैन। नजिकको तिर्थ हेला भने झैं चन्दननाथ मन्दिर पनि सोचे जस्तो महत्त्वपूर्ण बन्न सकेको छैन,यो गम्भीर विषय हो। चन्दननाथ गुठीको नाम रहेका थुप्रै जग्गाहरुको अतिक्रमण गरिएको समेत उनको भनाई छ।
प्रत्येक वर्ष गुरु चन्दननाथ बाबाको सेरो ज्युलोमा काली मार्सी धान स्थानीय सबैको सहयोगमा रोपाइ हुन्छ। जुम्ली काली मार्सी धानको उत्पत्ति १२ औँ शताब्दीमा भएको मानिन्छ। सन् १३०० मा गुरु चन्दननाथ बाबाले भारतको काश्मीरबाट काली मार्सी धानको बिउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालिम दिई धान खेती विस्तार गरेको इतिहास छ।
मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको सेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ। मार्सी धान खेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किंवदन्ती छ।
जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा–रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो। जङ्गली धान भएकाले यसलाई काली मार्सी भनिएको जुम्लाका संस्कृतविद् रमानन्द आचार्यले बताए। जुम्लामा धान खेती बेँसी क्षेत्र (समुद्र सतहबाट २ हजारदेखि २२ सय मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८ सयदेखि ३ हजार मिटर) मा हुने गरेको छ।
प्रकाशित: १५ जेष्ठ २०८१ १०:१९ मंगलबार