१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जिल्ला अस्पताल गर्भनिरोधक सामग्री वितरणमै सीमित

सुविधा नपाएको भन्दै स्वास्थ्यकर्मीले काम छाडेपछि सुनसान उदयपुर जिल्ला अस्पताल । तस्विरः महेश्वर ।

उदयपुर – १० जना विशेषज्ञ डाक्टरको स्वीकृत दरबन्दी रहेको ५० बेडको उदयपुर अस्पताल अहिले ढाल र संगिनी सुई बाँड्ने स्वास्थ्य संस्थामा परिणत भएको छ।

डाक्टर, अस्पताल प्रशासन, व्यवस्थापन समिति, अन्य नियमनकारी निकाय र जिम्मेवार व्यक्तिको लापरबाहीका कारण जिल्ला अस्पतालमा सामान्य क्लिनिकबाटपाउने सेवासम्म जनताले पाउन सकेका छैनन्।

अस्पतालले दिने बहिरंग, प्रसूति, सामान्य स्वास्थ्य जाँचलगायत सबैभन्दा बढी सेवा लिने जटिल खालका गर्भवती महिलाको अप्रेसन (सिएस) सेवा १५ दिनदेखि बन्द भएका छन् । पर्याप्तदरबन्दी र भौतिक सुविधासम्पन्न भवन भए पनि सन्तोषजनक सेवा भने पाउन छाडेको ६ महिना बितेको जिल्लावासीको गुनासो छ । अत्यधिक सेवा लिन आउने प्रसूतितर्फविशेषज्ञ डाक्टरको दरबन्दी ६ महिनादेखि रिक्त छ।

विशेषज्ञ नभए पनि अस्पतालमा कामचलाउ तालिमप्राप्त डा. अमिताभ ठाकुर अतिरिक्त समयमा गरेको कामको सुविधा (इन्सेन्टिभ)रकम नपाएको भन्दै अनिश्चितकालीन बिदामा बसेपछि जटिलखालका प्रसूति सेवा रोकिएको प्रसूति विभागकी अनमी छवित्रा राईले बताइन् । उनका अनुसार गतवर्षदेखि नपाएको इन्सेन्टिभ रकम यो वर्ष पनि ८ महिनादेखि नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित हुन पुगेका छन्।

अस्पतालले दिने बहिरंग, प्रसूति, सामान्य स्वास्थ्य जाँचलगायत सबैभन्दा बढी सेवा लिने जटिल खालका गर्भवती महिलाको अप्रेसन (सिएस) सेवा १५ दिनदेखि बन्द भएका छन्

यसअघि इन्सेन्टिभबापत स्वास्थ्यकर्मीले कम्तीमा महिनाको १५ दिन वा महिना दिनकै तलबबराबर सुविधा पाउँदै आएकोमा चालू आर्थिक वर्षको अहिलेसम्म एक रुपैयाँ पनि नपाएको राईले बताइन् । ‘हामीले गतवर्षदेखि नै इन्सेन्टिभबापतको सुविधा पाएका छैनौं,’ अनमी राईले भनिन् ‘महिनादिन खटेको सुविधा पूरा नपाए पनि कम्तीमा १५ दिनको पाउनुपर्ने हो । तर, त्यो पनि नपाएपछि सबै आन्दोलित भएर सेवा अवरुद्ध भएको छ ।’

उनका अनुसार प्रसूति विभागका एनेस्थेसिया प्राविधिक (अप्रेसनअघि बिरामीलाई बेहोस बनाउने) नभएको र डाक्टर पनि बिदामा बसेकाले पूरै विभागको सेवा रोकिएको हो । केहीदिनअघि एनेस्थेसिया प्राविधिक नभएका बेला लाहानबाट बोलाएर काम लगाइएका एकजनाको ५ दिनको पारिश्रमिकसमेत अस्पतालले भुक्तानी दिन सकेको छैन । पारिश्रमिक नपाएपछि उनी हिँडेको र डा. ठाकुर पनि बिदामा बसेपछि सुत्केरी हुन नसकेका गर्भवती महिला बजारका अस्पताल र मेडिकलमा महँगो शुल्क तिरेर जोखिमपूर्ण सुत्केरी गराउन बाध्य छन्।

अहिले दिनहुँ सुत्केरी गराउन आउने गर्भवती महिलामध्ये केही बजारको निजी अस्पताल उदयपुर त्रियुगा हस्पिटलमा चर्को शुल्क तिरेर सुत्केरी गराउने गरेका छन् भने कतिपय धरान, विराटनगर र काठमाडौं धाउन बाध्य रहेको स्थानीय बताउँछन् । उदयपुर त्रियुगा हस्पिटल जिल्ला अस्पतालकै पूर्व गाइनोलोजिस्ट डा. डिएल यादवले सञ्चालन गरेका हुन् । उनले दुई वर्षअघि जिल्ला अस्पताल छाडेर निजी अस्पताल सञ्चालन गर्न थालेका हुन्।

अस्पतालका स्वास्थ्यकर्मीले कार्यालय समयबाहेकअवधिमा गरेको कामको इन्सेन्टिभ लामो समयदेखि नपाएपछि सामूहिक निर्णय गरेरओपिडी सेवासमेत अवरुद्ध गरेका छन् । इन्सेन्टिभ नभएकै कारण अतिरिक्त समयमा काम गर्न नसक्ने भन्दै स्वास्थ्य मन्त्रालयमासमेत जानकारी गराइसकेको निमित्त मेसु डा. विशाल देवले बताए । पारिश्रमिक नपाएपछि कोही पनि काम गर्न नमान्नेभएकाले बैठक राखेरै विभागमा पत्राचार गरेको देवले बताए।

अतिरिक्त समयमा काम गर्न छाडेपछि आइतबार उपचार गर्न अस्पताल आएका बिरामीले सेवा नपाएको भन्दै अस्पताल प्रशासन घेराउ गरेका थिए । सो क्रममा उनीहरूले ३ दिनअघि नै औपचारिक निर्णय गरेर सबै स्वास्थ्यकर्मी अतिरिक्त समयमा सेवा नगर्ने टुंगोमा पुगेको तथ्य बाहिर आएको थियो । मन्त्रालय पठाएको पत्रमाओपिडी, आकस्मिक, गाइनोलोजी आदि युनिटमा कार्यालय अवधिभन्दा अतिरिक्त समयमा काम गरेका अस्पतालका स्वास्थ्यकर्मीले इन्सेन्टिभ नपाएकाले तत्काल दिलाई दिन आग्रह गरिएको छ । नियमानुसार पाउनुपर्ने इन्सेन्टिभ नपाएसम्मकोही अतिरिक्त समयमा काम गर्न नसक्ने जानकारी मन्त्रालयलाई गराइएको देवले बताए।

‘हामीले चैत १ गते नै मन्त्रालयमा पत्राचार गरेर अतिरिक्त समयमा सेवा गर्न नसक्ने जानकारी गराइसकेका छौं,’ डा. देवले भने ‘लामो समयदेखि सुविधा नपाएपछि एकोहोरो काम मात्र गर्न कोही स्वास्थ्यकर्मी तयार नभएकाले यो कुराको जानकारी मन्त्रालयलाई गराएका हौं ।’ देवको हस्ताक्षर रहेको पत्रसंख्या ५०० चलानी नं. ०७४÷७५ को अस्पतालको पत्रमा कर्मचारीले पाउनुपर्ने इन्सेन्टिभ नपाएको विषयलाई लिएर त्रियुगा नगरपालिकामा फागुन २८ गते नै पत्राचार गरेको तर नगरपालिकाबाट जवाफ नआएको हुनाले काम रोक्न बाध्य भएको उल्लेख छ।

स्वास्थ्य सेवा विभाग, पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिइएको पत्रमा दैनिक ३ सय जनासम्म ओपिडी सेवा लिन आउने बिरामी भए पनि सीमित संख्यामा रहेका डाक्टरले अतिरिक्त समयमा सेवा गर्दै आएको तर त्यसबापत पाउनुपर्ने इन्सेन्टिभ लामो समयदेखि नपाएकाले तत्काल दिलाई पाउन आग्रह गरिएको छ । काम गरेको पारिश्रमिक नपाएकै कारण चैत १ गतेदेखि दैनिक ४०–५० जनाको मात्र ओपिडी सेवामा उपचार हुनेगरी ‘ड्युटी रोस्टर’ मिलाइएको पनि पत्रमा उल्लेख छ।

उनीहरूले १ गतेदेखि नै पारिश्रमिक नपाएकै कारण अस्पतालको युएसजी (अल्ट्रा साउन्ड सेवा) पनि बन्द गरेको जानकारी पत्रमा उल्लेख गरेका छन् । यसअघि दैनिक ४०–५० जनाले अल्ट्रासाउन्ड सेवा लिँदै आएको डा. देवले बताए । डाक्टरहरूका अनुसार अस्पतालले गत आर्थिक वर्ष गरेको कामको इन्सेन्टिभ पनि पाएका छैनन्।

११ औं तहका मेसुसहित १० जना विभागीय विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पताल ६ महिनायता विशेषज्ञ डाक्टरविहीन रहेको छ । दैनिक ३ सयभन्दा बढी बिरामी उपचार गर्न आउने अस्पतालमा हाल दुई सय हाराहारी बिरामी आउने गरेका छन् । तर, ओपिडीमा १ जनामात्र डाक्टर खटेका कारण सेवा प्रभावित भएर बिरामी फर्कनुपरेको छ । हाल अस्पतालमा डा. देव, डा. अमिताभ ठाकुर र डा. विजय मेहता, डा. अमृत चौधरी र डा. संगीता खड्का र डेन्टलतर्फ डा. आस्था सुब्बालगायत स्नातक डाक्टरमात्र कार्यरत छन्।

त्रियुगा नगरपालिकाले आफ्नो मातहत सञ्चालन अधिकार आएको अस्पतालको व्यवस्थापन चाँडै गर्ने जनाएको छ । नगरपालिकाका मेयर बलदेव चौधरीले अस्पताललाई जनस्वास्थ्यमैत्री बनाउन छिट्टै कदम चाल्ने बताए । स्थानीय तह सञ्चालनपछि जिल्ला अस्पताललगायत स्वास्थ्य संथाहरू गाउँपालिका र नगरपालिका मातहतमा आएका छन् ।

 

प्रकाशित: ७ चैत्र २०७४ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App