२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राजबहादुर हत्याका मुख्य आरोपी ‘टाइगर’ भारतबाट पक्राउ, विवरण दिन प्रहरीद्वारा आनाकानी

सोह्र वर्षअघि हत्या गरिएका राजबहादुर मल्ल ।

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह मुछिएको एक हत्या घटनाका मुख्य आरोपीलाई प्रहरीले १६ वर्षपछि भारतबाट पक्राउ गरेको छ।

२०६५ फागुन २६ गते बेलुका हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका टाइगर भनिने पदमबहादुर रावतलाई प्रहरीले भारतको हिमाञ्चल प्रदेशबाट पक्राउ गरेर ल्याएको हो।

प्रहरी स्रोतका अनुसार रावतलाई बुधबार सुर्खेत ल्याइ पुर्‍याइएको छ। मल्लको हत्या घटनामा टाइगरसहित अखिल क्रान्तिकारीका अध्यक्ष सिंह, गुराँस भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भनिने वीरबहादुर मल्ल र अशोक भनिने अली कार्कीविरुद्ध बुवा नन्दबहादुरले २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए।

नागरिक न्युजले गत माघ ४ गते १६ वर्षअघि भएको हत्या घटनाको समाचार प्रकाशन गरेपछि सुर्खेत प्रहरी किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध पक्राउ पुर्जीका लागि अदालत पुगेको थियो। अदालतले माघ ७ गते पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीले त्यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पनि पक्राउ पुर्जी लिएको थियो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार रावतलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। ‘किटानी जाहेरीमै मुख्य अभियुक्त भनेर उल्लेख गरिएकाले उनको खोजीमा थियौँ, भारतको हिमाञ्चल प्रदेशमा रहेको जानकारीपछि भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरेर ल्याएका छौँ,’ एक प्रहरी अधिकारीले भने, ‘घटना अनुसन्धानकै क्रममा रहेकाले थप विवरण दिन मिल्दैन।’

प्रहरीले मुख्य अभियुक्त पक्राउ परेपछि मात्रै अन्यलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउने बताउँदै आएको थियो। कालिकोटको पाखाबाट एसएलसीमा प्रथम भएपछि उच्च शिक्षा अध्ययनका लागि राजबहादुर सुर्खेत झरेका थिए। नन्दबहादुर र गोरीकलाका पाँच सन्तान मध्ये राजबहादुर साइँलो छोरा थिए। उच्च शिक्षा अध्ययन गर्न सुर्खेत झरेका उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए। स्वतन्त्र विद्यार्थी युनियनको सचिव भएपछि उनको राजनीतिक सक्रियता अझ बढेको थियो।

उनी स्ववियूको सचिव हुँदा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उनको विवाद बढेको थियो। ‘गाउँमा आफूसँगै ६–७ कक्षा पढेर छोडेपछि माओवादी बनेकाहरू भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर विद्यालयमा उच्च शिक्षाका लागि भर्ना भएको विषयमा छोरा (राजबहादुर)  माओवादी कार्यकर्ताबीच विवाद थियो,’ बुवा नन्दबहादुरले भने, ‘त्यहीँ विवादले मेरो छोराको ज्यान लिएको हो।’

पछिल्लो पटक प्रहरीले किटानी जाहेरी दिएकाहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नन्दबहादुर न्यायको खोजीमा काठमाडौँ पुगेका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालसहितलाई न्यायका लागि भेट्न खोज्दा पनि उनले भेट पाएनन्। हत्या आरोपीमध्ये वीरबहादुर मल्ल हत्या गरिएका राजबहादुरका छिमेकी हुन्। उनी पहिलो स्थानीय तहको निर्वाचनमा खाडाचक्र नगरपालिका–९ बाट वडाध्यक्षका उम्मेदवार थिए। अर्का आरोपी अशोक भन्ने अली कार्की गाउँमै शिक्षण पेसा गरिरहेका छन्।

सुर्खेतमा जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका आठ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो।

हत्या लगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरुको जाहेरी दिएका थिए। जाहेरीमा टाइगर भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ। मृतकका बुवा नन्दबहादुरले छोराको हत्यामा उल्लेखित छ जनासहित नाम, ठेगाना नखुलेका दैलेखका दुई संलग्न रहेको भन्दै २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए। हत्या घटनापछि प्रहरीले ३२ जनालाई अनुसन्धान अधिकृत तोकेको छ।

प्रकाशित: १३ वैशाख २०८१ १६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App