१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

त्रिविमा उत्तरपुस्तिका हराउनेलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको उत्तर पुस्तिका हराउनेलाई कारबाही गर्न माग गरेको छ।

यस्तै रजिस्टार र रेक्टर नियुक्ति प्रक्रियालाई पारदर्शी गर्न पनि माग गरेको छ। अध्यक्ष दुजाङ शेर्पाले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो माग गरेका हुन्।

पछिल्लो समय गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्ष जनसंख्या र स्वास्थ्य विषयको १६५ थान र शिक्षाका आधार विषयको १७६ थान उत्तर पुस्तिका हराएको घटना बाहिरिएको छ।

त्यसले अन्य विषय र संकायको नतिजा समेत रोकिएको छ। यही विषयलाई लिएर विभिन्न विद्यार्थी संगठनहरूले विरोध जनाइरहेका छन्। उक्त घटनामा आफ्नो ध्यानाकर्षण भएको भन्दै नेविसंघले विश्वविद्यायलमा यस्ता घटना ‘सामान्यजस्तै भएको’ टिप्पणी गर्दै दोषीलाई कारबाहीको माग गरेको हो।

नेविसंघले ‘प्रश्न पत्र निर्माणमा त्रुटि, पाठ्यक्रमसँग असम्बन्धित प्रश्न पत्र निर्माण, अघिल्लो वर्षको प्रश्न पत्र हुबहु प्रकाशन, उत्तर पुस्तिका साटफेर, उत्तर पुस्तिका परीक्षणमा लापरबाही, नतिजा प्रकाशन र लब्धाङ्कपत्र वितरणमा ढिलासुस्ती, एउटा विषयको परीक्षामा पहिले नै परीक्षा भएको अर्को विषयको प्रश्न पत्र विद्यार्थीलाई बाँडिने जस्ता घटना सामान्य जस्तै देखिएको’ विज्ञप्तिमा उल्लेख गरेको छ।

यद्यपि परीक्षा नियन्त्रण कार्यालयको यस्तो कमजोरीले लाखौं विद्यार्थी प्रभावित भइरहँदा सुधारका लागि न परीक्षा नियन्त्रण कार्यालय न विश्वविद्यालय नै गम्भीर देखिएको नेविसंघको आरोप छ।

‘यसर्थ संघ विश्वविद्यालयको सुधार तथा दोषी उपर छानबिन गरि कारबाहीको लागि जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा संघ यस्ता लापरबाहीकाविरुद्ध कडा भन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछ भने आन्दोलनबाट सृजित परिस्थितिको जिम्मेवारी स्वयं विश्वविद्यालय हुनेछ।’

यस्तै विज्ञप्तिमा नेविसंघले उठाउँदै आएका विश्वविद्यालय कुलपति प्रधानमन्त्री रहने व्यवस्थाको पुनरावलोकन, उपकुलपति लगायतका पदाधिकारी खुल्ला प्रतिस्पर्धीबाट मेरिटोक्रेसीको आधारमा आवेदन दिन सक्ने व्यवस्था गर्नुपर्ने, विश्वविद्यालय दलीयकरण र भागबन्डाको अन्त्य हुनुपर्ने लगायतका विषयमा गरिरहेको आन्दोलन जारी राख्ने जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८० १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App