४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि मोरङ ट्राफिक प्रहरीले परीक्षणदेखि विभिन्न अभियान सञ्चालन गरेको छ। मोरङ ट्राफिक प्रहरीले दुर्घना कम गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको भए पनि ती कार्यक्रम प्रभावकारी हुन नसकेपछि उक्त अभियान सञ्चालन गरेको हो।

मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार ‘दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्रै नसक्ने र यसका लागि सबै पक्षले ध्यान दिए।दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। तर यहाँ दुर्घटना न्यूनीकरण वा सडक व्यवस्थित गर्ने काम ट्राफिक प्रहरीको मात्रै हो भन्ने सोचका कारण यसले गति लिन नसकेको हो।’ मोरङ जिल्लाभर एक हप्तासम्म सडक सुशासन, सडक मैत्री पदैल यात्री, सडक लेनलगायतका विषयमा जानकारी गराउनका लागि उक्त अभियान सुरु गरेको न्यौपानेले बताए।

‘ठाउँठाउँमा सन्देशमूलक सामग्री लेखिएको ‘प्ले कार्ड’ लिएर उभिने, दुर्घटना कम गर्न चालक र पदैल यात्रीलाई सडकबारे जानकारी गराइने छ। सडकको अवस्थाले गर्दा पनि दुर्घटना हुने गरेको छ। सडक साँघुरो, खाल्डाखुल्डी, सडक पेटी नहुने, सडक पेटीबाट पदैल यात्रु नहिँड्ने, तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ (मापसे) गरेर सवारी चालकले मात्रै सेवन गर्ने नभई पैदल यात्रुले समेत सेवन गरेर सडकमा जथाभावी हिँड्डुल गर्दा पनि दुर्घटना निम्तिने गरेको छ। मुख्य सडक, भित्री सडक र साँघुरो बाटोहरुमा गाईवस्तु बाँध्ने, खुला छाड्ने गर्दा पनि दुर्घटना बढेको हो।’ उनले भने।

दुर्घटना न्यूनीकरणका लागि मापसे परीक्षण तीव्र पारिएपछि केही कमी आएको छ। मापसे परीक्षण गर्न थालेपछि मापसे गरेर सवारी चलाउनेको संख्यामा धेरै कमी आएको भए पनि पछिल्लो समय सार्वजनिक यातायातका चालक, निजी सवारी चालक र दुई पांग्रे सवारी चलाउनेहरु लागुपदार्थ सेवन (लापसे) गरेर चलाउने गरेको पाइएको छ।

ट्राफिक प्रमुख न्यौपानेले भने, ‘दुर्घटना न्यूनीकरणका लागि लापसे परीक्षणदेखि विभिन्न योजनाका साथ एक हप्ते विशेष अभियान थालेका हौं। लापसे गरेर सवारीसाधन चलाउने गरेको चालकसमेत फेला पर्न थालेका छन्। लापसे परीक्षणको ‘किट’ महँगो हुने भएकाले ‘सप्राइज’ चेकिङ मात्रै गरिएको छ। मापसे जस्तो नियमित गर्न सकिएको छैन।’

शंकास्पद चालकहरुलाई मात्रै लापसे परीक्षण गर्दै आएको र मादक पदार्थ सेवन (मापसे)को जस्तो गन्ध बाहिर नआउने भएकाले पनि चालकहरुले लागु पदार्थ सेवन (लापसे) गर्ने गरेको भेटिएका छन्।

विराटनगरसँग सीमा जोडिएको सीमावर्ती बजार भारतको जोगबनीमा गएर लागुऔषध सेवन गर्ने तथा सवारी चलाएको भेटिएपछि त्यसविरुद्ध लापसे जाँच अभियानलाई तीव्रता दिइएको ट्राफिक प्रहरी प्रमुख न्यौपानेले बताए।

यस्तै,अभियानको क्रममा लापसे गरेर सवारी चलाउने ११ जनालाई नियन्त्रणमा लिइसकेको बताए। ट्राफिक प्रहरी प्रमुख न्यौपानेले भने, ‘१२ जनालाई परीक्षण गर्ने क्रममा ११ जनाले लागुपदार्थ सेवन गरेको भेटौं। अभियान चालनु अघि पनि सवारी चलाउने ८ जनालाई नियन्त्रणमा लिएका थियौं। सार्वजनिक सवारीसाधनका कर्मचारीहरुलाई लक्षित गरेर लापसे जाँच अभियानलाई अगाडि बढाइएको हो। लापेस गरेर सवारी साधन चलाए भेटिए कानुन बमोजिम कारबाही हुन्छ।’

ब्रेथलाइजर मेसिनमार्फत जाँच गर्दा मापसे सेवन गरे नगरेको थाहा हुन्छ। तर, लापसे जाँचका लागि परीक्षण गर्ने सामग्री (किट) नै चाहिन्छ। ब्रेथलाइजर एक पटक किने धेरै समय चल्छ। तर, लापसेको किट एक पटक प्रयोगपछि अर्को पटक प्रयोग गर्न मिल्दैन। यो किट खर्चिलो (महँगो) पर्न जान्छ। ट्राफिक प्रहरीसँग किट किन्ने बजेट नै पुग्दैन। मापसे जाँच प्रभावकारी देखिएको र पछिल्लो सयम मापसे छाडेर सवारीका कर्मचारीहरु लापसे गर्न थालेपछि यसको परीक्षण बढाएको उनको भनाइ छ।

‘दुर्घटना हुँदा तत्कालै चालकलाई मापसे जाँच गर्दा सेवन गरे नगरेको थाहा हुँदा दुर्घटनाको कारण पत्ता लाग्छ। तर, लापसेको जाँच भने जस्तो नहुँदा दुर्घटनाको कारण पत्ता लाग्न समय लाग्ने गरेको छ। किट सर्वशुलभ ब्रेथलाइजर जस्तो पाइने भए लापसे गरेर सवारी चलाउनेको संख्यामा कमी आउन सक्थ्यो। ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ। लापसेका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका आपराधिक घटना बढेको पाइएको छ।

’ट्राफिक प्रहरी प्रमुख न्यौपानेले भने,लापसे परीक्षण गर्ने किट ट्राफिक प्रहरीसँग पर्याप्त नहुँदा पनि नियमित रुपमा जाँच गर्न गाह्रो भएको बताइएको छ। किट खरिद गर्न बजेट नहुँदा विभिन्न सामाजिक संघसंस्थाले सहयोगस्वरूप किट उपलब्ध गराउने र त्यहीँ किट सबैलाई परीक्षण गर्न नपुग्ने भएको हुँदा शंकास्पद व्यक्तिहरुलाई मात्रै परीक्षणको दायरामा ल्याउने गरिएको छ।

लापसे परीक्षणको गर्दा एउटा किटले एकजनालाई मात्रै हुन्छ। साउन यता ५ पटक लापसे परीक्षण गर्दा ५६ वटा किट प्रयोग भएकोमध्ये ५० जनाले लापसे गरेको भेटिएको उनले बताए।

प्रकाशित: ३ चैत्र २०८० ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App