१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न

खानाको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ।

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं-४ को मधवल टोलमा गत सोमबार बेहुला पक्षधरहरुले खानामा माछा नखुवाएको भन्दै भनाभन गरेपछि कुटाकुट नै भएको थियो। 

मधवल टोलमा गत सोमबार सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट आएको जन्तीमा बेहुला पक्ष र बेहुली पक्षबिच कुटाकुट हुँदा बेहुली नलिइ बेहुला सहितको जन्ती फिर्ता भएको थियो।

जन्तीमा आएका बेहुला पक्षधरहरूले खानामा माछा नपाएको भन्दै भनाभन गरेपछि कुटाकुटमा भएको थियो। कुटाकुटमा परी बेहुलाका बुबा घाइते समेत भएका थिए।

कुटाकुट पछि जन्ती आएकाहरू सबै जना भागेका थिए तर बेहुली पक्षकाहरुले बेहुलालाई घेरेर राखेका थिए। इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमाण्डमा गएको प्रहरी टोलीले बेहुलालाई उद्धार गरी इप्रकामा ल्याएका थियो।

इलाका प्रहरी कार्यालय पोखरीयामा मंगलबार छलफल भएपछि  बेहुलीले बिहे गर्न अस्वीकार गरेपछि बेहुला आफ्नो घर फर्केका थिए।

बिहे नगर्ने अडानमा रहेका केटी पक्षधरले आफ्नो दाइजोको १२ लाख रकम फिर्ता लिने अडान राखेका थिए। तर केटा पक्षले बिहेमा खर्च भएको भन्दै एक रुपैयाँ पनि नदिने अडान राखेका थिए।

यता गत सोमबारदेखि नै दुवै गाउँका अगुवा समाजसेवीहरूले बिहे हुनुपर्ने अडान राख्दै निरन्तर छलफलमा लागेका थिए। छलफलमा अगुवाहरूद्वारा फेरि बिहे गराउने निष्कर्षका साथ बेहुला र बेहुलीका परिवार लगायत आफन्तहरू रद्द गरिएको बिहे राजी खुसीका साथ फागुन २८ गते सोमबार नै बिहे गर्ने सहमतिमा पुगेसँगै गए राती अबेर बिहे सम्पन्न भएको बताइएको छ।

प्रकाशित: २९ फाल्गुन २०८० १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App