२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोपिला स्याहार केन्द्रमा अनियमितताकाे आशंका

कालीकोटको शुभकालिका गाउँपालिका– ६ मा रहेको कर्णाली कोपिला स्याहार सुसार केन्द्रमा अनियमितता भएको पाइएको छ।  

आर्थिक वर्ष २०७९–८० मा गाउँपालिकाले सीधै ३० लाख दिएर स्थापना गरेको स्याहार सुसार केन्द्र दर्ता गर्दा १५ लाख खर्च भएको सञ्चालक समितिले रकम दुरुपयोग भएको आशंका गरेको हो।

स्याहार केन्द्रमा लक्ष्यअनुसारका अनाथ बालबालिका नरहेको र एकैपटक ३० लाख खर्च गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयको टोलीले त्यस विषयमा अनुसन्धान थालेको छ।

सञ्चालक समितिका अध्यक्ष जगत चौलागाई छन्। यो आर्थिक वर्षमा पनि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको छ। स्याहार सुसार केन्द्रमा रहेका ११ जना विद्यार्थी चन्द्रसूर्य माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन्। वर्षमा ३० लाख खर्च गर्ने हो भने राम्रो विद्यालयमा पढाउन सकिने स्थानीयको भनाइ छ।

स्याहार सुसार केन्द्रले बालबालिकालाई सरकारी विद्यालयमा पढाइरहेको छ। यता राज्य कोषबाट वार्षिक ३० लाख भुक्तानी पनि लिइरहेको छ। वडा ६ का पूर्व अध्यक्ष कर्णबहादुर केसीले अनाथ बालबालिकाका नाममा केही निश्चित मान्छेले आफ्नो भविष्य बनाइरहेको बताए।

उनले अरु हामीलाई चासो केही होइन, वर्षमा १५ देखि ३० लाख खर्च गर्ने हो भने काठमाडौंका राम्रै निजी विद्यालयमा अनाथ बालबालिकालाई पढाउन सकिन्छ, तर धुलोमा राखेर राज्य कोषको १५ लाख अर्च गर्नु भ्रष्टाचार भएको बताए। 

रकम दुरुपयोग भएको विषयमा गाउँपालिका भने सहमत छैन। शुभकालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर शाहीले दर्ता मात्र नभएर सबै खर्च गत आर्थिक वर्षमा २८ लाख भएको बताए। उनले दर्ता मात्र होइन, दर्ता, सामानको मूल्य र बच्चाको खानाबस्ने गरी २८ लाख खर्च भएको र सो बजेट भुक्तानी भएको बताए।

असारमै दर्ता असारमै कसरी २८ लाख खर्च भयो भन्नेबारेमा स्थानीयले प्रश्न गर्दै आएका छन्। एक महिनामा ३० लाख खर्च गर्ने, सरकारी विद्यालयमा पढाएर अनाथ बालबालिकाको भविष्य बिगार्नुबाहेक अरु केही नभएको स्थानीयको भनाइ छ।

अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले उजुरी परेपछि नियमित स्थलगत अनुगमनमा टोली एकपटक पुग्ने गरेकाले कर्णाली कोपिला स्याहार सुसार केन्द्रसम्म पुगेको बताए।

शुभकालिका पुगेको टोलीले गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र कर्णाली कोपिला स्याहार सुसार केन्द्रका अध्यक्षलाई मात्र भेटेर सेटिङ गरेर गएको स्थानीयले आरोप लगाएका छन्।

कोपिला स्याहार सुसार केन्द्र स्थलगत अनुगमनका लागि शुभकालिका पुगेको अख्तियार टोलीका दिपक महतले समान खरिद गरेको केकति छ, त्यसको मुचुल्का गरेर गएको हो।

कर्णाली कोपिला स्याहार केन्द्रका अध्यक्ष जगत चौलागाईले आशंका गर्नु स्वाभाविक भएको बताए। कालिकोटमा अनाथ बालबालिकाको उद्धारका साथै पठनपाठनका लागि कोलिएका केही अनाथालय बजेट नपाएर सञ्चालकले घरखेत बेच्नुपरेको बेला शुभकालिका गाउँपालिका– ६ मा भने कर्णाली कोपिला स्याहार सुसार केन्द्रले बालबालिकालाई सरकारी विद्यालयमा पढाएर राज्यको लाखौं रकम हजम गरिरहेको छ।

प्रकाशित: १८ फाल्गुन २०८० १६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App