१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रेडक्रसबाटै ठगिए भूकम्पपीडित किसान

गोरखा- भूकम्पपीडितलाई सहयोग गर्ने भन्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीबाटै गोरखाका भूकम्पपीडित ठगिएका छन् । जिल्ला शाखामार्फत नेपाल रेडक्रसले सञ्चालन गरिरहेको जीविकोपार्जन कार्यक्रमअन्तर्गत कुखुरा वितरण गर्ने क्रममा ठगिएको गुनासो विपन्न किसानले गरेका छन्।

बक्राङ र गाँखुमा रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत किसानलाई आफैंसँग कुखुरा किन्न बाध्यकारी बनाएको गुनासो उनीहरूको छ । रेडक्रसले दोस्रो किस्ताबापत दिएको नगद २५ हजारबाट १२ हजार पाँच सय रुपैयाँ लगेर प्रतिगोटा पाँच सयका दरले २५ वटा कुखुरा ल्याइएको गाँखुकी किसान सम्झाना दानीले बताइन् ।

उनले भनिन्, ‘हामीलाई पैसा दिएर आफैंले किन्ने भनेको थियो, पैसा लिन नपाउँदै रेडक्रसकै मान्छेले १२ हजार पाँच सय लिएर गए, २५ वटा कुखुरा ल्याइदिए ।’ उनको खोरमा अहिले १९ वटा कुखुरा छन् । ६ वटा ल्याएको दुई साताभित्रै मरे भने बाँकी १९ वटा एक बोरा दाना सकिइसक्दा र दुई महिना अवधिमा देखिने गरी बढेका छैनन् ।

स्थानीय जातभन्दा पनि कम बढ्ने, दाना, औषधि खुवाउनुपर्ने, हावापानी सुहाउँदो चल्ला नहुँदा समस्या भएको दानीले गुनासो गरिन् । ‘विदेशी कुखुरा हो, दुई–तीन महिनामा ठूलो हुन्छ भनेका थिए तर भनेजस्तो छैन,’ उनले दुखेसो गरिन्। रेडक्रसका कर्मचारीले नाफा कमाउन पैसा उठाएर ह्याचरीसँगको साँठगाँठमा चल्ला खरिद गरेको आशंका किसानहरूको छ ।

बक्राङ र गाँखुमा रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत किसानलाई आफैंसँग कुखुरा किन्न बाध्यकारी बनाएको गुनासो उनीहरूको छ । रेडक्रसले दोस्रो किस्ताबापत दिएको नगद २५ हजारबाट १२ हजार पाँच सय रुपैयाँ लगेर प्रतिगोटा पाँच सयका दरले २५ वटा कुखुरा ल्याइएको गाँखुकी किसान सम्झाना दानीले बताइन् ।

गाउँमा किनेको भए सयवटा कुखुरा आउने बताउँदै बक्राङकी दुर्गामाया गुरुङले भनिन्, ‘रेडक्रसको परिचालकले ठूलो कुखुरा हुन्छ, धेरै अन्डा पार्छ, ठूलो हुन्छ, कमाइ धेरै हुन्छ भनेर लोभ देखाए, तर ठगिएछु ।’

पैसा वितरण गर्ने रेडक्रसका कर्मचारीले नै कुखुरा ल्याइदिने भन्दै पैसा उठाएर जिल्ला शाखाका ठूला कर्मचारीलाई बुझाएका हुन् । हामीले ल्याइदिन्छौँ भन्दै घरैमा पैसा लिन परिचालक पुगेपछि पैसा दिएको गुरुङ बताउँछिन् । घरैमा कुखुरा ल्याइदिने बताए पनि एक घन्टा तलसम्म हिँडेर चल्ला लिन जानुपरेको गुनासो दुर्गामायाका श्रीमान् नेत्रबहादुरको छ ।

‘नबढ्नेखाले कुखुरा परेछ, खुट्टा पनि सानो छ, तीनवटा ल्याउनेबित्तिकै मरे, गाउँमै ८० रुपैयाँमा पाउने कुखुराको चल्लालाई पाँच सय रुपैयाँ प¥यो,’ बक्राङ ठूलो दिप्लिङकी दुर्गामायाले भनिन् ।

जीविकोपार्जन भनेर वितरण गरेको कुखुराले झनै दुःख थपिदिएको दुर्गामाया बताउँछिन् । उनले भनिन् ‘आफैं ल्याउँछु भनेकी थिएँ, हामी ल्याइदिन्छौं भनेर पैसा लिएर गए, यस्तो बिजोग भयो, चल्लालाई पाँच सय प¥यो भन्छन्, यहाँ बिक्री गर्दा अहिले पनि पाँच सय आउँदैन ।’

गोरखामा रेडक्रसले एक हजार पाँच सय परिवारका लागि नगद ४० हजारको दरले ६ करोड रुपैयाँ वितरण गर्दै छ । यो रकम साबिकका गाविस बारपाकमा एक सय २० परिवार, गाँखुमा एक सय ३२, बक्राङमा एक सय ६७, मनकामनामा दुई सय ३२, मिरकोटमा दुई सय १४, जौवारीमा एक सय ७८, हर्मीमा एक सय २०, थालाजुङमा ६० र श्रीनाथकोटमा दुई सय जनाले पाउनेछन् ।

रेडक्रसले सामाजिक परिचालक खटाएर यी ठाउँका अतिविपन्न परिवार छनोट गरी तालिम दिएर कुन व्यवसाय गर्ने भन्ने छनोट गर्नेछ । यो सबै प्रक्रिया पूरा भएपछि अनुदान पाउने सूचीमा नाम समावेश भएकाहरूलाई पहिलो किस्ताको नगद १५ हजार वितरण गर्नेछ ।

पहिलो किस्ता लिएपछि व्यवसाय गर्ने ठाउँ तयार गर्नुपर्नेछ । उक्त ठाउँ तयार भएपछि दोस्रो किस्ताको नगद २५ हजार पाउँछन् । गाँखु र बक्राङमा दोस्रो किस्ताको २५ हजार पनि वितरण भइसकेको छ । मनकामना गाविसमा अहिले वितरण भइरहेको रेडक्रस गोरखाका भूकम्पीय पुनर्लाभ कार्यक्रम संयोजक शिव सुवेदीले बताए ।

रेडक्रसको अनुदान पाउने सूचीमा परेका अतिविपन्न र व्यवसायतर्फ उन्मुख हुँदै गरेका किसानलाई व्यवसाय छनोट गर्न लगाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ दिएको हो । दुई किस्तामा दिइएको उक्त रकम पाउनेमध्ये अन्य ठाउँमा कतै व्यवसाय, व्यक्ति छनोट तथा कुनै ठाउँमा भने तालिम सञ्चालन भइरहेको छ ।

जीविकोपार्जन कार्यक्रमअन्तर्गत बाख्रापालन, बंगुरपालन, भैंसीपालन, कुखुरापालन, मौरीपालन, गाईपालन, टेलरिङजस्ता पेसा व्यवसाय लाभग्राही सूचीमा परेका भूकम्पपीडितले रोज्न पाउँछन् । अन्य पेसा रोजेकाहरूले नगद लिएर आफैं कुखुरा खरिद गरेका हुन् । अहिले वितरण भएको गाँखु र बक्राङमा ३५ परिवारले कुखुरापालन रोजेका थिए। यीमध्ये ३० भन्दा बढी परिवारलाई रेडक्रसले प्रतिगोटा पाँच सयमा कुखुराको चल्ला आफैंले बिक्री गरेको हो ।

कार्यक्रम संयोजक सुवेदी रेडक्रसले बिक्री नगरेको तर किसानको सजिलाका लागि सहजीकरण मात्रै गरेको दाबी गर्छन। न्यु हेम्पासार र अस्ट्रलप जातको कुखुराको चल्ला वितरण गरेको र महँगो पर्न गएको दाबी रेडक्रसको छ। किसान भने महँगो पैसामा ढाँटेर हावापानी नमिल्ने, तत्काल उत्पादन दिन नसक्ने कुखुरा ल्याएको भन्दै रुष्ट छन्।

सिराञ्चोक गाउँपालिका–६ गाँखुका वडा अध्यक्ष नारायण दानीले कुखुरा वितरण गर्दा वडासँग कुनै सल्लाह सुझाव नलिएको बताए । उनले भने, ‘बख्रापालन किसानको कार्यक्रम राम्रो छ तर कुखुरापालन किसान भने ठगिएँ भन्दै गुनासो गर्छन् ।’

कुखुरा बाहिरबाट मँहगो पैसा तिरेर ल्याएको बताए पनि किसानले विश्वास गर्न सक्ने अवस्था नरहेको उनले बताए । जीविसकोपार्जनमा सहयोग पु¥याउने परियोजनाले चिन्ता बढाउने भन्दै उनले अन्यत्र वितरण गर्दा स्थानीय प्रजातिलाई प्राथमिकता दिन सुझावसमेत दिए ।

जीविकोपार्जन अधिकृत पवन थापा मगरले बेसार ह्याचरीबाट कुखुराको चल्ला खरिद गर्न समन्वय गरेको बताए । किसानलाई बाध्यकारी नबनाएको भन्दै उनले लाभग्राहीले रकम लिएको लामो समयसम्म चल्ला खरिद नगरेपछि सहजीकरण गरेको दाबी गरे ।

 

प्रकाशित: २९ फाल्गुन २०७४ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App