१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बंगालबाट उडेर आयो आँसुको आँधी

विमान दुर्घटनाका घाइतेलाई उपचारका लागि ल्याइएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा जम्मा भएको भीड । तस्बिर : उपेन्द्र लामिछाने

काठमाडौं – प्रायः बंगालबाट उडेर आउने समुद्री हावाले नेपालमा पानी पार्छ । सोमबार दिउँसो भने बंगालबाट उडेको जहाजले राजधानीमा आँसुको वर्षा गरायो।  
ढाकाबाट ३३ नेपालीसहित ७१ जना लिएर उडेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटनाग्रस्त हुँदा नेपाल शोकमा डुब्न पुग्यो । विमानस्थलमा   जहाजबाट निस्केको धुवाँको मुस्लो उड्दै गर्दा नजिकै रहेको काठमाडौं मेडिकल (केएमसी) अस्पतालमा दुर्घटनामा परेकाहरुको आफन्तका आँखाबाट आँसुको वर्षा भइरहेको थियो। ती आफन्तको मात्र हैन, विमानबाट निस्केको धुवाँले आमनेपालीको मन पोलिरह्यो। 

अस्पताल पुगेका कोही आफन्त घाइतेको उपचार भइरहेको कक्ष चहार्दै थिए । कोही शव चिन्ने प्रयासमा थिए । कोही भने अस्पताल प्रशासनले दुर्घटनाका मृतक तथा घाइतेको जानकारी दिन भित्तामा टाँसेको नामावली नियाल्दै थिए। 

दुर्घटनालगत्तै अस्पताल प्रवेशद्वारमा घुइँचो थियो । कतिपय रुँदैकराउँदै विलाप गरिरहेका थिए । कतिपय व्यक्ति रुँदारुँदै प्रियजनको शोकमा बेहोससमेत भए। 
अस्पताल अघिल्तिरको सडकमा पनि सर्वसाधारणको भीड थियो । उनीहरुका आँखा रसाइरहेका थिए । साइरन बजाउँदै एम्बुलेन्स ओहोरदोहोर गर्ने क्रम बढिरहेको थियो । वातावरण शोकमग्न थियो । हल्का पानी परिरहेको थियो।

केही समयसिछ प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेललगायतका निन्याउरो अनुहार लगाएर अस्पताल प्रवेश गरे । उनीहरुले चिकित्सकसँग बिरामीको अवस्थाबारे  जानकारी लिए । अस्पतालका सिइओ डा. दामोदर पोखरेल अस्पतालमा ल्याइएका घाइते र मृतकको संख्याबारे जानकारी दिँदै थिए । केही घाइतेको त्यहीं उपचार गरिएको र केहीलाई अन्यत्र रिफर गरिएको उनको भनाइ थियो। 

अस्पतालमा रुवाबासी गर्नेमध्ये अधिकांश  बंगलादेशमा अध्यनरत विद्यार्थीका आफन्त थिए । एमबिबिएस पढेर नेपाल फर्कंदै गरेकी छोरी दुर्घटनामा परेको आशंकामा एक महिला चिच्याउँदै  आइन्। दौडेर शव राखेको ठाउँमा हेरिन् । नदेखेपछि चिच्याउँदै उनी अर्कै अस्पताल लागिन् । यस्तो दृश्य धेरै देखिन्थ्यो त्यहाँ। 

विमानमा बंगलादेशमा पढेर आएका १४ विद्यार्थी थिए । तीमध्ये १३ जना जललाबाद रागिब रबिया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत थिए । एक छात्रा कुमुदिनी उमन्स मेडिकल कलेजमा अध्ययनरत थिइन् । नेपाल आएका ती सबै विद्यार्थीका आफन्त एकपछि अर्को गर्दै आँसुका बलिन्द्र धारासहित अस्पताल पुगेका थिए । ती विद्यार्थीका साथीसमेत आँखाभरि आँसु लिएर अस्पताल परिसरमा उभिएका देखिन्थे । ‘मेरी साथी आएकी थिई,’ अस्पतालमा एक युवतीले रुँदै भनिन्, ‘एयरपोर्टमा लिन आइज है भनेकी थिई, अहिले यहाँ आउनुपर्याे।’ 

पर्यटन व्यवसायी पनि ताँती लागेर अस्पताल पुगेका थिए । टानका उपाध्यक्ष खुमबहादुर सुवेदी, नीलहरि बास्कोटालगायत त्यहाँ देखिन्थे । ‘हाम्रा साथीहरु यो प्लेनमा छन् भन्ने थाहा पाउनेबित्तिकै अस्पताल आएका हौं,’ टानका उपाध्यक्ष सुवेदीरले भने, ‘यहाँ केही साथीको शव देख्यौं, त्यो हेरेर बस्नै सकिएन । बाँकी साथी कता छन् बुझ्दैछौैं ।’ उनीहरुका अनुसार सोही एयरलाइन्सको उत्कृष्ट टिकेटिङ गरेबापत अवार्ड थाप्न दुई दर्जन बढी पर्यटन व्यवसायी बंगलादेश गएका थिए । ती व्यवसायी सोही विमानमा फर्किएका थिए ।  पर्यटन व्यवसायी भन्दै थिए, ‘आइतबार नै आउनुपर्ने विमान तर एयरलाइन्सले उडान तालिका सारेपछि आज आएको हो।’ 

घाइतेलाई उपत्यकाका विभिन्न अस्पतालमा लगिएको थियो । तर, आफन्त भने केएमसीमा बढी देखिन्थे। 
अस्पतालमा शवमात्रै थिएन । केही घाइते जीवित पनि थिए । कोही बोल्न सक्ने अवस्थामा थिए । सर्जिकल वार्डमा राखिएका तीन विदेशी होसमै थिए । तर उनीहरु बोल्न चाहिरेका थिएनन्। 

प्रकाशित: २९ फाल्गुन २०७४ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App