२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुवाडेलाई कानुनले के गर्छ ? (भिडियो सहित)

जुवा, तास, पासा र कौडा लगायतका खेले खेल्ने बानी ठिक होइन भन्ने सबैलाई लाग्छ। आफू खेल्ने भए पनि आफ्ना सन्तानलाई भने खेल्न दिँदैनन्। सन्तान पनि के कम लुकेरै भएपनि खेल्छन् नै। आदत र पेसा नै जुवालाई नबनाए पनि अधिकांश जुवा तास खेल बारे जानकारी नै हुन्छन्। यो त भयो समाजको चलनचल्तीको कुरा।

सरकारले समेत जुवा तास लगायतका खेल्न प्रतिबन्ध लगाएको छ। मुलुकी अपराध संहिता, २०७४ मा यस सम्बन्धी कानुनी प्रावधान तोकिएको छ। तास वा कुनै पनि किसिमको खेलमा कोइन्सिडेन्स(संयोग) को आधारमा सम्पत्तिको हारजित हुने र सो खेल खेल्दा बाजी थाप्ने जस्ता कार्यहरू भए त्यस्तो खेल जुवा ठहरिन्छ।

संहिता अनुसार जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने खेल वा प्रक्रिया सम्झनु पर्छ। साथै, आफूले जुवा नखेली अरूको हारजितमा आफूले बाजी थाप्ने काम समेत जुवा हो। खेलमा आफू सिधै सहभागी नभई अरूको हारजितमा चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जुवा नै जनाउने कुरा उल्लेख छ।

मुलुकी अपराध संहिता अनुसार जुवा खेल्नु वा खेलाउनु दुवै अपराध हो। २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायको समेत प्रावधान तोकिएको छ। पहिलो पटक जुवा खेल्ने वा खेलाउनेहरूलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिता, २०७४ मा छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। साथै, जुवा खेल्न प्रयोग भएका सामान र खालमा प्राप्त सबै चल अचल सम्पत्ति जफत गर्ने कानुनी प्रावधान छ।

तर, कुनै सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि थोरै रकम राखी स्वीकृति लिई सञ्चालन हुने खेल वा चिट्ठा भने जुवा भित्र पर्दैनन्। अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई सञ्चालन भएको चिट्ठा खेल वा कार्यक्रमलाई जुवा मानिने छैन भनी अपराध संहितामा भनिएको छ।

कस्ता खेल ‘गेम अफ स्किल’ (कौशलको खेल) हुन् र कस्ता खेल ‘गेम अफ चान्स’ (मौकाको खेल) हुन् भन्ने स्पष्ट मार्गदर्शन भने कानुनले दिएको छैन। सर्वोच्च अदालतबाट भएको एउटा फैसलामा म्यारिज खेलमा जुवाको सबै इलिमेन्स् (तत्त्वहरू) हुने हुँदा उक्त खेल जुवा हो भनी निर्णय समेत भएको छ।

यसका अतिरिक्त, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले जुवा खेल्न खेलाउन प्रोत्साहन गर्ने गरी विज्ञापन गर्न प्रतिबन्ध गरेको छ। कसैले त्यस्तो कार्य गरेमा निजलाई १ वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।

प्रकाशित: १६ माघ २०८० १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App