१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अर्गानिक जुम्ला!

जीवनशैली

चित्रबहादुर बुढाले २०६६ सालमा विद्यालय शिक्षा त सिध्याए तर अरू धेरै युवाजस्तै रोजगारीको सम्भावना देखेनन्। त्यसैले उनी पनि लागे कुवेत। यात्रा न हो, त्यहाँ केही समय बसेर काम सिकेपछि साउदी अरब लागे। आफ्नो सिपका कारण पाँचतारे होटेलमै काम पाए। सिपअनुसारको कमाइ राम्रै थियो। गरिखाएकै थिए।

उनीसँग अरूले गर्ने मानसम्मान थियो। पैसा पनि थियो तर सन्तुष्टि भने पटक्कै मिलेन। यही कारण उनी त्यहाँ रमाउनै सकेनन्। आफ्नो ठाउँ, परिवार र गाउँघरका दाजुभाइ/दिदीबहिनीको बेरोजगारीले सताइरह्यो। अनि लाग्यो-म मात्र सप्रेर के गर्नु? बरु गाउँ नै फर्केर अन्य बेरोजगार दाजुभाइ/दिदीबहिनीलाई पनि सिप सिकाउँछु र उद्यमी बनाउँछु।

यही संकल्प बोकेर उनी फर्के नेपाल। विडम्बना, उनलाई आफ्नै गाउँमा पस्नै दिएनन् तिनै दाजुभाइले, जसलाई सिप सिकाउने हुटहुटी बोकेर आएका थिए उनी। कोरोनाले सताइरहेको थियो दुनियालाई। यो बाहिरबाट आएको मान्छेले कोरोना सार्छ भन्ने भय थियो सबैसँग। त्यसैले उनी आफ्नै जन्मथलो भित्रन पाउने अधिकारबाट समेत वञ्चित भए।

केही गरिछाड्ने अठोटका साथ सात समुद्रपारिदेखि ठुलो अवसर छाडेर आएको व्यक्ति सानातिना अवरोधसँग किन हार खान्थ्यो र? त्यसैले आफ्नो गाउँभन्दा अलिक पर गोठीचौर गाउँपालिका-३ (जुम्ला) मा वासस्थान तयार पारे। सबैभन्दा पहिला आफ्नो सिप प्रदर्शन गरेर सबैको विश्वास जित्नु थियो उनलाई। त्यसैले त्यहीं उनले व्यवसाय सुरु गरे-अर्गानिक होमस्टे।

उनको होमस्टे वास्तवमै नामजस्तै अर्गानिक छ, जहाँ बजारिया र रसायनयुक्त खानेकुरा वर्जित छ। मैदा होइन, जौ, कोदो, मकै, फापर आदिको केक बनाउँछन् उनी। अर्थात् गाउँमै जे फल्छ, त्यसैबाट उपभोक्तालाई मन पर्ने र खोजिने खाद्यसामग्री तयार पार्छन्। कुअन्न भनेर हेला गरिने कोदोका विभिन्न परिकार बनाउन खप्पिस उनलाई बनाउन नआउने खाद्यपरिकार केही छैन भन्दा पनि फरक पर्दैन।

उनी आफू मात्र तयार पार्दैनन्। अरू युवाले पनि यसैगरी स्थानीय उत्पादन प्रयोग गरेर हरेक सामग्री अर्गानिक बनाउछन् भनेर प्रशिक्षण पनि दिन्छन्। बेलाबेलामा जिल्ला सदरमुकाम खलंगामा निम्त्याइन्छन्, विभिन्न संघसंस्थामार्फत। कतिपय बेला सिकाउने कार्यक्रम आफैं पनि आयोजना गर्छन्।

चित्रबहादुर भन्छन्, ‘पहिले पहिले अलि टाढाबाट समेत मानिसहरू खासगरी जन्मदिनका बेला केक अर्डर गर्थे तर त्यहाँ पुर्‍याउँदा पुर्‍याउँदै बाटैमा पग्लिन्थ्यो। त्यसपछि मैले गाउँगाउँमै पुगेर स्थानीय युवाहरूलाई केक बनाउने तालिम दिन थालें।’

उनलाई काठमाडौं, विराटनगर, नेपालगन्जजस्ता ठाउँमा यस्तो व्यवसाय गर्न पाए कमाइ धेरै हुन्थ्यो भन्ने थाहा नभएको होइन। तर उनको सोच फरक छ-जन्मथलोको सेवा गर्ने, रैथाने उत्पादन प्रवर्धन गर्ने, स्थानीय बेरोजगार युवालाई थोरै भए पनि रोजगारको अवसर उपलब्ध गराउने अनि गाउँमा पैसा भित्र्याउने। यसबाट पनि उनी आफ्नो आम्दानी बढाउनुलाई मात्र सबै कुरा ठान्दैनन् भन्ने पुष्टि हुन्छ।

‘देश बनाउने हो भने हरेकले आआफ्नो काम गर्नुपर्छ,’ उनी थपिरहेका थिए, ‘मैले आफूले जानेको सिप प्रयोग गरेर मुलुकका लागि सकेको योगदान पुर्‍याइरहेको छु।

त्यसैगरी राज्यले पनि यो ठाउँमा बत्ती, पानी, बाटोघाटो, शिक्षा र स्वास्थ्यको जोहो मिलाइदिनुपर्छ। तब न देश बन्छ। युवाहरू यहीं रोकिन्छन्।’ तर, सरकार यो पक्षमा चुकेको उनको दाबी हो। उनी जस्तो परिवेशमा बसेर जे काम गरिरहेका छन्, त्यो देख्दा उनको दाबी सही पनि लाग्छ।

जुम्ला असाध्यै चिसो ठाउँ। त्यसैले यहाँ ३-४ महिना (मंसिरदेखि फागुनसम्म) चिसोले काम गर्नै सकिन्न। तर पनि चित्रबहादुर निराश छैनन्। यो चिसोमा पनि आफ्नो होमस्टे ठ्याप्पैचाहिँ नहुने उनको भनाइ छ।

कोही न कोही, कुनै न कुनै समूह आफ्नो होमस्टे खोज्दै आउने भएकाले उनी खुसी देखिन्छन्। उनलाई जुम्ला चिनाउन सकेकोमा सन्तुष्टि छ रे। भन्दैथिए-बाँकी कुरा त तपसिलका हुन्।

उनी प्रायः बेफुर्सदी हुन्छन्। पहिलो कुरा त होमस्टेमा आउने पाहुनाको स्वागतसत्कारमै बित्छ उनको धेरै समय। त्यसबाहेक प्रशिक्षकका रूपमा पनि धेरै समय बित्छ। अरूका लागि निश्चित समय ‘सिजन’ भए पनि आफ्ना लागि सधैं सिजन भएको उनी खुसीसाथ बताउँछन्। अर्थात् राम्रै व्यापार पनि गरिरहेका छन् उनले।

जुम्ला र यहाँका रैथाने खाद्यान्न चिनाउने चित्रबहादुरको भोक अझै बाँकी छ। त्यसैले उनी पहिला जुम्ला चिनाइसक्ने, त्यसपछि मात्र बाँकी भागमा यस्ता व्यवसाय सुरु गर्ने योजनामा छन्। आफ्नो जन्मभूमिप्रति उनका जस्तो अगाध स्नेह अनि समर्पण सबैमा भइदिए? आशा गरौं, उनको देशभक्तिपूर्ण सोच/योजना अरूमा पनि चाँडै सञ्चार हुनेछ। 

प्रकाशित: २१ पुस २०८० ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App